ट्राफिक जरिवाना विवादपछि मन्त्री महावीर पुनको घोषणा, एक वर्षसम्म अन्तर्वार्ता नदिने

hitkhabar.com


काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले ट्राफिक जरिवानासम्बन्धी आफ्नो अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा उत्पन्न विवादपछि अब एक वर्षसम्म कुनै पनि युट्युबर, सामाजिक सञ्जाल सञ्चालक वा पत्रकारलाई अन्तर्वार्ता नदिने घोषणा गरेका छन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको वक्तव्यमा मन्त्री पुनले आजदेखि अत्यन्तै सार्वजनिक महत्वका विषयबाहेक आगामी एक वर्षसम्म कुनै पनि सञ्चारमाध्यम वा सामाजिक सञ्जालका पत्रकारसँग एक शब्द पनि अन्तर्वार्ता नदिने निर्णय गरेको बताएका छन्।

उनले केही दिनअघि ट्राफिक जरिवानासम्बन्धी विषयमा अन्तर्वार्ताका क्रममा आफूलाई पर्याप्त जानकारी नभएको बताउँदाबताउँदै पनि सोही विषयमा बारम्बार प्रश्न सोधिएको दाबी गरेका छन्। आफूले ‘ट्राफिक नियम अटेर गर्नेलाई जरिवाना हुनुपर्छ’ भन्ने आशय मात्र व्यक्त गरेको तर ‘५० हजार रुपैयाँ जरिवाना’ भन्ने अभिव्यक्ति आफूले नदिएको उनको भनाइ छ। उक्त रकमको प्रसंग अन्तर्वार्ता लिने पक्षबाट आएको दाबी पनि उनले गरेका छन्।

मन्त्री पुनले ट्राफिक नियम उल्लंघन गर्ने तथा अन्य अपराधमा संलग्न हुने व्यक्तिलाई आवश्यक जरिवाना र कानुनी सजाय नदिए समाजमा गलत प्रवृत्ति बढ्ने उल्लेख गर्दै कानुनको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताएका छन्। साथै, ट्राफिक नियम पालना गर्ने विषयमा सबैले आत्मसमीक्षा गर्नुपर्ने उनको आग्रह छ।


प्रतिक्रिया