मन्त्री खनालद्वारा कलंकी मालपोत कार्यालयको अनुगमन

Sharing is caring!

असार २७, २०७५ । कृषि, भूमि तथा सहकारीमन्त्री चक्रपाणि खनालले आफू कार्यभार सम्हालेयता मालपोत तथा नापी कार्यालयका ७२ कर्मचारीलाई निलम्बन गरिएको बताउनुभएको छ ।

आज कलंकीस्थित मालपोत कार्यालयको अनुगमनका क्रममा मन्त्री खनालले जनसरोकारका कार्यमा अनियमितता गरेका तत् कार्यालयका कर्मचारीलाई कानूनी प्रक्रिया पूरा गरेर दण्डित गरिने बताउनुभयो ।

भ्रष्टाचारको अखडाका रुपमा मालपोत र नापी कार्यालयको सर्वसाधरणमा नकारात्मक सन्देश गएको बताउँदै उहाँले त्यहाँबाट प्रवाह गरिने सम्पूर्ण सेवा तथा कार्यसम्पादनलाई सेवाग्राहीको सुविधा र सहजतासँग जोड्न कर्मचारीलाई निर्देशन दिनुभयो ।

सेवा लिन आएका सेवाग्राहीको गुनासो सुनेपछि मन्त्री खनालले कार्यालयमा विचौलियाको गतिविधिलाई न्यून गर्न सिसी क्यामेराको जडान गरी सेवा छिटो, चुस्त र प्रभावकारी ढंगले दिन र कार्यसम्पादनको व्यवस्थित अभिलेख राखी बैंकिङ प्रणालीबाट कारोवार गरेर कार्यालयलाई भ्रष्टाचारमुक्त बनाउन कर्मचारीसँग आग्रह गर्नुभयो ।

सोही मन्त्रालयका राज्यमन्त्री रामकुमारी चौधरीले उक्त कार्यालयमा लेखापढी व्यवसायीमार्फत ल्याइने काम चाँडो हुने गरेको गुनासो आएकाले त्यसप्रति सजग भई न्यायिक ढंगले कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन दिनुभयो ।

कार्यालय प्रमुख नवीनकिशोर अधिकारीले मन्त्रालयले जारी गरेको परिपत्रअनुसार कार्यसम्पादन भइरहेको जानकारी दिँदै कार्यालयलाई भ्रष्टाचारमुक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *