अधिकारीको निधनले मुलुकलाई अपुरणीय क्षति: श्रेष्ठ

Sharing is caring!

फागुन १८, २०७५ । सत्तारुढ दल नेकपाका नेता रुपनारायण श्रेष्ठले पर्यटनमन्त्री रवीन्द्र अधिकारीको असमायिक निधनले मुलुकलाई अपुरणीय क्षति पुगेको बताएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले स्वर्गीय रवीन्द्र अधिकारीको सम्झनामा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै श्रेष्ठले नेपालका सबै पार्टीका युवा नेताहरुको लागि स्वर्गीय अधिकारी ‘रोल–मोडल’ भएको पनि प्रतिक्रिया दिए । उनले भने,‘उहाँले नेपालको विद्यार्थी आन्दोलनलाई मूल प्रवाहमा ल्याउनुभएको हो । विद्यार्थी आन्दोलनलाई दिशा दिने काम उहाँले गर्नुभयो । उहाँ सबै पार्टीका युवा नेताहरुको लागि रोलमोडलका रुपमा स्थापित हुनुहुन्थ्यो ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले स्वर्गी अधिकारी बोलेको कुरा पूरा गरेरै छाड्ने नेताको रुपमा चिनिएको सुनाए । उनले भने,‘उहाँ बोलेको कुरा पुरा गर्नुहुन्थ्यो । उहाँ बोल्दै बोल्नुहुन्न थियो, बोलेपछि परीणाम दिएरै छोड्नुहुन्थ्यो ।’

उनले अधिकारीले सार्वजनिक यातायातमा ३३ प्रतिशत भाडा छुटको लागि सशक्त भूमिका खेलेको भन्दै उक्त योगदानको सँधै स्मरण रहिरहने पनि जनाए । उनले भने,‘सिमा सुरक्षाको अभियान पनि चलाउनुभयो । उहाँले धेरै अनुकरणीय काम गर्नुभएको थियो ।’

संसदको विसका समितिको सभापति हुँदादेखि अहिले पर्यटनमन्त्री हुँदा अधिकारीले प्रभावकारी काम गरेको उनले जनाए । उनले भने,‘उहाँले देशलाई समृद्ध बनाउनुपर्छ भनेर धेरै सशक्त भूमिका निर्वाह गर्नुभएको थियो । पछिल्लो समय मन्त्री भएपछि त उहाँले पर्यटन क्षेत्रको

विकासको लागि अतुलनीय योगदान पुर्याउनुभएको छ । उहाँ अन्तर्राष्ट्रिय विमानस्थलहरुको निर्माण द्रुत गतिमा गर्नुपर्छ भनेर लागिरहनुभएको थियो ।’

उनले अधिकारीले नेकपाको मात्रै नभएर सिँगो नेपालको प्रिय विकासवादी युवा नेताको छबि बनाएको विश्वास दिलाए । उनले भने,‘उहाँको अभाव यो राष्ट्रलाई सँधै खड्किरहन्छ।’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलले आफ र स्वर्गीय अधिकारीवीच निकै आत्मीय सम्बन्ध रहेको सुनाए । उनले भने,‘उहाँ त नातामा पनि मेरो दाजु नै हुनुहुन्थ्यो । हाम्रो क्षेत्रमा उहाँको ठूलो प्रभाव छ । उहाँ वास्तवमा हामी युवाहरुको लागि रोल–मोडल नै हुनुहुन्थ्यो ।’

पौडेलले अधिकारीलाई अत्यन्तै सह–हृदय, मिलनसार र सरल व्यक्तिको रुपमा चित्रण गरे । उनले भने,‘म त उहाँको नातामा भाई पर्छु, तर उहाँ नातामा भाई नपर्नेहरुलाई पनि आफू दाई भएको महशुस गराउनुहुन्थ्यो ।’

मुलुकले निकै धेरै आशा गरेको युवा नेता गुमाएको भन्दै उनले अधिकारीलाई सबै पार्टीका युवा नेताहरुले रोलमोडलको रुपमा लिएको सुनाए । उनले भने,‘अत्यन्तै लोकप्रिय हुनुहुन्थ्यो, ०६४, ०७० र ०७४ को निर्वाचनमा विजयी हुनुभएको थियो । उहाँले पोखरामा पनि राम्रो छबि बनाउनुभएको थियो ।’

अधिकारीमा विकासप्रति अत्यन्तै गहिरो लगाव रहेको पनि उनले सुनाए । उनले भने,‘उहाँले विकास समितिको सभापति हुँदा धेरै काम गर्नुभएको छ । उहाँले विकाससम्बन्धी जागरण नै चलानुभएको थियो । त्यतिमात्रै होईन, उहाँ धेरै सिर्जनशील हुनुहुन्थ्यो । साहित्यमा पनि त्यतिकै पोख्त हुनुहुन्थ्यो । सिर्जनशील व्यक्तित्व हुनुहुन्थ्यो ।’

समाज र देशको लागि केही गर्नुपर्छ भन्ने हुटहुटी अधिकारीमा रहेको उनले सम्झिए । उनले भने,‘समकालिन नेताहरुमा उहाँ नेपाल बुझेको नेतामा पर्नुहुन्थ्यो । उहाँले प्रविण गुरुङको सडक दुर्घट्नामा निधन हुँदा निडरता प्रस्तुत गर्नुभएको थियो । राजाको विरुद्धमा आन्दोलन नै चलाउनुभयो ।’

अधिकारीमा एउटा राजनीतिज्ञमा हुनुपर्ने सबै गुणहरु रहेको पनि सुनाए । उनले भने,‘उहाँ सबै पक्षमा अब्बल हुनुहुन्थ्यो । उहाँ बाँचेको भए वाईडबडी प्रकरणमा आफूलाई निश्कलंक सावित गर्नुहुन्थ्यो ।’ पर्यटनमन्त्री भैसकेपछि अधिकारीले यो क्षेत्रको विकासको लागि एक वर्षमा धेरै काम गरेको उनले सुनाए ।

उनले भने,‘यो एक वर्षमा उहाँले धेरै ठूलो काम गर्नुभएको थियो । एयरपोर्ट सुचारुदेखि लिएर नयाँ एयरपोर्ट बनाउनको लागि उहाँले धेरै काम गर्नुभएको थियो ।’ अधिकारी कम्युनिष्ट भएपनि परम्परावादी नभएर आधुनिक भएको पनि उनले सुनाए ।

उनले मन्त्री अधिकारीको दुर्घट्नामा भएको निधन र वाईडबडी प्रकरण दुवै फरक विषय भएकोले उक्त प्रकरणको बारेमा निश्पक्ष छानबिन हुनुपर्ने बताए । उनले भने,‘यो प्रकरण तुहिनु हुँदैन् ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्गीय मन्त्री अधिकारी यो प्रकरणमा निर्दोष हुनुहुन्थ्यो भनेर बोलिसक्नुभएको छ नि भनेर सोधिएको अर्को प्रश्नमा उनले भने,‘प्रधानमन्त्रीले दोषी पत्ता लगाउनको लागि सहयोग गर्नुपर्छ । उहाँले यो प्रकरणको छानबिन गर्नको लागि शाही आयोगजस्तो एउटा आयोग बनाउनुभएको थियो । तर, अहिलेसम्म आयोगका सदस्यहरु नियुत्ती पत्रसमेत पाएका छैनन् । यो प्रकरणमा अख्तियारले छानबिन गर्छ । महालेखाले पनि खोजी गर्नुपर्छ ।’

फरक प्रसँगमा उनले पार्टीभित्र अहिले केही अन्तरविरोध देखिएकोजस्तो भएपनि पार्टीलाई मिलाएर एक ढिक्का बनाएर लैजानुपर्नेमा जोड दिए । उनले भने,‘पार्टीलाई बलियो बनाउनुपर्छ । यसको लागि पार्टी सभापतिजीले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्छ । बहुमत र अल्पमतको आधारमा होईन, एकमतले निर्णय गराउनुपर्छ ।’

राष्ट्रिय जनता पार्टी नेपालका महासचिव मनिष सुमनले स्वर्गीय रवीन्द्र अधिकारी अत्यन्तै असल नेता रहेको सुनाए । उनले भने,‘उहाँ व्यक्तिगत रुपमा धेरै राम्रो व्यक्तित्व हुनुहुन्थ्यो । मेरो उहाँसँग गत माघ १७ गते अन्तिम भेट भएको थियो । त्यो पनि विमानस्थलमा । मैले त्यो भेटमा जनकपुर एयरपोर्टमा रात्रिकालिन सेवाको लागि आग्रह गरेको थिएँ । उहाँले तत्पश्चात् उहाँले काम गर्नुभयो । उहाँ बोलेको कुरा पूरा गर्ने नेताको रुपमा चिनिनुहुन्थ्यो ।’

सुमनले आफूहरु धेरै कार्यक्रममा सँगसँगै रहेको पनि सुनाए । उनले भने,‘उहाँ र म एउटै कोठामा पनि सुतेका छौं । उहाँ विकासप्रति निकै गम्भिर हुनुहुन्थ्यो । उहाँले कहिल्यैपनि मधेशको विरोधमा बोल्नुभएन । बरु, पार्टीले हामीलाई तथानाम गाली गर्दा त्यसको विरोधमा सार्वजनिक रुपमै दुःख व्यक्त गर्नुभएको थियो ।’

सिँगो मधेश नै अधिकारीको व्यक्तित्व र विचारबाट प्रभावित बनेको सुमनले सुनाए । उनले भने,‘उहाँ विकासप्रति दुरदृष्टि राख्ने नेता हो । अत्पायुमै निधन भएकोले राष्ट्रलाई ठूलो क्षति पुगेको छ । सिँगो देशलाई यो ठूलो क्षति हो ।’ स्वर्गीय अधिकारी विलाषिताभन्दा धेरै टाढा रहेको पनि सुनाए ।

उनले थपे,‘मैले उहाँमा घमण्ड र लोभ देखेको थिईंन।’ अधिकारी पोखरामा अत्यन्तै लोकप्रिय भएको कुरा आफूले स्वयम देखेको पनि उनले सुनाए । अधिकारीको जीवन सँधै सफल रहेको उनको दाबी छ । उनले भने,‘उहाँ बेदाग भएर जानुभयो ।’

फरक प्रसँगमा उनले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिता लिएकैसरह भएको पनि स्पष्ट पारे । उनले भने,‘यो सरकारको कुनैपनि कृत्य र कु–कृत्यसँग हाम्रो कुनै साईनो छैन् । सरकार गठन गर्दा फागुन ३ गते उहाँहरु सरकारलाई समर्थन गर्नुहोस भन्दै भीक्षा माग्न आउनुभएको थियो । तर, सरकारले अहिलेसम्म हामीसँग गरेको वाचा र सहमति पालना गरेन् । अहिलेसम्म यो सम्बन्धमा कुनै नविकरण भएन् ।’

सरकारलाई दिएको समर्थन अब बस्ने पार्टीको कुनैपनि बैठकले फिर्ता लिने उनले ठोकुवा गरे । उनले थपे,‘हामी सरकारलाई दिएको समर्थन फिर्ता लिएसरह हो । तर, औपचारिक निर्णय अब बस्ने पार्टीको बैठकले लिन्छ । निर्णय फिर्ता भएपछि एक कपि राष्ट्रपतिकहाँ, एक कपी सभामुखकहाँ र एक कपी ऋषि धमलाजीलाई पनि दिन्छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *