‘एनआरएन द सिंगर’ आजदेखि, विजेताले ५ लाख पाउने

Sharing is caring!

असोज ९, २०८० । ‘खोजी एउटा उत्कृष्ट प्रवासी नेपाली आवाज’ को भन्ने नाराका साथ ‘एनआरएन द सिंगर’ आजदेखि प्रसारण हुने भएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को संस्कृति तथा सम्पदा समितिको संयोजन र युनिटेक नेपालले आयोजना गरेको कार्यक्रम आज राति १० बजेदेखि ‘स्पेस फोर के टेलिभिजन’ मा प्रसारण हुने छ ।

पहिलोपटक आयोजना हुन लागेको रियालिटि शो ‘एनआरएन द सिङगर’ का लागि सेप्टेम्बर ९ देखि २२ सम्म अडिसन गरिएको थियो ।

एनआरएनएबाट उत्कृष्ट सिंगरको खोजीका लागि निर्णायक को रुपमा वरिष्ठ गायक तथा सर्जक शम्भु राई नेपालबाट छन् भने युकेबाट शर्मिला बर्देवा र रुपककुमार शाहीसमुदा अस्ट्रियाबाट जोडिएर कार्यक्रममा सहभागी हुने भएका छन् ।

अडिसनमार्फत आयोजकले छानेपछि उत्कृष्ट ४० जनालाई छनोट गरेका थिए ।

ती उत्कृष्ट ४० जनाबाट उत्कृष्ट २०, १५, १२, १० र ५ गरी ग्रान्ड फिनाले आयोजना हुने गैरआवासीय नेपाली संघ (एनआरएनए आइसीसी) का सचिव तथा संघको संस्कृति तथा सम्पदा समितिका अध्यक्ष गोविन्दप्रसाद गौतमले जानकारी दिए ।

कसरी हुन्छ छनोट ?

एनआरएन द सिंगरको सुरुमा अडिसनका लागि खुला रुपमा एनसीसीमार्फत आह्वान गर्दा ८७ देशका एनसीसीहरुलाई पत्राचार गरिएको थियो । त्यसमा ३७ देशबाट अडिसनका लागि वेबसाइट, इमेल र ह्वाट्सएपबाट ३ सय भन्दा बढीको आवदेन परेको थियो ।

त्यसमध्ये आयोजक र निर्णायक मिलेर उत्कृष्ट ४० जनाको छनोट गरिएको हो । ४० जनाको नाम क्रमशः टेलिभिजनबाट प्रसारण हुँदा सार्वजनिक गरिने छ ।

उत्कृष्ट ४० जनाको प्रस्तुति टेलिभिजनमा प्रसारण भएपछि ३ जना निर्णायक शम्भु राई, शर्मिला बर्देवा र रुपककुमार शाहीसमुदाले उत्कृष्ट २० जनालाई अर्को चरणमा प्रवेश गराउने छन् ।

२० जनाको प्रतिस्पर्धामा ५ जना बाहिरिएपछि उत्कृष्ट १५ मा पुग्ने छन् । उत्कृष्ट १५ बाट अघि बढ्नेका लागि भने अनलाइन भोटको पनि आवश्यकता पर्ने छ । १५ बाट उत्कृष्ट १२ मा पुग्दा २५ प्रतिशत भोटिङको नम्बर जोडिने छ भने ७५ प्रतिशत निर्णायकको नम्बर हुने छ ।

उत्कृष्ट १२ बाट १० मा जाँदा भोट र निर्णायकको बराबर ५० प्रतिशत हुने छ भने उत्कृष्ट १० बाट ग्रान्ड फिनाले (फाइनल) मा पुग्ने छ । ५ जनाको छनोट गर्दा भने ७५ प्रतिशत भोटिङ र २५ प्रतिशत निर्णायकको अंकले काम गर्ने छ ।

तर, ग्रान्ड फिनालेमा ५ जनाबीच प्रतिस्पर्धा हुँदा सर्वाधिक भोट ल्याउनेले नै ‘एनआरएन द सिंगरको’ उपाधि जित्न सफल हुनेछन् ।

उपाधि जित्नले नगद ५ लाख प्राप्त गर्दा फस्ट रनरअपले ३ लाख र सेकेन्ड रनरअपले १ लाख नगद पुरस्कारका साथै ट्रफी र प्रमाणपत्र पाउने उपसंयोजक प्रवीण गुरुङले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *