काठमाडौंमा एक महिनामा ११५ चोर समातिए

Sharing is caring!

माघ १५, २०७५ । प्रहरीले एक महिनाभित्र काठमाडौं उपत्यकाबाट चोरी कार्यमा संलग्न ११५ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरले थालेको एक महिना लामो अपरेसनमा उनीहरू पक्राउ परेका हुन् । पक्राउ परेकामध्ये युवतीको संख्या एक दर्जनभन्दा बढी रहेको प्रहरीले जनाएको छ । उनीहरू पनि विगत केही वर्षदेखि चोरी धन्दामा सक्रिय थिए ।

परिसर प्रमुख एसएसपी वसन्त लामाले पाकेटमारपछि चोरीमा संलग्नविरुद्ध प्रहरीले विशेष अपरेसन चलाएको बताए । ‘केही महिनाअघि सयजनाकै हाराहारीमा पाकेटमार समात्यौँ । ती सबै सार्वजनिक बसमा यात्रुको पाकेट मार्ने कार्यमा संलग्न थिए,’ लामाले भने, ‘उनीहरूमध्ये केही जेलमा र केही धरौटीमा छुटेका छन् । केही भने काठमाडौं छाडेर भागिसकेका छन् ।’

दिउँसो चोरी गर्ने धेरै
प्रहरीले रातको समयभन्दा दिउँसो धेरै चोरी हुने गरेको बताएको छ । पक्राउ परेकाहरूको बयानका आधारमा प्रहरीले सो जानकारी गराएको हो । विशेषगरी सुनसान तथा एकान्त स्थानका घरमा चोरी गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उनीहरू समूहमा रहने र समूहमै रहेर चोरी गर्ने गरेको प्रहरीको भनाइ छ । ‘काठमाडौंमा राति चोरीका घटना कम भए पनि दिउँसो बढेको छ,’ एसएसपी लामाले भने, ‘एकान्त तथा सुनसान घरलाई निशाना बनाएर समूहमा घरभित्र छिर्छन् । केही मिनेटभित्रै सम्पूर्ण सामान लिएर फरार हुन्छन् ।’

कवाडी संकलन गर्ने नाममा घरको रेकी
प्रहरीका अनुसार चोरीमा केही भारतीय नागरिक पनि संलग्न छन् । कवाडी संकलन गर्दै घरघर छिर्ने, यही मौकामा घरको रेकी गर्ने, कोही नभएको मौका छोपी चोरी गर्ने कार्यमा भारतीय मूलका व्यक्ति संलग्न रहेको प्रहरीले जनाएको छ । चोरी घटनामा महिला र पुरुषको छुट्टाछुट्टै समूह रहने गरेको प्रहरीको दाबी छ । यस्ता चोर पक्राउ गर्न परिसरले महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाबाट पनि सहयोग लिएको छ । ‘उपत्यकामा अनौँठा खालका चोरी हुने गरेका छन् । यस्ता घटनामा विशेषगरी बाहिरका मान्छे संलग्न भएकाले अनुसन्धान महाशाखाको विशेष दखल छ । यसपटक कतिपय अपरेसन हामीले संयुक्त रूपमा गरेका छौँ,’ एसएसपी लामाले भने ।यो खबर नयाँ पत्रिकाबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *