महिलामाथिको आक्रमण: सिरिन्ज होइन काँटी, काँटी घोप्ने आक्रमणकारी सार्वजनिक

Sharing is caring!

असार १४, २०७६ । केही महिना यता सामाजिक सञ्जालमा एउटा सामग्री भाइरल भएको छ, ‘उपत्यकामा रातिराति युवतीहरूलाई सिरिन्ज हानिएको छ । सिरिन्ज हानेर मान्छेहरू भागेका छन्, सावधानी अपनाउनुहोला ।’ सिरिन्ज आक्रमणबारे सामाजिक सञ्जाल फेसबुक, ट्वीटरलगायतमा छ्यापछ्यापती समाचार प्रकाशित भएका छन् । यस्ता आक्रमणको घटनाको उजुरी प्रहरीमा पनि प¥यो । प्रहरीसमेत अनविज्ञ रहेको यस प्रकारको आक्रमणबाट सडकमा हिँड्ने युवतीहरू त्रसित बने ।

युवतीमाथि सिरिन्ज आक्रमणका घटना बढ्न थालेपछि प्रहरीले आक्रमणकारीको खोजीलाई तीव्र पा¥यो । महानगरीय अपराध अनुसन्धान महाशाखा र काठमाडौं प्रहरी परिसरको संयुक्त टोलीले उजुरीका आधारमा सम्भावित क्षेत्रसहित घटना स्थलमा निगरानी बढायो । सोही क्रममा बिहीबार राति आक्रमणमा संलग्न रहेको आरोपमा प्रहरीले रामेछाप घर भएका ३० वर्षीय सन्तोष कार्कीलाई महाराजगन्ज भाटभटेनी नजिकबाट पक्राउ गरी सार्वजनिक गरेको छ ।

प्रहरीले महिलालाई आक्रमण भएको क्षेत्रमा जडान गरिएका सीसी टीभीबाट फुटेज निकालेर अनुसन्धान थालेको थियो । त्यसकै आधारमा अनुसन्धान गर्दै जाँदा प्रहरी कार्कीसम्म पुगेका हुन् । पक्राउ परेका कार्कीले आफूले आक्रमण गरेको स्वीकार गरेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीले चारवटा मुख्य घटनामा अभियुक्त कार्कीले आफ्नो संलग्नता रहेको स्वीकार गरेको बताए । ‘उनी मुख्य चारवटा घटनामा संलग्न भएको पाइएको छ, उनले घटनामा आफ्नो संलग्नता रहेको स्वीकार गरिसकेका छन्, बाँकी थप अनुसन्धान हुँदै छ,’ परिसर प्रमुख सुवेदीले आक्रमणमा संलग्न अभियुक्तलाई सार्वजनिक गरेपछि पत्रकारहरूसँग भने ।

प्रहरीले आक्रमणमा संलग्न हुने अन्यलाई समेत खोजी गर्दै आएको छ । परिसर प्रमुख सुवेदीले पीडितको उजुरीका आधारमा घटना बाहिर आएको र सीसी क्यामेराको फुटेजका आधारमा प्रहरीले अभियुक्तलाई पक्राउ गरेको जानकारी दिएका हुन् । प्रहरीले सो घटनामा घरबाहिर कुकुर लिएर निस्किएकी महिलामाथि आक्रमण गर्दाको सीसीटिभीको फुटेजसमेत सार्वजनिक गरेको छ । पक्राउ परेका कार्कीले ढल्कु र पकनाजोल क्षेत्रको घटनामा आफ्नो संलग्नता रहेको स्वीकार गरेको प्रहरीले जनाएको छ । आरोपी कार्कीले भने आफूले सिरिन्ज नभएर काठको सुइरो र ढलान काँटीले आक्रमण गरेको बयान प्रहरीलाई दिएका छन् । तर, किन आक्रमण गरें भन्नेबारे आफू नै अनभिज्ञ रहेको उनले प्रहरीलाई बयानमा भनेका छन् ।

हालसम्म पाँच जना युवतीले आफूमाथि आक्रमण भएको भन्दै प्रहरीमा उजुरी दिएका छन् । यस्तै, शैलीमा काभ्रेको बनेपामा समेत एक युवतीमाथि आक्रमण भएको छ । प्रहरीले पीडितहरूको संख्या भने बढ्न सक्ने बताउँदै आएको छ ।

प्रहरीले पक्राउ परेका व्यक्तिले युवतीमाथि आक्रमण गरेको वस्तु सिरिन्ज नै हो वा अन्य केही हो भन्नेबारे प्रस्ट हुन बाँकी रहेको र थप अनुसन्धान भइरहेको जनाएको छ । प्रहरीले घटनाको अनुसन्धानमा घटना भएको स्थानका सीसी क्यामेराको फुटेजलाई आधार बनाएको छ । परिसर काठमाडौं र महाशाखाको टोलीले संयुक्त रूपमा घटनाबारे अनुसन्धान अघि बढाएको हो ।

को हुन् सिरिन्ज आक्रमणको आरोपमा पक्राउ परेका सन्तोष ?

सिरिन्ज आक्रमणमा संलग्न भएको आशंकामा पक्राउ परेका सन्तोष कार्की रेस्टुरेन्ट व्यवसायी रहेका छन् । काठमाडौं प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीका अनुसार पक्राउ परेका कार्कीको महाराजगन्जमा रेस्टुरेन्ट रेहेको छ । उनले भने, ‘केही समयअघि मात्र कार्की वैदेशिक रोजगारीबाट फर्किएर रेस्टुरेन्ट खोलेका थिए ।’ प्रहरीले युवतीलाई आक्रण भएको क्षेत्रमा जडान गरिएका सीसी टिभीबाट फुटेज निकालेर अनुसन्धान थालेको थियो । त्यसकै आधारमा अनुसन्धान गर्दै जाँदा प्रहरी नैकाप बस्दै आएका कार्कीसम्म पुगेको थियो । महिलामाथि शृंखलाबद्ध शंकास्पद ‘सिरिन्ज’ आक्रमण भएपछि प्रहरी उनीहरूको खोजी तीव्र पारेको थियो ।

पीडितहरूले मोटरसाइकलमा सवार व्यक्तिले आक्रमण गरेको उजुरी दिएपछि प्रहरी सीसी क्यामेराको फुटेजको आधारमा अभियुक्तसम्म पुगेको प्रवक्ता बोगटीले बताएका हुन् । पक्राउ परेका कार्कीले बा४७प १३३१ नम्बरको मोटरसाइकल प्रयोग गर्दै आएको पाइएको छ । उनी महाराजगन्जबाट सोह्रखुट्टे हुँदै ढल्कु निस्केर नैकापमा रहेको डेरामा जाने गरेको समेत प्रहरीले बताएको छ ।
आक्रमणका पीडितलाई रोग सार्ने नियतले आक्रमण गरेको हुन सक्ने आशंकामा एचआईभीविरुद्धको एआरटी र हेपाटाइटिसविरुद्धको औषधिसमेत दिइएको छ । तर, आक्रमणमा संलग्नता स्वीकारेका अभियुक्तले भने, आफूले सिरिन्ज नभएर काठको सुइरो र ढलान काँटी प्रयोग गरेको बयान प्रहरीलाई दिएका छन् । यो खबर राजधानीबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *