लम्पी स्किनले शैलुङका चौँरीलाई पनि छाडेन

Sharing is caring!

साउन १४, २०८० । शैलुङको चौँरी गोठका फुर्वा तामाङको मन अहिले बेचैन छ । दूध उत्पादन हुने मुख्य सिजनमा चौँरी यसरी बिरामी पर्लान र भटाभट मर्लान भन्ने उनलाई कहिल्यै लागेको पनि थिएन् । दैव लागेको भन्नु कि दशा, फुर्वालाई अहिले महाविपत्ति आइलागेको छ । गोठका अधिकांश चौँरी बिरामी छन् । बिरामी परेको मध्ये पाँचवटा चौँरी त मरिसके । बाँकी पनि कति मर्ने हुन्, कति बाँच्ने हुन् ठेगान छैन ।

नेपाल भरि फैलिएको लम्पी स्किन रोगले शैलुङका चौँरीलाई पनि छाडेन । सो रोगका कारण फुर्वा लगायत अधिकांश किसानका चौँरी बिरामी परेका छन्। हालसम्म ३० वटा बढी चौँरी मरिसकेका राष्ट्रिय याक तथा चौँरी किसान महासंघ नेपालका महासचिव दावासंबु शेर्पाले जानकारी दिए ।

शैलुङमा अहिले चौँरीका १५ वटा गोठ छन् । ती मध्ये १४ वटा रामेछापमा छन् भने एउटा दोलखाको भूगोलमा छ । रामेछापको डडुवा र गौश्वाराको जंगलमा चौँरी गोठ छन् । दोलखाको शैलुङ्गेश्वरी गाउँपालिकामा चौँरी गोठ छ ।
अहिले १५ वटा गोठमा करिब ५ सय चौँरी रहेको अनुमान छ । ती मध्ये आधा बढी चौँरी बिरामी परेका शेर्पाले दुखेसे पोखे ।

मुख्य दूध उत्पादनको सिजनमा रोग लागेपछि दूधको उत्पादन घटेको छ । सो रोग लागेपछि दूध दिने पशुमा दूध उत्पादन घट्छ । जसले गर्दा किसानले क्षति व्यहोर्नु परेको छ ।

चौँरी बिरामी पर्दा पनि किसानले उचित रूपमा प्राविधिक र औषधि नपाएको शेर्पाले गुनासो गरे । ‘चौँरी बेँसी झर्न सक्दैन, प्राविधिक लेकको जंगलमा आउँदैनन्, हाम्रो बिरामी पशुलाई कसले उपचार गर्ने ?’, उनको गुनासो छ ।
अहिले बिरामी चौँरीलाई ग्लुकोज पानी, सक्खर पानी लगायतको घरेलु औषधि खुवाएर राखिएको शेर्पाले बताउछन् । रोग नियन्त्रणमा नआउँदा कृषकहरू थप क्षतिको भयले चिन्तित भएका उनको भनाइ छ । चौँरीलाई शैलुङको गहना नै मानिन्छ । शैलुङ घुम्न आउने मानिसहरूको प्रमुख लक्ष्य चौँरी हेर्ने हुन्छ ।

शैलुङमा उत्पादित चौँरीको घ्यू र छुर्पी काठमाडौं तथा विदेशी बजारमा समेत पुग्दछ । यहाँको घ्यू र छुर्पी व्यापारीले अग्रिम रूपमा बुकिङ गरेर लैजान्छन् । शैलुङसम्म यातायात साधन चल्ने भएपछि किसानलाई गोठसम्म दाना तथा खाद्य सामग्री लैजान निक्कै सजिलो भएको छ । जसले गर्दा चौँरी पालक कृषकको सङ्ख्या वृद्धि भएको छ । तर अकस्मात रोग लागेर चौँरी मरेपछि किसानहरू हतोत्साहित भएका छन् । ‘एउटा चौँरी मर्दा एक लाख रुपैँया क्षति हुन्छ, यो रोगले किसानलाई धेरै क्षति र्पुयायो’, शेर्पाले प्रश्न गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *