एघार महिनामा व्यापार घाटा १० खर्ब ३३ अर्ब

Sharing is caring!

असार २७, २०७५ । निर्यातको तुलनामा आयातमा भएको उल्लेख्य वृद्धिका कारण आर्थिक वर्ष २०७४/७५ को एघार महिनामा व्यापार घाटा रु १० खर्ब ३३ अर्ब चार करोड पुगेको छ । यो रकम कुल गार्हस्थ्य उत्पादनको ३४.४ प्रतिशत हो ।

आव २०७५/७६ का लागि मौद्रिक नीति प्रस्तुत गर्दै राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले यस अवधिमा नेपाली कामदारले पठाएको विप्रेषण आप्रवाह ७ दशमलब ३ प्रतिशतले वृद्धि भएको बताउनुभयो । विप्रेषण आप्रवाहको वृद्धि सामान्य रहेको तर व्यापार घाटा फराकिलो हुँदै गएकाले चालू खाता घाटा उच्च हुन गएको उहाँले उल्लेख गर्नुुभयो । आव २०७३/७४ मा रु ८२ अर्ब ११ करोडले बचतमा रहेको शोधनान्तर स्थिति आव २०७४/७५ को एघार महिनामा रु चार अर्ब ३४ करोडले घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ ।

बैंकिङ्ग क्षेत्रसँग नौ महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्नका लागि पर्याप्त विदेशी विनिमय सञ्चिति रहेको जनाइएको छ । विस २०७४ असार मसान्तको तुलनामा २०७५ असार २६ गतेसम्ममा नेपाली रूपैयाँ अमेरिकी डलरसँग ६.२ प्रतिशतले अवमूल्यन भई विनिमय दर रु १०९.६४ कायम भएको छ । आव २०७३/७४ मा भने नेपाली रुपैयाँ अमेरिकी डलरसँग ३.८ प्रतिशतले अधिमूल्यन भएको राष्ट्र बैंकले जनाएको छ ।

आव २०७३/७४ यता मुलुकको आर्थिक वृद्धिले लय समातेको उल्लेख गर्दै गभर्नर डा नेपालले आव २०७३/७४ मा आर्थिक वृद्धिदर ७.४ प्रतिशत रहेकामा आर्थिक वर्ष २०७४/७५ मा त्यस्तो वृद्धिदर ५.९ प्रतिशत रहने अनुमान गरिएको जानकारी दिनुभयो । आव २०७४/७५ को शुरुमा तराईमा आएको बाढीका कारण कृषि क्षेत्रको वृद्धिदर २.८ प्रतिशत रहेतापनि उद्योग क्षेत्रको वृद्धिदर ८.८ प्रतिशत र सेवा क्षेत्रको वृद्धिदर ६.६ प्रतिशत भएबाट आव २०७४/७५ मा उत्साहजनक आर्थिक वृद्धि हासिल भएको हो ।

आर्थिक वृद्धिमा आएको सुधारसँगै नेपाली अर्थतन्त्रको आकार रु ३० खर्ब सात अर्ब पुगेको छ । विगत दुई वर्षयता कुल गार्हस्थ्य बचतको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपातमा वृद्धि हुँदै आएको राष्ट्र बैंकले जनाएको छ । विप्रेषण आप्रवाहका कारण आव २०७४/७५ मा कूल राष्ट्रिय बचतको कूल गार्हस्थ्य उत्पादनसँगको अनुपात ४३.९ प्रतिशत रहेको छ । कुल पूँजी निर्माण अनुपातमा विस्तार आई ५१.८ प्रतिशत पुगेको र स्रोत अपर्याप्तता कुल गार्हस्थ्य उत्पादनको ७.८ प्रतिशत रहने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *