कांग्रेस विधानका लागि सामाजिक सञ्जालबाट सुझाब लिइने

Sharing is caring!

भदौ १३, २०७५ । कांग्रेसको विधान मस्यौदा समितिले काम थालेको छ । आगामी ५ देखि ९ मंसिरसम्म काठमाडौंमा हुने महासमिति बैठकमा पेस गर्ने गरी समितिले मंगलबारबाट छलफल थालेको थियो । पहिलो बैठकमा सबै सदस्य उपस्थित नभए पनि मंगलबार संयोजकसहित सबै सदस्य उपस्थित बैठकले कार्यालय व्यवस्थापन र कार्यविधि पास गरेको छ ।

यसअघि ७७ वटै जिल्ला र हेटौँडामा भएको जिल्ला सभापति भेलाबाट समेत विधानका लागि सुझाब लिइएको भन्दै समितिका संयोजक पूर्णबहादुर खड्काले अब थप सुझाब माग्दै विधान मस्यौदा तयार गर्दै जाने जानकारी दिए । बुधबार समितिले कार्यतालिका बनाउने भएको छ । आएका सुझाब अध्ययन गरेर मस्यौदा तयार गर्ने आवश्यक थप सझुाब लिनेसहितका विषय समेट्दै बुधबार कार्यतालिका जारी गरिने जानकारी खड्काले दिए ।

 सामाजिक सञ्जाल र इमेलबाट पनि सुझाब दिन सकिने
विधान मस्यौदाका लागि सामाजिक सञ्जाल फेसबुक र ट्विटरबाट पनि सुझाब दिन सकिनेछ । सदस्य पौडेलका अनुसार विधान मस्यौदाका लागि धेरैभन्दा धेरैका सुझाब समेट्न र सहभागितामूलक बनाउन यस्तो विधि तय गरिएको हो । सुझाब दिन ‘इन्फोयाटनेपालीकांग्रेसडटओराजी’मा इमेल गर्न सकिने छ । त्यस्तै, कांग्रेसको आधिकारिक फेसबुक ‘नेपाली कांग्रेस’ पेजमा पनि खुला रूपमा विधानसम्बन्धी सुझाब सकिने सदस्य पौडेलले जानकारी दिए ।

 के–के परिवर्तन हुन्छन् विधानमा ?
देश संघीयतामा गए पनि कांग्रेस अहिलेसम्म पुरानै संरचनामा छ । प्रदेश समिति गठन, सदस्य, संख्या, यसको निर्वाचन प्रणाली, निर्वाचन क्षेत्र घटेपछि महाधिवेशन प्रतिनिधि चयनको विषय र सहमति हुँदा केन्द्रीय पदाधिकारी थप्नेसहितका विषयमा विधानमा संशोधन गर्नुपर्ने हुन्छ । साथै, सदस्यताको स्वरूप र वितरणको अधिकार, प्रदेश समिति निर्वाचन कसले कसरी गर्ने भन्ने विषय पनि प्रमुख छन् ।

 थपिएलान् पदाधिकारी ?
सभापति शेरबहादुर देउवा यसपटक पदाधिकारी थप गर्ने मनस्थितिमा छन् । खासगरी, पदाधिकारीको संख्या थप गरेर नेता कार्यकर्ता व्यवस्थापन गर्दै आपूmतिरै राख्ने रणनीतिस्वरूप देउवा पदाधिकारी थप गर्ने चाहनामा छन् । तर, नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूह नथप्ने पक्षमा छ । देउवाले नेता विजयकुमार गच्छदारलाई व्यवस्थापन गर्न पदाधिकारी थपको तयारी गरेको बुझिएको छ । तर, पहिले मनोनीत गर्न बाँकी उपसभापति र महामन्त्रीमा गच्छदारलाई नसमेटेपछि अब पदाधिकारी थप गर्न नहुनेमा पौडेल र सिटौला पक्ष रहेको एक केन्द्रीय सदस्य बताउँछन् । महासमितिमा प्रस्तुत भएपछि विधान दुईतिहाइले पास गर्नुपर्नेछ ।

 जिल्ला सभापति थपिन बाँकी
यसअघि पौडेल पक्षले विधान मस्यौदा समितिमा जिल्ला सभापति नसमेटिएको भन्दै असन्तुष्टि जनाएको थियो । दुवै पक्षबाट एक–एक जिल्ला सभापति समितिमा समेट्ने सहमति भए पनि अझै सदस्य थपिएका छैनन् । उनीहरूलाई स्थायी आमन्त्रित सदस्यका रूपमा राख्ने सहमति भएको थियो ।यो खबर आजको नयाँ पत्रिकाबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *