गृहमन्त्रीमाथि संसदीय छानबिन समिति गठन हुनैपर्ने कांग्रेसको निर्णय

Sharing is caring!

चैत २७, २०८० । नेपाली कांग्रेस संसदीय दलको बैठकले सहकारीको रकम अपचलनमा संलग्न भनिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने माथि संसदीय छानबिन समिति गठन हुनैपर्ने सर्वसम्मत निर्णय गरेको छ । मंगलबार ल्होत्से हलमा बसेको बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले लामिछानेमाथि संसदीय छानबिन समिति गठन तत्काल हुनुपर्ने मागलाई संसदीय दलले स्वीकृत गरेको बताए ।

‘सहकारीको रकम दुरुपयोग, हिनामिना र ठगी गर्ने कार्यमा सरकारमा वहाल रहेका मन्त्री समेत संलग्न रहेको तथ्य र घटनाहरु सार्वजनिक भई सकेका छन् । नेपाली कांग्रेसले लामो समयदेखि गृहमन्त्री रवि लामिछाने सहकारी रकम अपचलनमा संलग्न रहेको विषय उठाउँदै आएको छ । कांग्रेस संसदीय दलको यो बैठक वर्तमान सरकार सहकारीबाट पीडित भएका लाखौं नागरिक प्रति गम्भीर र संवेदनशील हुन नसकी गैरजिम्मेवार भएको ठहर गर्दछ ।’

गृहमन्त्रीमाथि संसदीय समिति गठन गरी छानबिन गर्नुपर्ने माग पूरा नभए संसद अवरोध कायमै राख्ने अड्डी राखेको कांग्रेसले त्यसले संसदको कामकारवाही प्रभावित हुने र जिम्मेवारी नलिने चेतावनी सरकारलाई दिएको छ ।
कांग्रेस निणर्यमा थप भनिएको छ, ‘बैठक नेपाली कांग्रेसले मन्त्री नै संलग्न सहकारी रकम अपचलन अपराधको स्वतन्त्र, निष्पक्ष र विश्वसनीय छानविनको सुनश्चितताको लागि संसदीय समिति गठन गर्न उठाएको मागलाई उचित ठहर गर्दछ । साथै यो बैठक तत्काल संसदीय छानविन समिति गठन गर्न सरकारसँग माग गर्दछ । यस विषयमा सरकार गम्भीर नभएमा संसदको बैठक वा कुनै पनि कामकारवाही प्रभावित हुने विषयमा सरकार नै जिम्मेवार हुने ठहर गर्दछ ।’

यस्तै, आजकै बैठकले संघीय संसदका समितिहरुमा महत्वपूर्ण विधेयकहरु विचाराधिन रहेकाले समितिमा रहेका आफ्ना सांसदहरुलाई सम्बन्धित समितिको बैठकमा अनिवार्य रुपले उपस्थित हुन, विधेयक लगायत समितिमा छलफलमा रहेका विषयमा भाग लिन र जिम्मेवार एवं प्रभावकारी रुपले प्रस्तुत हुन निर्देशन दिएको छ ।

साथै,पछिल्लो समय समाजमा धार्मिक सद्भाव भड्किने गतिविधि भैरहेको प्रति सजगता अपनाउनुपर्नेमा जोड दिँदै कांग्रेसले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र एकता कायम गर्न सबैलाई अपिल पनि गरेको छ ।

मंगलबारकै कांंग्रेस संसदीय दल कार्यसमितिकोे बैठकले भोली (चैत्र २८) हुने राष्ट्रिय सभा उपाध्यक्ष पदको निर्वाचनमा कांग्रेसको तर्फबाट राष्ट्रिय सभा सदस्य विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाउने निर्णय पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *