आइएनजिओको बजेटमा सांसदलाई दुईदिने तालिम

Sharing is caring!

जेठ २३, २०७५ । संसद् सचिवालयले संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) को अनुदानमा सांसदलाई दुईदिने तालिम दिने भएको छ । बुधबार र बिहीबार सचिवालयले संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा प्रशिक्षण आयोजना गरेको हो ।

विभिन्न सरकारी तथा गैरसरकारी संस्था (एनजिओ/आइएनजिओ) को प्रभावमा संसद् सचिवालयले विगतदेखि नै सांसदहरूलाई तालिम र भ्रमणको नाममा मुलुकभित्र र बाहिर लैजाने गरेको छ । मुलुकको नीति निर्माण गर्ने सर्वोच्च निकायमा समेत एनजिओ/आइएनजिओको प्रभाव बढेको भन्दै आलोचना भइरहेका वेला संसद् सचिवालयले दातृ निकायको प्रभाव रोकेको छैन । सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले दुईदिने संसदीय प्रक्रियासम्बन्धी जानकारीमूलक कार्यक्रम गर्न लागिएको बताए । उनले भने, ‘यो नियमित प्रक्रिया हो । सांसदहरूलाई जानकारीमूलक प्रशिक्षण दिने अन्तर्राष्ट्रिय अभ्यास हो । विगतमा पनि हामीले गरेका थियौँ ।’

संसद् सचिवालय उच्च स्रोतका अनुसार युएनडिपीले दुईदिने प्रशिक्षणको सम्पूर्ण खर्च बेहोर्ने छ । स्रोतका अनुसार युएनडिपीले खाना, खाजादेखि सांसदहरूलाई भत्तासमेत दिनेछ । विगतका कार्यक्रममा यस्ता राष्ट्रिय–अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले आकर्षक भत्तासमेत दिने गरेकाले सांसदहरूसमेत लोभिने गरेको सचिवालयका एक अधिकारीले बताए ।

संघीय संसद् सचिवालयअन्तर्गत संसदीय प्रशिक्षण शाखाका उपसचिव रामकुमार पौडेलले दुईदिने प्रशिक्षणमा युएनडिपीको सहकार्य रहेको बताए । उनले भने, ‘यस प्रशिक्षणका लागि युएनडिपीले कति छुट्याएको छ भन्ने हामीलाई थाहा छैन । खर्च भएका आधारमा युएनडिपीले व्यवस्था गर्ला ।’ तर, सांसदहरूलाई भत्ता दिने–नदिनेबारे युएनडिपीले आफूहरूलाई जानकारी नगराएको उनले बताए ।यो खबर आजको नयाँ पत्रिकामा कृष्ण कटेलले लेख्नुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *