आफन्तैले दिँदैनन् रगत

Sharing is caring!

साउन २६, २०७५ । रगत चाहिएर पुगेका बिरामीका आफन्तको पोखराको रक्तसञ्चार केन्द्रमा बेलाबेला भीड हुन्छ । केन्द्रको खाताबाट पाइएको रक्तदाताका नम्बरका फोन गरेर उनीहरू खाँचो परेको सुनाइरहेका हुन्छन् । अधिकांश समय केन्द्रमा रगत अभाव हुन्छ ।

विशेषगरी दसैं, तिहारजस्ता चाडपर्वको समयमा रगत मौज्दात हुँदैन। रक्तदान कार्यक्रमको भरमा माग धानिरहेको क्षेत्रीय रक्तसञ्चार सेवा केन्द्रलाई रगत पुर्‍याउन हम्मे हुन्छ। बिरामीका आफन्तले रगत दिन चासो नदेखाउँदा अभाव हुने गरेको हो।
विभिन्न संघसंस्थाले आयोजना गर्ने रक्तदान कार्यक्रमबाट केन्द्रमा रगतको जोहो हुन्छ। सर्वसाधारणमा रक्तदानप्रति सचेतना बढे पनि बिरामीकै आफन्त भने रक्तदान गर्न आनाकानी गर्छन्। कार्यालयका निर्देशक ध्रुवमणि लामिछानेका अनुसार आºनै रगत दिने बिरामीका आफन्त मुस्किलले वर्षमा १० जना मात्रै हुन्छन्। उनी रक्तदानप्रति आममानिसमा गलत धारणा अझै कायम भएको उदाहरणको रूपमा यसलाई लिन्छन्। ‘सिकिस्त बिरामी लिएर ४/५ जनासम्म आफन्त अस्पताल आउँछन्,’ उनी भन्छन्, ‘रगत चाहियो भनेर दिन कोही तम्सिँदैनन्।’
रगत दिँदा शरीर कमजोर हुने गलत सोचाइले बिरामीको आफन्त रक्तदानबाट पन्छिन खोज्ने उनको अनुभव छ। ‘रगत दिने जिम्मा ब्लड बैंकको मात्रै हो भन्ने आमधारणा छ ,’ उनले भने। बिरामीका आफन्तले रगत दिने हो भने कुनै पनि बेला रगत अभाव नहुने उनी बताउँछन्।
स्वयंसेवी रक्तदाता समाज कास्कीका अध्यक्ष तीर्थराज अवस्थी बिरामीका आफन्तले रगत नदिनुमा पर्याप्त जनचेतनाको अभावलाई कारण मान्छन्। उनले भने, ‘बिरामीका आफन्तमा ब्लड बैंकले रगत खोजिदिन्छ, हामीले किन दिने भन्ने खालको मानसिकता छ।’ सरकारले व्यवस्थापन गर्न जाने कहिल्यै रगतको अभाव नहुने उनको तर्क छ। ‘आफन्तले रगत नदिनु व्यवस्थापनको कमजोरी हो,’ उनले भने।
ब्लड बैंकका अनुसार कास्कीमा आर्थिक ०७३/७४ मा १२ हजार ८ सय ९९ ले रक्तदान गरेका थिए।
गत आर्थिक वर्षमा उक्त संख्या १३ हजार ७ सय पुग्यो। वर्षमा ८ सय मात्रै रक्तदाता बढ्नु सन्तोषजनक नभएको निर्देशक लामिछाने बताउँछन्। पोखरामा औसतमा ४० युनिट रगत दैनिक खपत हुन्छ। ब्लड बैंकमा हाल ‘ए’ र ‘बी’ समूहको रगत अभाव छ। ‘ओ’ र ‘एबी पोजिटिभ’ रगत भने पर्याप्त छ। यो खबर आजको कान्तिपुरमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *