गर्मी मौसममा सरुवा रोगको सम्भावना बढी सतर्कता अपनाउन सुझाव

Sharing is caring!

असार १४, २०७६ । गर्मी मौसममा सरुवा रोगको सम्भावना अत्यधिक हुने भएकाले यी रोगबाट बच्न सतर्कता अपनाउनुपर्ने डाक्टरहरूले सुझाव दिनुभएको छ । गर्मी मौसम सुरुआतसँगै कीटाणु सक्रिय हुने र सरुवा रोग प्रकोपको सम्भावना बढ्नसक्ने सम्भावना हुन्छ । वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले गर्मी मौसममा दूषित पानी र अस्वस्थकर खानाका कारण विभिन्न रोग लाग्ने भएकाले पिउने पानी स्वच्छ हुनुपर्ने सुझाव दिनुभयो ।

उहाँले कतिपय स्थानमा लामखुट्टेको प्रकोपले डेङ्गु, मलेरिया, स्क्रबटाइफस जस्ता रोग देखा पर्न थालेको जानकारी दिनुभयो । उहाँले वर्षायामसँगै अत्यधिक गर्मीका कारण उच्च ज्वरो आउनसक्ने, चक्कर लाग्ने, बेहोस हुने जस्ता स्वास्थ्य समस्या देखा पर्न सक्ने भन्दै त्यसबाट सचेत रहनुपर्ने सुझाव दिनुभयो ।

गर्मीकै कारण शरीर धेरै कमजोर हुने र थकान महसुस हुने तथा अत्यधिक गर्मीले बान्ता आउने, टाउको दुख्ने तथा झाडापखालाजस्ता लक्षणहरू देखिन सक्छन् । गर्मीमा ज्वरो, टाइफाइड, झाडापखाला, आउँ, स्क्रबटाइपस, ठेउला, डेङ्गु, जन्डिस लगायतका रोग यो समयमा देखा पर्छन् । डा. पुनले वर्षायाममा टेकुस्थित सरुवा रोग अस्पतालमा दैनिक ३० देखि ४० जना बिरामी गर्मी मौसमले लाग्ने रोगका कारण आउने गरेको जानकारी दिनुभयो । उहाँले यीबाहेक सर्पले टोकेर आउने बिरामी पनि दैनिक १० देखि १५ को सङ्ख्यामा रहेको बताउनुभयो ।

यस्तै गर्मीमा ज्वरो, फुड प्वाइजन, टाइफाइड, मलेरिया, कीटजन्य रोग देखापर्न सक्ने भन्दै उहाँले यस्ता रोगबाट सावधानी अपनाउनुपर्नेमा जोड दिनुभयो । वर्षायाममा विशेषगरी खानेपानी र खानेकुरामा विशेष ध्यान दिनुपर्ने भन्दै पुनले पिउने पानी तथा खानेकुराबाट पनि धेरै रोग लाग्ने सम्भावना हुन्छ भन्नुभयो । गत वर्ष काभ्रेमा खानेपानीकै कारण चार सय मानिसमा झाडापखालाको प्रकोप फैलिएको थियो ।

वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले गर्मी मौसममा ज्वरो, टाइफाइड, एलर्जी लगायतका समस्या लिएर बिरामी आउने गरेको बताउनुभयो । उहाँले यो मौसममा मुख्यतः खानेपानीमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले पानीबाट सरुवा रोग फैलनसक्ने भन्दै पानी उमालेर पिउनसमेत सुझाव दिनुभयो ।

धाराको पानी, ट्याङ्करको पानी र जारकै पानीसमेत उमालेर पिउनुपर्ने भन्दै उहाँले वर्षायामको पानी प्रदूषित हुनसक्ने भएकाले सचेत हुनुपर्नेमा जोड दिनुभयो । यस्तै उहाँले बालबालिकालाई पानी खुवाउँदा सधैँभरि उमालेको पानी मात्र खान सुझाव दिनुभयो । उहाँले वीर अस्पतालमा आउने सरुवा रोगका बिरामीलाई टेकुस्थित सरुवा रोग अस्पताल पठाउने गरेको जानकारी दिनुभयो । उहाँले वीरमा भने क्रोनिक रोग भएका बिरामीको चाप धेरै हुने गरेको बताउनुभयो ।

डा. सेन्चुरीले अहिले धेरैजसो बिरामी पेट दुख्ने, जन्डिस, झाडापखाला, आउँजस्ता समस्या लिएर अस्पताल आउने गरेको बताउनुभयो । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालका निर्देशक तथा सरुवा रोग विशेषज्ञ डा. वासुदेव पाण्डेले गर्मी मौसममा झाडापखाला, हैजा, जन्डिस, टाइफाइड, आउँजस्ता रोगको समस्या आउने गरेको बताउनुभयो । उहाँले यो मौसममा स्क्रबटाइपस, इन्सेफ्लाइटिस, मलेरिया, डेङ्गु लगायतका रोगहरू लाग्ने हुनाले त्यसतर्फ पनि ध्यान दिनुपर्ने बताउनुभयो । गर्मी मौसममा ब्याक्टेरियाहरूको बढ्दो सक्रियताले गर्दा ज्वरो, डेङ्गु, मलेरिया, स्क्रबटाइपस, झाडापखाला, टाइफाइडजस्ता रोगहरू बढेको बताउनुभयो । डा. पाण्डेले टाइफाइड, ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, कब्जियत देखिने, निरन्तर एक हप्तासम्म रुघाखोकीको लक्षण देखिने भन्दै यस्तो अवस्थामा पनि तत्काल अस्पताल जान आग्रह गर्नुभयो ।

शिक्षण अस्पतालका निर्देशक डा. प्रेम खड्गाले जाडोमा भन्दा गर्मी मौसममा बिरामीको चाप बढी हुने गरेको बताउनुभयो । उहाँले अहिले पनि दैनिक १६ देखि २५ सय बिरामी उपचारका लागि आउने गरेको भन्दै यो जाडो मौसममा आउने बिरामीको सङ्ख्याभन्दा अत्यधिक रहेको बताउनुभयो ।

सरुवा रोग विशेषज्ञ पुनले गर्मी मौसममा २४ घन्टामा कम्तीमा चार लिटर पानी वा अन्य झोल पदार्थ जस्तै जीवनजल, तरकारी, दालको झोल पिउनुपर्ने बताउनुभयो । अत्यधिक गर्मीको समयमा खेतबारीमा काम गर्नु वा कडा व्यायाम नगर्न सुझाव दिँदै उहाँले शरीर ढाकिने गरी खुकुलो र हल्का रङका लुगा लगाउन सुझाव दिनुभयो । यो खबर गोरखापत्रबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *