वैदेशिक रोजगारमा सिन्डिकेट: खाडी जाने कामदारबाट साढे ५ अर्ब ठगी

Sharing is caring!

साउन २७, २०७५ । वैदेशिक रोजगारका लागि खाडी मुलुक जाने कामदारबाट सिन्डिकेटका नाममा दुई दशकको अवधिमा करिब साढे ५ अर्ब रुपैयाँ ठगी भएको पाइएको छ । साउदी अरेबिया, ओमन र बहराइन गएका १२ लाख १८ हजार ४ सय ४२ जना कामदारबाट गाम्का नेपाल नामक सिन्डिकेटआबद्ध मेडिकल संस्थाहरूले सो रकम ठगी गरेका हुन् । यी तीन मुलुकमा जाने कामदारको स्वास्थ्य परीक्षणमा सिन्डिकेट खडा गरी गाम्का नेपालआबद्ध १२ मेडिकल संस्थाले कामदारबाट ठगी गर्दै आएका छन् ।

साउदीको सिन्डिकेट ओमन र बहराइनसम्म फैलियो
०७१ अघिसम्म गाम्का नेपालले साउदी अरेबिया जाने कामदारको स्वास्थ्य परीक्षणमा एकाधिकार कायम गरेको थियो । त्यसयता भने गाम्कामा आबद्ध मेडिकलले बहराइन र ओमन जाने कामदारको स्वास्थ्य परीक्षणमा समेत सिन्डिकेट विस्तार गरेका छन् । ‘गल्फ को–अपरेसन काउन्सिल’ (जिसिसी) अन्तर्गतको सम्बन्धित देशका स्वास्थ्यमन्त्री सदस्य रहेको समितिबाट स्वीकृति लिएर गाम्काले नेपालमा सिन्डिकेट खडा गरेको छ । वैदेशिक रोजगारका लागि साउदी, ओमन र बहराइन जाने कामदारबाट गाम्कामा आबद्ध मेडिकलले सरकारी नियमभन्दा बढी शुल्क लिँदै आएका छन् ।

सरकारले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षणका लागि २ सय ३५ वटा स्वास्थ्य संस्थालाई सूचीकृत गरेको छ । तर, रोजगारका लागि गल्फ मुलुकहरू साउदी अरब, बहराइन र ओमन जाने कामदारको स्वास्थ्य परीक्षणमा गाम्का नेपालका नाममा १२ वटा संस्थाको सिन्डिकेटको एकाधिकार छ ।

खारेज भनिएका संस्थाबाटै स्वास्थ्य परीक्षण
गल्फ कोअपरेसन काउन्सिल (जिसिसी) ले १७ फागुन ०७४ बाट साउदी, ओमन र बहराइन जाने श्रमिकको स्वास्थ्य परीक्षणका लागि लागू गरिएको मेडिकल सेन्टरको एसोसिएसन (गाम्का) खारेजीको घोषणा गरेको थियो । तर, खाडी राष्ट्रका लागि गराइने ‘पूर्वमेडिकल परीक्षण’का लागि गाम्काकै वेबसाइटमा अनलाइन बुकिङ गर्नुपर्ने व्यवस्था गरिएको छ । त्यसमार्फत गाम्कामा आबद्ध मेडिकलबाट मात्रै स्वास्थ्य परीक्षण गर्नुपर्ने बाध्यात्मक अवस्था अहिले पनि कायम छ ।

साउदी जाने कामदारको स्वास्थ्य परीक्षणमा गाम्का नेपालका नाममा कायम सिन्डिकेटको खारेजीको माग राख्दै नेपाल स्वास्थ्य व्यवसायी महासंघले समेत लामो समयसम्म आन्दोलन गरेको थियो । तर, त्यही महासंघका तत्कालीन पदाधिकारी प्रवीण तिवारी, कैलाश खड्कालगायतले माइग्राम्स र बायोमेट्रिक नाममा सिन्डिकेट खडा गरी मलेसिया जाने कामदारलाई ठगी गर्न लागेपछि त्यो आन्दोलन पनि सकियो । यो खबर आजको नयाँ पत्रिकामा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *