नयाँ मन्त्रिपरिषद् २० सदस्यीय, कसलाई कुन मन्त्रालय ?

Sharing is caring!


फागुन २३, २०८० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार एमालेका ८, माओवादी केन्द्रका ५, राष्ट्रिय स्वतन्त्र पार्टीका ४ र एकीकृत समाजवादीका २ गरी मन्त्रिपरिषद् २० सदस्यीय भएको छ ।

दाहालले माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री, वर्षमान पुन अर्थमन्त्री, शक्तिबहादुर बस्नेत ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि र हितबहादुर तामाङलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनाएका छन् ।

सरकारमा एमालेको नेतृत्व गर्ने सचिव रघुवीर महासेठ उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री रहनेछन् । त्यस्तै पदम गिरी कानुन, न्याय तथा संसदीय मामिला, हरि उप्रेती रक्षा, भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राजेन्द्र राईले खानेपानी मन्त्रालय सम्हाल्ने छन् भने दामोदर भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति, ज्वालाकुमारी साहले कृषि तथा पशुपक्षी र बलराम अधिकारीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सम्हाल्ने छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका छन् भने डीपी अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद र सुमना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेकी छन् ।
एकीकृत समाजवादीबाट भानुभक्त जोशी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र धनबहादुर बूढा सहरी विकास मन्त्री बनेका छन् । मन्त्रीहरुले बुधबार साँझ पद तथा गोपनीयताको शपथ लिँदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *