आइतबारसम्म अधिकांश स्थानमा हुरीबतास, सचेत रहन मौसमविद्को आग्रह

Sharing is caring!

चैत २३, २०७५ । नेपाली आकाशमा मल्टिपल अर्थात् संयुक्त प्रणालीको प्रभाव देखिएपछि मौसममा खराबी आएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विभूति पोखरेलका अनुसार अहिले पश्चिमी वायु, न्यून चापीय प्रणाली, स्थानीय वायु र बंगालको खाडीमा विकसित प्रणालीको एकसाथ प्रभाव देखिएको छ । जसका कारण शनिबार मुलुकका विभिन्न स्थानमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको छ ।

पोखरा आसपास विकसित भएको प्रणाली काठमाडौं हुँदै पूर्वतिर सरिसकेको छ । पोखरादेखि पूर्वतिरको मौसममा खराबी देखिए पनि पश्चिमी क्षेत्रको मौसममा खासै प्रभाव नपरेको मौसमविद् पोखरेलले जानकारी दिइन् ।
उनका अनुसार शनिबार छिनमै मेघ गर्जनसहित पानी पर्ने र लगत्तै घाम लाग्ने देखिन्छ । उनले भनिन्, ‘यो प्रणालीले पोखरादेखि पश्चिमका क्षेत्रमा खासै असर नगर्ने भए पनि प्रि–मनसुनमा छिनछिनमा मौसम परिवर्तन हुने भएकाले पानी पर्ने सम्भावना कायमै रहन्छ ।’

मौसमविद् पोखरेलका अनुसार तराईका सिमाना र पश्चिमी पहाडका केही स्थानमा हल्का हावाहुरी चल्ने तथा उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना देखिएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान आंशिक बदली रहनेछ । देशको पश्चिमी तथा मध्य भूभागका केही स्थानमा र पूर्वी भूभागका थोरै स्थानमा मेघ गर्जने र चट्याङसहित हुरी बतासका साथ वर्षाको सम्भावना रहेको छ । साथै हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुनसक्नेछ । पूर्व र मध्य तराईका भूभागमा हुरीबतास चल्ने सम्भावना रहेको छ ।

शनिबार दिउँसो मुलुकका अधिकांश भूभागमा सामान्यतः बदली रहने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार केही स्थानमा मेघ गर्जने र चट्याङसहित हुरीबतासको सम्भावना भएकाले सुरक्षित हुन आह्वान गरिएको छ । साथै हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना देखिन्छ । तराईका भूभागमा पनि हुरीबतास चल्ने सम्भावना छ ।
यसैगरी, शनिबार राति पनि मुलुकका अधिकांश भूभागमा बदली रहनेछ । ‘देशको पूर्वी तथा मध्य भूभागका केही स्थानहरूमा र पश्चिमी भूभागका थोरै स्थानमा मेघ गर्जनका साथ हल्कादेखि मध्ययम वर्षाको सम्भावना रहेको छ,’ मौसमविद् पोखरेलले भनिन्, ‘हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना देखिन्छ । तराईका भूभागमा हुरीबतास चल्ने सम्भावना देखिन्छ ।’ यस्तै, आइतबार पनि हुरीबताससहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आइतबार दिउँसो देशभरका धेरैजसो भूभागमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । देशको पूर्वी तथा मध्य भूभागका थोरै स्थानमा र पश्चिमी भूभागका एक वा दुई स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना देखिन्छ । यसैगरी, आइतबार राति मुलुकको पूर्वी क्षेत्रका अधिकांश भूभागमा सामान्य बदली तथा मध्य र पश्चिमी क्षेत्रको भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । देशको पूर्वी भूभागका थोरै स्थानमा मेघ गर्जनका साथ हल्का वर्षाको सम्भावना रहेसँगै शनिबार साँझ पश्चिम र मध्य तराईका केही स्थानमा हुरीबतास चल्ने महाशाखाले जनाएको छ ।यो खबर राजधानीबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *