आकासियो बजारभाउ: बजेटपछि दैनिक उपभोग्य वस्तुमा कृत्रिम मूल्यवृद्धि

Sharing is caring!

जेठ २९, २०७५ । १५ जेठको बजेटपछि अधिकांश दैनिक उपभोग्य वस्तुको भाउ आकासिएको छ । उपभोक्ताहरू कृत्रिम मूल्यवृद्धिको मारले रन्थनिएका छन् । बजेटमा करको दरमा गरिएको हेरफेर र उद्योगीले पाउँदै आएको भ्याट फिर्ता खारेजीले बजार भाउ बढेको खुद्रा बिक्रेताहरूको भनाइ छ ।

तर, नियमन गर्ने सरकारी निकाय भने मूल्यवृद्धिबारे बेखबर छ । उल्टै बजार भाउ नबढेको दाबी गर्छ । ‘हामीले काठमाडौंका खुद्रा र थोक बिक्रेताहरूकोमा अनुगमन गरेका छौँ । उनीहरूसँग छलफल पनि गर्‍यौँ ।

मौज्दात सामग्रीमा कत्ति पनि मूल्यवृद्धि नगरेको मूल्यसूची नै उनीहरूले हामीलाई दिएका छन्,’ आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले भने ।

बजारमा कृत्रिम मूल्यवृद्धि गरियो
प्रेमलाल महर्जन
अध्यक्ष, राष्ट्रिय उपभोक्ता मञ्च
उत्पादक, थोक बिक्रेता र खुद्रा बिक्रेता तीनवटै पक्ष मिलेर बजारमा कृत्रिम मूल्यवृद्धि गरेका छन् । सरकारले मूल्यवृद्धि ३ प्रतिशतभन्दा बढी जान दिन्नँ भनेर गरिरहेको गृहकार्य उनीहरूले असफल पार्ने प्रयास गरिरहेका छन् । अनुगमनकारी निकायले पनि मूल्यलाई विशेष केन्द्रमा राखेर अनुगमन गरेको देखिँदैन । बजेटअघि र पछिको खाद्यवस्तुको मूल्य कस्तो छ भनेर सघन रूपमा अनुगमन गर्नुपर्ने खाँचो देखिएको छ ।

थोकबाटै बढेर आयो, हामी पनि महँगोमा बेच्दै छौँ
राजकुमार श्रेष्ठ
महासचिव, खुद्रा व्यापार संघ
१५ जेठको बजेटपछि अधिकांश खाद्यान्नको भाउ बढेको छ । बजेटमा करको दरमा गरिएको हेरफेर र उद्योगीले पाउँदै आएको भ्याट फिर्ता खारेजीले बजार भाउ बढाएको थोक बिक्रेताले हामीलाई बताउने गरेका छन् । बजेट घोषणा भएको भोलिपल्टदेखि खाद्यवस्तुको मूल्यमा असर परेको हो । हामीले महँगोमा किन्नुपरेपछि उपभोक्तालाई पनि बढेको भाउमा बिक्री गर्नुपर्छ ।

र पनि सरकार भन्छ : मूल्यवृद्धि देखिएन

-बजार अनुगमन गर्ने आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग कृत्रिम मूल्यवृद्धिबारे अनभिज्ञता जनाउँछ । पटकपटक गरिएको अनुगमनमा बजारभाउ नबढेको उसको दाबी छ ।

-‘हामीले चेम्बर अफ कमर्स, थोक बिक्रेताहरूलाई बोलाएर छलफल गर्‍यौँ, उनीहरूले मूल्य नबढाएको जानकारी हामीलाई गराएका छन्, मूल्यसूची नै दिएपछि नपत्याएर के गर्नु ?’ विभागका महानिर्देशक योगेन्द्र गौचनले भने ।

-खुद्रा पसलहरूमा अनुगमन गरिएको गौचनले बताए । त्यसक्रममा मूल्यवृद्धि भएको नपाइए पनि खरिद तथा बिक्री गर्दा बिल लिने-दिने नगरेको देखिएको गौचनले
बताए । ‘यत्तिले शंका गर्ने ठाउँ छ,’ उनले भने । यो खबर आजको नयाँ पत्रिकाबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *