नेपालको ऐतिहासिक जित

Sharing is caring!

माघ १५, २०७५ । कप्तान पारस खड्काको उत्कृष्ट ब्याटिङसँगै नेपालले संयुक्त अरब ईमिरेट्स (यूएई) विरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा चार विकेटको रोचक जित हात पारेको छ। जितसँगै नेपालले तीन खेलको शृंखला पनि २–१ ले आफ्नो पक्षमा पारेको छ। अन्तर्राष्ट्रि क्रिकेट काउन्सिल (आईसीसी) एकेडेमीको मैदानमा यूएईद्धारा प्रस्तुत दुई सय ५५ रनको लक्ष्य नेपालले ४४.४ ओभरमा ६ विकेट गुमाउँदै भेट्टाएको थियो।

त्यसअघि टस हारी पहिले ब्याटिङ गरेको यूएईले निर्धारीत ५० ओभरमा ६ विकेटको नोक्सानीमा २५४ रन जोडेको थियो। सीपी रिजवानको बलमा छक्का प्रहार गर्दै सोमपाल कामीले नेपालको जित निश्चित गरेका थिए। कप्तान पारसले एक सय १५ रनको ऐतिहासिक सतक प्रहार गर्दै नेपाललाई जिततर्फ अग्रसर गराएका थिए। पारसले एक सय नौ बलको सामना गरी एक छक्का र १५ चौका प्रहार गरे। उनको यो सतक नेपालका लागि आधिकारीक एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा पहिलो सतक बनेको छ।

पारसले दोस्रो विकेटका लागि ज्ञानेन्द्र मल्ल (३१ रन) सँग मिलेर ६२ रनको साझेदारी गरेका थिए। पारसले राष्ट्रिय टोलीबाट पहिलो खेल खेलेका सन्दीप जोहरा (१९ रन) सँग चौथो विकेटका लागि ३१, रोहितकुमार पौडेल (१६ रन) सँग पाँचौं विकेटका लागि ५४ र आरिफ शेख (२१ रन) सँग छैटौं विकेटका लागि ३२ रनको साझेदारी गरेका थिए।

पारसलाई आरिफ, रोहित, सन्दीपलगायतका युवा खेलाडीले राम्रो साथ दिए। आरिफसँगै अविजित रहेका सोमपालले २५ बलमा २५ रन प्रहार गरेका थिए। सोमपालले आफ्नो पालीमा एक छक्का र तीन चौका हिर्काए भने सन्दीपले २० बलमा एक छक्का र एक चौका प्रहार गरे। आरिफले दुई र रोहितले एक चौका प्रहार गरे। प्रारम्भिक ब्याट्सम्यान विनोद भन्डारी नौ र दीपेन्द्रसिंह ऐरी ६ रनमा आउट भए।

त्यसअघि छैटौं नम्बरका ब्याट्सम्यान साइमन अनवरले ७० बलमा ८७ रन बनाएपछि यूएईले गतिलो योगफल तय गरेको यियो। उनलाई मोहम्मद बुटाले ३१ बलमा अविजित ५९ रन प्रहार गर्दै गतिलो साथ दिएका थिए। अनवरले सीपी रिजवान (४५ रन)सँग पाँचौं विकेटका लागि एक सय र बुटासँग छैटौ विकेटका लागि ८० रनको साझेदारी गरेका थिए। यूएईका अन्य खेलाडीको प्रदर्शन भने सामान्य रह्यो।

नेपाली मध्यमगतिका बलरहरूले यूएईका सुरुआती ब्याट्सम्यानलाई सहजै पभेलिय फर्काएका थिए। प्रारम्भिक ब्याट्सम्यानद्वय असफाक अहमद र चिराग सुरीलाई खाता खोल्नुअघि नै क्रमशः सोमपाल र करण केसीले आउट गराएका थिए। त्यसपछि आएका घुलाम सब्बरलाई सन्दीपले १८ रनमा र मोहम्मद उस्मानलाई २६ रनमा कप्तान पारसले आउट गराएका थिए।

नेपालका लागि करण र कप्तान पारसले दुई÷दुई विकेट लिए भने सोमपाल र सन्दीपले एक÷एक विकेट हात पारे। यूएईका बलर इमरान हैदर र अस्फाक अहमदले पनि नेपालको दुई÷दुई विकेट लिएका थिए। नेपालले अब बिहीबारदेखि यूएईसँगै तीन खेलको टीट्वेन्टी शृंखला खेल्ने छ।यो खबर अन्नपूर्ण पोस्टबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *