देशको राजनीति सही ट्रयाकमा आयो : प्रधानमन्त्री दाहाल

Sharing is caring!

चैत ४, २०८० । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नयाँ सत्ता गठबन्धन बनेपछि देशको राजनीति सही ट्रयाकमा आएको बताएका छन् । उनले गण्डकी प्रदेशमा पनि माओवादी केन्द्रकै नेतृत्वमा सरकार बन्ने बलियो सम्भावना रहेको खुलाए ।

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने कार्यक्रममा सहभागी हुन पोखरा पुगेका दाहालले आइतबार विहान पार्टीका अगुवा नेता–कार्यकर्तासँगको भेटमा अब कामको गतिमा परिवर्तन ल्याउन र वामपन्थी शक्तिबीच सहकार्यलाई बलियो बनाउन निम्ति नयाँ समिकरण बनाएको जिकिर गरे ।

दाहालले भने, ‘कांग्रेसबाट पटकपटक धोका भयो । कांग्रेसबाट हामीलाई भोट ट्रान्सफर हुने पनि देखिएन । सबैजसो निर्वाचनमा धोका भयो । भोलि पनि यस्तै हुने देखियो । एकातिर सरकारमा गति नआउने, अर्कोतर्फ गठबन्धनप्रति इमान्दार नहुने परिस्थितिले नयाँ गठबन्धनमा गएका हौं ।’

दाहालले गण्डकी प्रदेश सरकारको नेतृत्व माओवादीले नै पाउने बलियो आधार बनेको पनि बताए । ‘गण्डकी प्रदेश सरकारका बारेमा पनि हामी छलफल गर्दैछौँ । प्रदेशमा सरकार गठनका लागि गृहकार्यमै छौँ। त्यो टुंग्याएपछि एउटा निष्कर्षमा पुग्नेछौँ,’ दाहाल सचिवालयले जनाएको छ । प्रधानमन्त्री दाहालले माओवादीलाई सुदृढ गर्न हिमाल,पहाड तराई सबै क्षेत्रलाई समेट्ने गरी एक महिने अभियान चलाउने उल्लेख गरे ।

केन्द्रमा बनेको नयाँ गठबन्धनले संविधानको रक्षा र सुदृढीकरण सँगै वामपन्थी आन्दोलनको रक्षा गर्ने दाहाललको दाबी छ । ‘कम्युनिस्ट आन्दोलन विभाजित हुँदा राष्ट्रिय राजनीतिमा प्रतिगामी धारा बलियो हुँदै जान्छ। त्यसले व्यवस्थामाथि नै सङ्कट ल्याउँथ्यो। त्यो चुनौती पार गरिएको छ। देशका राजनीति सही बाटोमा आएको छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *