प्रधानमन्त्रीसँग कांग्रेस सशंकित

Sharing is caring!

भदौ २९, २०८० । सत्तारुढ नेपाली कांग्रेसभित्र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारविरुद्ध विस्तारै जनमत बढ्न थालेको छ। पार्टीको शीर्ष नेतृत्वलाई समेत प्रचण्डको विकल्प खोज्न विस्तारै दबाब बढ्दै गएकोे छ। प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्तिहरुले कांग्रेस भित्र शंका बढ्न थालेको छ ।

प्रधानमन्त्री प्रचण्डको पछिल्लो कदमबाट हच्किएका कांग्रेस नेताहरूले सभापति शेरबहादुर देउवालाई आफूहरूले सरकारको नेतृत्व कहिलेबाट पाउने क्लियर पार्न दबाब बढाएका हुन्। प्रचण्डले बेला बेलामा आफ्नो नेतृत्वको सरकार पाँच बर्ष टिक्ने आसयको भनाई सार्बजनिक गर्न थालेपछि कांग्रेस भित्र थप आशंका उत्पन्न भएको छ ।

प्रधानमन्त्री प्रचण्डले अराजकतालाई मलजल गरेको भन्दै कांग्रेस नेता डा। शेखर कोइरालाले सरकारको नेतृत्व आफूहरूले लिनुपर्ने बताउँदै आइरहेका छन् । उनले प्रधानमन्त्री नै सर्वेसर्वा भएकाले पार्टीले पाउने हो होइन स्पष्ट पार्न देउवालाई भनिसकेका छन्। कोइरालालाई महामन्त्री गगन थापासहित अधिकांश नेताहरूको साथ छ ।

यद्यपि, देउवाले यसबारेमा मुख नखोले पनि अधिकांश नेताहरूले अब सरकारको नेतृत्व बिस्तारै आफ्नो हातमा लिनुपर्ने पक्षमा वकालत गर्न थालिसकेका छन् ।

गठबन्धनका शीर्ष तहमा प्रचण्डपछि नेकपा एसका अध्यक्ष माधव नेपाल त्यसपछि चुनावी सरकारको नेतृत्व देउवाले गर्ने भद्र सहमति बनेको थियो । तर प्रचण्डको आफुले पाँचै बर्ष नेतृत्व गर्ने आसयको भनाई सार्बजनिक भएपछि सत्ता समीकरण भित्रका दलहरुबीच नै शंका पैदा भएको एक नेताले सौर्य दैनिककलाई बताए ।

तर, गठबन्धनमा बनेको सहमति एक वर्ष पुरा नहुँदै नेतृत्व आफैंले लिन नेतृत्वमाथि दबाब बढाउन थालिसकेका छन् । सरकारले खोलेको भ्रष्टाचारका फाइल र समाजवादी मोर्चा गठन गरेर प्रचण्डले दिएको अभिव्यक्तिप्रति कांग्रेस सशंकित छ ।

कांग्रेस नेताहरूले प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठले कांग्रेस नेताहरूलाई फसाउन खोजेको आरोप लगाउँदै आइरहेका छन्। सुन प्रकरणमा नाम जोडिएका माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरालाई जोगाएर नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवासमा आफ्ना पार्टीको नेताहरूलाई फसाउन खोजेको उनीहरूको बुझाइ छ ।

यद्यपि, ललिता निवास प्रकरणमा पक्राउ परेका पनि अदालतको आदेशपछि धरौटीमा रिहा भइसकेका छन् । तर, भ्रष्टाचारको प्रकरणहरूमा पनि आफ्ना पार्टीका नेताहरू पर्ने भएपछि सरकारले गति घटाएको कांग्रेस नेताहरूको विश्लेषण छ । कांग्रेस सांसद सञ्जय गौतम पार्टीका अधिकांश नेताहरूले सरकारको कदमले पार्टीभित्र आशंका बढेको बताए ।

स्रोतका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण र सुन तस्कारी प्रकरणमा सीआइबीले गरेको छानबिन र त्यसले माओवादीका नेताहरुलाई बचाएर अरुलाई मात्र फसाउन खोजेको आशंका समेत कांग्रेसका नेताहरुले गरेका छन् । उनीहरुले यस बिषयमा पटक पटक आन्तरिक रुपमा नेताहरुले छलफल गरेका छन् । यद्यपी यस बिषयमा कुनै निष्कर्षमा भने नपुगेको बताइएको छ। त्यसैले सभापति शेरबहादुर देउवा पनि पछिल्लो समयमा सरकारको प्रतिरक्षमा कम भएको बताइएको छ।एक नेताले भने, ‘सरकार जुन दिशामा अगाडि बढिरहेको छ। पछिल्ला राजनीतिक घटनाक्रमहरू अगाडि त्यसप्रति हामीले अहिलेको सरकारले अराजकताप्रति अघि बढ्न खोजेको हो कि भन्न डर हामी सबैको मनमा उदाएको छ। जिम्मेवारीमा बसेका प्रधानमन्त्रीको अभिव्यक्तिले हामीमाथि आशंका उत्पन्न भएको छ।’

मुलुकलाई सुशासन स्थापित गरेर राजनीतिक स्थिरताको सरकार लाग्नुपर्नेमा जिम्मेवारीमा बसेका व्यक्तिहरूको पछिल्ला अभिव्यक्तिले जनतामा थप आक्रोशको सिर्जना हुनसक्ने बताए ।

उनले भने, ‘यस्तो परिस्थितिमा पनि जनताको निराशालाई चिर्न सकेनौँ भने सरकार असफल भयो भने हामी सरकारमा हुन र नहुनुको औचित्य हुँदैन। त्यो विषयमा हामी गम्भीर छौँ। हाम्रो सहयोगमा बनाएको सरकार आफ्नो जिम्मेवारीप्रति इमानदार होस् भन्ने हाम्रो चाहना हो। जनताको कामलाई प्रभावकारी ढंगबाट अगाडि बढाउनुपर्ने बेलामा अहिले आफ्नो ढंगले हिँड्न खोजेको हो भन्ने प्रश्न उठेको छ।’

कांग्रेस संस्थापन पक्षले आलोपालो सहमति अनुसार अगाडि बढ्ने विश्वास राखेर मौन रहे पनि शेखर–गगन पक्ष सरकारप्रति आक्रोशित छ। प्रधानमन्त्रीको पाँचै बर्ष आफुले सरकारको नेतृत्व गर्ने आशयको भनाईले संस्थापन पक्ष समेत अलमलमा परेको बताइएको छ।

प्रधानमन्त्रीले समाजवादी मोर्चाको भेलालाई सम्बोधनको क्रममा आफूलाई सरकारबाट हटाए सडकमा मान्छे उतार्छु भन्दै हिँडेपछि आफूहरू झस्किएको शेखर निकट एक केन्द्रीय सदस्यले बताए।

ती नेताले भने, ‘उहाँले केही दिनअघि आलोपालो सहमतिविपरीत आफैँ पाँच वर्ष प्रधानमन्त्री हुने अभिव्यक्ति दिनुभयो। अहिले सरकारबाट हटाउन खोजे प्रधानमन्त्रीजस्तो जिम्मेवार व्यक्तिले सडकमा मान्छे उतार्छु भन्दै हिँड्नुहुन्छ। हामी त्यही कुराले झस्किएका हौँ।’

प्रधानमन्त्रीले जातियताको कुरा उठाएर समाजवाद अराजकता फैलाउन खोजेको आरोप छ।

‘समाज अराजकतातर्फ गइरहेको बेलामा उहाँ आफै हामीलाई बहुमत दिए जातियताको आधारमा प्रदेशको नाम राखिदिन्छु भन्दै विवाद बढाउनुहुन्छ। जनप्रतिनिधिले सिंहदरबारमा आगो लगाउँछु भन्ने अभिव्यक्ति दिँदा मौन बस्नुहुन्छ केही गर्न सक्नुहुन्न’ ती नेताले थपे।

ती नेताले भ्रष्टाचारको छानबिनका क्रममा पनि आफ्ना मान्छेहरूलाई संरक्षण गर्ने गरेपछि विश्वासनियतामाथि आफूहरूले प्रश्न उठाएर विकल्प खोज्ने ठाउँतर्फ उन्मुख भएको बताए।

‘एकपछि अर्को गर्दै सरकारको प्रभावकारितामाथि नै प्रश्न उठ्न थालेपछि विकल्प सोच्नेबेला आयो भनेर शेखर दाइले संकेत गर्नुभएको छ। पार्टीका बैठकमा औपचारिक रूपमा यसबारे छलफल नभए पनि अनौपचारिक रूपमा त शीर्ष तह छलफल सुरु भइसकेको छ। सम्भावनाका ढोकाहरू खुला सधैँ खुला नै छन्। सरकार प्राथमिकता छाडेर अन्यत्र लाग्न थालेपछि वैकल्पिक खोज्नु स्वभाविक हो’, ती नेताले भने।

उनले असोजको पहिलो साता बोलाइएको केन्द्रीय समितिको बैठकमा यो विषय उठ्ने बताए। त्यसो त महामन्त्री थापाले पनि सरकारले आफूहरूलाई हेपेको भन्दै नयाँ ढंगबाट सामना गर्न प्रधानमन्त्री प्रचण्डलाई यसअघि नै सदनबाटै चेतावनी दिइसकेका छन्।

नेताहरूले सरकारको विकल्प खोज्न दबाब बढाइरहे पनि प्रचार विभाग प्रमुख मीन विश्वकर्माले कांग्रेस गठबन्धनमा भएको आलोपालो सहमति अनुसार नै अगाडि बढ्ने दाबी गर्छन्।

उनले भने, ‘हामी गठबन्धनको सहमतिअनुसार नै अघि बढ्नुपर्छ भन्ने पक्षमा छौँ। नेताहरूको कुन प्रशंगमा के अभिव्यक्ति आउँछ त्यो व्यक्तिगत कुरा हो। तर, हामीजस्तो अरूले पनि सहमति तोड्नुहुन्न भन्ने विश्वास राख्छौँ।’

आलोपालो सहमति अनुसार कांग्रेसबाट प्रधानमन्त्री हुँदाँ देउवा नै प्रधानमन्त्री बन्ने निश्चित छ। तर, महामन्त्री विश्वप्रकाश शर्माले आलोपालोमा अब को प्रधानमन्त्री बन्न यकिन नभएको तर्क गर्छन्।

बिहीबार सिन्धुली पुगेका शर्माले नीति अधिवेशनबाट कांग्रेसले राष्ट्रपति एक पटक, प्रधानमन्त्री दुई पटक, मन्त्री तीन पटक र सांसद ४ पटकभन्दा बढी हुन नपाउने व्यवस्था गर्न लागेकाले अहिले निश्चित नभएको उनको भनाइ थियो ।

त्यसो त देउवासँग संसदीय दलमा लडेका अर्का महामन्त्री थापाले दलको नेता परिवर्तन गर्ने प्रयास पनि नगरेको होइनन्। तर, अहिले कांग्रेसका देउवाको पकड भएकाले दलको नेताबाट हटाउने गगनको प्रयास सार्थक हुन सकिरहेको छैन । यो खबर सौर्य दैनिकबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *