गाडी चलाउँदा चालकलाई जुत्ता अनिवार्य

Sharing is caring!

असोज ९, २०७५ । सवारी दुर्घटना कम गर्न इलाममा सार्वजनिक यातायातका चालकलाई जुत्ता अनिवार्य गरिएको छ । यातायात व्यवस्थापन समितिको बैठकले सार्वजनिक यातायातका चालकलाई जुत्ता अनिवार्य गर्ने निर्णय गरेको हो ।

दशैं तिहार जस्ता चाडबाडमा हुने सम्भावित दुर्घटनाको जोखिम कम गर्न यस्तो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय इलामका प्रशासकीय अधिकृत देवीचरण फुएँलले जानकारी दिए । ‘ऐनमा नै जुत्ता लगाउनुपर्ने व्यवस्था छ, तर कार्यान्वयन नभएको पाइएपछि यस्तो निर्णय गरिएको हो ’, उनले भने –‘चालकले जुत्ता लगाउँदा दुर्घटनाको जोखिम कम हुन्छ ।’ चालकले जुत्ता लाए नलाएको अनुगमन ट्राफिक प्रहरीले गर्नेछ ।’ जुत्ता नलगाए चालकले कारबाही व्यहोर्नुपर्ने र जरिवाना देखि लाइसेन्स खारेजीसम्मको कारवाही हुनसक्ने अधिकृत फुएँले बताए ।

समितिले जुत्तासँगै चालक परिचय पत्र र सिट बेल्ड पनि अनिवार्य गरेको छ । समितिले आफ्ना सवारी मर्मत गरेर दुरुस्त राख्न निर्देशन दिएको छ । चाडबाडमा यात्रुहरुको अत्याधिक चाप हुने भएकाले उनीहरुको सुरक्षाको लागि सवारी साधन मर्मत गरेर दुरुस्त राख्नको लागि निर्देशन गरिएको फुएँलले बताए ।

प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिम्सिनाको अध्यक्षतामा यातायात सेवा कम्पनीका प्रतिनिधि समेतको बैठकले अग्रिम बुकिङ्ग काउन्टर खोल्नुपर्ने, सवारी साधनमा अनिवार्य डष्टविन राख्नुपर्ने, लक्षित वर्गको सिट सुरक्षित गर्नुपर्ने, सवारी चालकहरुले शिष्ट ब्यवहार गर्नुपर्ने, सिट क्षमता भन्दा बढि यात्रु राख्न नपाइने लगायतको निर्णय गरेको छ । यातायात ब्यवस्थापन समितिले निर्णय कार्यान्वयन भए नभएको अनुगमन गर्ने भएको छ । ट्राफिक प्रहरी, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय यातायात व्यवसायीको समन्वयमा अनुगमन गर्ने भएका छन् । सरकारले १० प्रतिशत भाडा बृद्धि गरेपनि सोमबारको बैठकले भाडा बृद्धिको सम्बन्धमा भने निर्णय गरेको छैन । अर्को बैठकले भाडा बृद्धिको निर्णय गर्ने जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।यो खबर आजको नयाँ पत्रिकाबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *