समाचार टिप्पणी : बालुवाटार बैठकका गुप्त सूचना

Sharing is caring!

चैत १८, २०८० ।  प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठकमा निरन्तर विरोध गरिरहेको छ । उसको विरोधले बैठकको नियमित कार्बाही प्रभावित पनि भइरहेको छ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम सहकारीको अनियमित आर्थिक कारोबारसँग जोडिएकाले त्यसको छानबिन गर्न माग गर्दै कांग्रेसले विरोध सुरु गरेको थियो ।

एमाले र माओवादीको उच्च नेतृत्वमा नयाँ गठबन्धन बनाउने सहमति भएपछि गृहमन्त्रीको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी पनि मिसिएर अहिलेको सरकार बनेको हो । त्यस लगत्तै कांग्रेस प्रमुख प्रतिपक्षको स्थानमा सरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल गठबन्धनको मुख्य दल एमालेको नेतृत्व र प्रमुख प्रतिपक्ष कांग्रेसको शीर्ष नेतृत्वसँग समानान्तर रुपमा संवाद अघि बढाइरहेका छन् । साथै गठबन्धनका सदस्य दलहरुसँग पनि उनले संवाद जारी राखेका छन् ।
हालैमात्र प्रधानमन्त्री दाहालले कांग्रेस सभापति शेरबहादुर देउवासँग एक्लै भेटेका छन् । दाहाल र देउवाबीचको भेटको सन्देश दुवै पक्षले गोप्य राख्न रुचाएका छन् ।

प्रधानमन्त्री दाहालले त्यसपछि एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि एक्लै संवाद गरेका छन् । यो संवादको विवरण पनि सार्वजनिक गरिएको छैन ।

शनिबार साँझ भने शीर्ष तहका तीनै जना नेता सँगै बसेर संवाद गरेका छन् । दाहालकै संयोजनमा देउवा र ओली बालुवाटार पुगेका थिए । तीन नेताबीच के विषयमा चर्चा भयो भन्ने पनि गोप्य नै राखिएको छ ।

सिलसिलाबद्ध भएका संवादहरुमध्ये तीन नेता बसेको बैठक भने प्रतिनिधि सभाको बैठक सहज बनाउने बारेमा केन्द्रित भएको अनुमान गरिएको छ । देउवा बाहेकको बैठक भने आगामी उपनिर्वाचनमा हुने सम्भावित सहकार्यमा पनि केन्द्रित रहेको बुझिएको छ ।

नेतृत्व तहमा भइरहेका भेटवार्तालाई गठबन्धनभित्र सुरु भएको खटपटको संकेतका रुपमा पनि अर्थ लगाउन थालिएको छ । कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीका केही नेताले वर्तमान गठबन्धनको निरन्तरतामाथि धावा बोल्दै चाँडै नयाँ गठबन्धनको सरकार बन्ने भविष्यवाणी गरेकाले प्रधानमन्त्री दाहाल बढी छटपटीमा परेको बताइन्छ । कांग्रेस नेता शेखर कोइरालाले त आफ्नो पार्टी र एमालेबीच सहकार्य हुने दाबी नै गरेकाले राजनीतिक वृत्त बढी तरंगित हुन पुगेको हो ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपति शमशेर राणाले शनिबार पत्रकारहरुसँग वर्तमान गठबन्धन बढीमा चार महिनामात्र टिक्ने घोषणा गरिदिए । कांग्रेसका महामन्त्रीहरु पनि यही सन्देश दिइरहेका छन् ।

गठबन्धनमै रहेको एकीकृत समाजवादी पनि सन्तुष्ट नरहेको सन्देश प्रवाह गरिरहेको देखिन्छ । अध्यक्ष माधवकुमार नेपाललाई आलोपालो प्रधानमन्त्री बनाउने उधारो आश्वासन मात्र दिइएको भन्दै एकीकृत समाजवादी असन्तुष्ट देखिन्छ । अध्यक्ष नेपालले गठबन्धन बन्दैगर्दा आफूलाई आलोपालो प्रधानमन्त्री बनाउने कुरा मौखिक आश्वासनले मात्र नहुने भन्दै लिखित सहमतिको माग गरेका थिए । तर भित्री रुपमा एमाले अध्यक्ष यस कुरामा सहमत नभएकाले नेपाललाई लिखित सहमति दिन सम्भव नभएको बुझिएको छ । यही विषयमा छलफल गर्न एकीकृत समाजवादी आफ्ना नेतृत्व तहमा निरन्तर छलफलमा व्यस्त छ ।

आफ्नो परिवारका सदस्य नारायण दाहाललाई राष्ट्रिय सभाको अध्यक्ष बनाउनमात्र कांग्रेससँगको सहकार्य तोडेर एमालेसहितका दलहरुसँग नयाँ गठबन्धन बनाउन अग्रसर भएका प्रधानमन्त्री दाहाल यतिबेला भने बिलखबन्दमा परेको देखिन्छ । हेटौंडाको सभामा ‘नयाँ उथलपुथल गर्छु’ भनेर आएको दाहालको अभिव्यक्ति तनावको उपज हो भनेर अर्थ लाउन थालिएको छ ।
उपनिर्वाचनसहित ताजा राजनीतिक घटनाको समीक्षा गर्न कांग्रेसले आगामी मंगलबार केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ । यो बैठकमा राजनीतिक विकासक्रमको प्रतिबिम्व प्रकट हुने सम्भावना देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *