अब हरेक पाँच वर्षमा डाक्टरको परीक्षा: सय नम्बर नल्याए लाइसेन्स खारेज

Sharing is caring!

मंसिर १६, २०७५ । डाक्टरहरूको स्वास्थ्य सेवामा चौतर्फी प्रश्न उठ्न थालेपछि अब हरेक पाँच वर्षमा उनीहरूको परीक्षा हुने भएको छ । गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सकको क्षमता वृद्धिका लागि भन्दै मेडिकल काउन्सिलले पाँच–पाँच वर्षमा परीक्षा लिन लागेको हो ।

यसअघि एकपटक लाइसेन्स पाएपछि डाक्टर सधैँका लागि सेवामा योग्य हुने व्यवस्था थियो । तर, अब हरेक पाँच वर्षमा हुने परीक्षामा सय नम्बर ल्याएपछि मात्रै लाइसेन्स नवीकरण हुनेछ । सय नम्बर नल्याउने डाक्टरको लाइसेन्स नै खारेज हुनेछ ।

‘यसअघि डाक्टरले एकपटक लाइसेन्स लिएपछि आजीवन दोहो-याएर हेर्ने परिपाटी थिएन,’ नेपाल मेडिकल काउन्सिलका सदस्य प्रा.डा. सुदीप आचार्यले भने, ‘अब समय अवधि नै तोकेर अपडेट गर्ने भएका छौँ । उनीहरूले तोकेको कोर्स पूरा गर्नैपर्छ, सय नम्बर ल्याउनैपर्छ । नभए लाइसेन्स खारेज हुन्छ । ९९ नम्बर ल्याए पनि बिरामी जाँच्ने अधिकार खोसिनेछ ।’

तालिमको ३० र कार्यक्रमको ७० अंक
पेसामा विकासको निरन्तरता (सिपिडी) कार्यक्रममार्फत काउन्सिलले डाक्टरहरूको परीक्षा लिनेछ । कार्यक्रममा सबै डाक्टरलाई सहभागी हुन बाध्यात्मक व्यवस्था बनाएको छ । काउन्सिलमा २२ हजारभन्दा बढी चिकित्सक दर्ता भएका छन् । उनीहरूले पूरा गर्नुपर्ने तालिम र कार्यक्रमका लागि नम्बर छुट्याइएको छ । तालिमको ३० र कार्यक्रमको ७० अंक राखिएको छ । कुन तालिम र कार्यक्रमको कति नम्बर दिने भन्ने मापदण्ड पनि काउन्सिलले बनाउनेछ ।

पाँच वर्षको अवधिभित्र तोकिएको तालिम र कार्यक्रममा सहभागी भएर सय नम्बर प्राप्त गर्नुपर्छ । काउन्सिलले तोकेको तालिम र कार्यक्रममा सहभागी भएर पूरा अवधिभर बस्नैपर्ने बाध्यता डाक्टरहरूलाई हुने आचार्यले बताए । डाक्टरले लिखित परीक्षा भने दिनुपर्दैन ।

यसरी हुन्छ डाक्टरको परीक्षा
चिकित्सकको सहजताका लागि काउन्सिलले सातवटै प्रदेशका हरेक अस्पताल, मेडिकल कलेजहरूमा सिपिडी युनिट गठन गर्नेछ । केन्द्रमा कम्तीमा पाँचजना विज्ञ चिकित्सकलाई तालिम दिनेछ । उनीहरूले प्रत्येक प्रदेशमा आवश्यकता हेरेर चिकित्सकलाई तालिम दिनेछन् । ती चिकित्सकले फेरि आफ्नो प्रदेशमा रहेका सबै चिकित्सकलाई तालिम र कार्यक्रम गराउनेछन् । चिकित्सकको काममा असहज हुने गरी तालिम नहुने काउन्सिलका सदस्य डा. आचार्यले बताए । समय अवधिभर चिकित्सकले तालिम तथा कार्यक्रममा सहभागिता जनाएनन् भने उनीहरूको नम्बर घट्छ ।यो खबर नयाँ पत्रिकाबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *