काठमाडौं । नेपालको निजी क्षेत्रको अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेडले स्थापनाको ४२ वर्ष पूरा गर्दै ‘बैंकिङ एन्ड बियोन्ड’ अवधारणासहित नयाँ यात्राको घोषणा गरेको छ। बैंकले परम्परागत बैंकिङ सेवाभन्दा माथि उठेर प्रविधिमैत्री, समावेशी र भविष्यमुखी वित्तीय सेवा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको हो।
४२औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीले विगत चार दशकदेखि नबिल बैंकको सबैभन्दा ठूलो सम्पत्ति ग्राहकको विश्वास रहेको उल्लेख गर्दै अबको यात्रा कृत्रिम बौद्धिकता (एआई) को नेतृत्वमा अघि बढ्ने बताए।
उनले नबिल बैंकले नेपालको पहिलो निजी वाणिज्य बैंकका रूपमा आधुनिक बैंकिङको सुरुआत गरेको, ‘एनबैंक (nBank)’ एपमार्फत डिजिटल बैंकिङलाई नयाँ उचाइमा पुर्याएको तथा अहिले एउटै वित्तीय समूहअन्तर्गत वाणिज्य बैंकिङ, इन्भेष्टमेन्ट बैंकिङ, स्टक ब्रोकर, मर्चेन्ट बैंकिङ, क्यापिटल मार्केट र डिजिटल बैंकिङ सेवा उपलब्ध गराइरहेको बताए।
अध्यक्ष चौधरीले अब एआईलाई बैंकिङ सेवाको केन्द्रमा राख्दै द्रुत कर्जा प्रवाह, उत्कृष्ट जोखिम व्यवस्थापन, व्यक्तिगत ग्राहक अनुभव, वित्तीय समावेशीकरण र साइबर सुरक्षालाई अझ सुदृढ बनाइने जानकारी दिए। प्रविधिको विकाससँगै मानवीय मूल्य र विश्वासलाई पनि उत्तिकै प्राथमिकता दिइने उनको भनाइ थियो।
यस्तै, बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवालीले सन् १९८४ मा सुरु भएको नबिल बैंकको यात्रा आज लाखौँ ग्राहकको विश्वास र हजारौँ कर्मचारीको समर्पणका कारण सफल भएको बताए। उनले नबिल बैंक केवल बैंकिङ सेवा दिने संस्था नभई ग्राहकको सपना र सफलताको यात्रामा साझेदार रहेको उल्लेख गरे।
बैंकले नेपालको आर्थिक विकासमा रणनीतिक क्षेत्रलाई प्राथमिकता दिँदै कृषि क्षेत्रमा ५३ अर्ब ३१ करोड, ऊर्जा क्षेत्रमा ५१ अर्ब ६ करोड, लघु, घरेलु, साना तथा मझौला उद्योगमा ४५ अर्ब ९२ करोड तथा पर्यटन क्षेत्रमा ११ अर्ब १० करोड रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको जनाएको छ।
वित्तीय सूचकांकमा पनि नबिल बैंकले उल्लेखनीय प्रगति गरेको छ। आर्थिक वर्ष २०४१/४२ मा २ करोड ८० लाख रुपैयाँ रहेको नेटवर्थ चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म ७० अर्ब ८३ करोड पुगेको छ भने खुद नाफा १० लाख रुपैयाँबाट बढेर ६ अर्ब ७६ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ।
त्यसैगरी बैंकको निक्षेप १४ करोड ६० लाख रुपैयाँबाट बढेर ५ खर्ब ८८ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह १३ करोड ३० लाख रुपैयाँबाट ४ खर्ब ६४ अर्ब १० करोड रुपैयाँ पुगेको छ। कुल सम्पत्ति ७ खर्ब १८ अर्ब ४२ करोड रुपैयाँ पुगेको बैंकको तथ्यांक छ।
हाल नबिल बैंकले देशभर २६४ शाखा, ३१५ एटीएम, १८ एक्सटेन्सन काउन्टर तथा २ हजार ४६९ कर्मचारीमार्फत २६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।
वार्षिकोत्सवको अवसरमा बैंकले ४२ दिनसम्म विशेष ग्राहक-केन्द्रित योजना पनि सार्वजनिक गरेको छ। हेटौँडा र वीरगञ्जका सडक विस्तारबाट प्रभावितका लागि सहुलियतपूर्ण ‘पुनःनिर्माण घर कर्जा’ योजना ल्याइएको छ भने लकर सेक्युरिटी डिपोजिटमा ४२ प्रतिशत छुट, इ–पेमेन्ट गेटवे (ईपीजी) इन्टिग्रेसन शुल्कमा ५० प्रतिशत छुट, क्रेडिट कार्ड आवेदन तथा सदस्यता शुल्कमा विशेष सहुलियत र वार्षिकोत्सवकै दिन आवेदन दिने ग्राहकलाई चार वर्षसम्म डेबिट कार्ड सुविधा उपलब्ध गराइने बैंकले जनाएको छ।
चार दशकभन्दा बढी समयदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको नबिल बैंकले पछिल्लो समय दिगो बैंकिङ र डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राख्दै ‘एनबैंक’मार्फत आधुनिक बैंकिङ सेवा विस्तार गर्दै आएको छ।