आज महाशिवरात्री: १० लाखले दर्शन गर्ने अनुमान, सुरक्षा व्यवस्था कडा

Sharing is caring!

फागुन २०, २०७५ । यसपटकको महाशिवरात्रीमा १० लाख दर्शनार्थीले पशुपतिनाथको दर्शन गर्ने अपेक्षा पशुपति क्षेत्र विकास कोषले गरेको छ। महाशिवरात्री सोमबार परेको छ। कोषका सदस्यसचिव डा. प्रदीप ढकालले महाशिवरात्रीमा १० लाख बढी दर्शनार्थीले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरिएको बताए। उनले भने, ‘हामीले सहजै दर्शन गराउने व्यवस्था मिलाएका छौं। विशेष पासको व्यवस्था छैन। ज्येष्ठ नागरिकलाई स्वयंसेवकको सहयोगमा पशुपतिनाथको दर्शन गराइनेछ।’

बिहान तीन बजे मूल मन्दिरको तीनवटा ढोका खुल्नेछ। यस्तै भक्तजनलाई पशुपतिनाथ दर्शनका लागि चार बजे खुला गरिने कोषको तयारी छ। पशुपतिनाथको दर्शन गर्न उमाकुण्ड, जयवागेश्वरी र पिंगलास्थानबाट लाइनको व्यवस्था मिलाइएको छ। पार्किङ स्थल सिफल, तिलगंगा र कोषको कार्यालय परिसरमा तोकिएको छ।

पशुपतिनाथ मन्दिरको उत्तर ढोकाबाट दर्शन गर्न प्रवेश गरेका दर्शनार्र्थीलाई पश्चिम ढोकाबाट, पश्चिम ढोकाबाट दर्शन गर्न जानेलाई दक्षिण, दक्षिण ढोकाबाट दर्शन गर्नेलाई दक्षिण र उत्तर ढोकाबाट दर्शन गर्ने दर्शनार्थीलाई पश्चिम ढोकाबाट फर्काउने व्यवस्था मिलाइएको ढकालले बताए।

महाशिवरात्री पर्व मनाउन नेपाल र भारतका थुप्रै साधुसन्त र नागाबाबा पशुपति क्षेत्रमा आएका छन्। चाबहिल–गौशाला, तिलगंगा–गौशाला, पुरानो बानेश्वर–गौशाला रुटमा चल्ने सबै सवारी निषेध गरिएको कोषले जनाएको छ। कोषले पाशुपत क्षेत्रमा गाँजा बिक्रीवितरणमा पूर्ण प्रतिबन्ध लगाइएको दाबी गरेको छ। सदस्यसचिव ढकालले भने, ‘गाँजा बिक्रीवितरणमा पूर्ण प्रतिबन्ध लगाउँछौं। साधुसन्तले सेवन गर्न पाउनेछन्। तर बिक्री गरेमा उनीहरूमाथि पनि कारबाही गर्छौं।’

आठ हजार सुरक्षाकर्मी परिचालन

पशुपति क्षेत्रमा कुनै पनि खालका अपराध हुन नदिन आठ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ। नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग गरी चारवटै सुरक्षा निकाय पाशुपत क्षेत्रमा खटिएका छन्। नेपाल प्रहरीका पाँच हजार, सशस्त्रका दुई हजार र बाँकी सेना र विभागका सुरक्षाकर्मी खटिएका छन्।

प्रहरी उपरीक्षकको कमान्डमा सुरक्षाकर्मी खटिने जानकारी महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी वसन्त लामाले दिए। उनले भने, ‘कोष र सुरक्षा निकायको एउटै कमान्ड पोस्ट रहनेछ। सादा पोसाकमा छ्यापछ्याप्ती सुरक्षाकर्मी परिचालन गरिनेछ।’

उनले गाँजा सेवन भन्दा पनि बिक्रीवितरणमा प्रतिबन्ध लगाउन सुरक्षा निकाय केन्द्रित हुने बताए। साधुसन्तबाहेक अन्यले गाँजा सेवन गरेको देखिएमा प्रहरीले शरीर खानतलासी गर्नेछ। परिसर र महानगरीय अपराध पाशुपत क्षेत्रमा कोष र महानगरीय प्रहरी कार्यालय रानीपाखेरीको संयुक्त २६ वटा सीसीटीभी राखिएको छ। सीसीटीभी दर्शनार्थीको घुँइचो लाग्ने स्थानमा केन्द्रित छन्। रुद्रगाढेश्वर, वनकाली, सत्यरूपा मन्दिर परिसर, राममन्दिर क्षेत्रमा गाँजा सेवन गर्नेको घुइँचो लाग्ने भएकाले ती स्थानमा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।यो खबर अन्नपूर्ण पोस्टबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *