नेपालगञ्ज तनावग्रस्त

Sharing is caring!

असोज १७, २०८० । नेपालगञ्ज मंगलबार दिनभरि तनावग्रस्त भएको छ । दुई समुदायका बीचमा झडपको स्थिति आएपछि नेपालगञ्ज तनावग्रस्त भएको हो । स्थितिलाई सामान्य पार्न स्थानीय प्रशासनले अनिश्चितकालीन कफ्र्यु लगाएको छ । दिउँसो १ बजेदेखि नेपालगञ्जमा कफ्र्यु लगाइएको हो । पूर्वमा राप्ती नदी, पश्चिममा इन्द्रपुर गेट, उत्तरमा राँझाचौक र दक्षिणमा जमुनाहासम्म कफ्र्यु लगाइएको छ ।

कफ्र्युका बाबजुद दुई समुदायका ठूलो संख्या सडकमा निस्केपछि स्थिति तनावग्रस्त भएको थियो । नेपालगञ्जको टाँगा स्टेसन, बीपीचोक आसपासमा ढुंगा हानाहान भएको थियो । सो क्रममा तीन जना प्रहरी र सात जना अन्य घाइते भएका छन् । प्रहरीले स्थितिलाई सामान्य गर्न हवाई फायर र अश्रुग्याँस प्रहार गरेको थियो ।
सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीका अनुसार, थ्रीनटथ्रीबाट तीन राउन्ड, एसएलआरबाट १२ राउन्ड र इन्सासबाट १६ राउन्ड हवाई फायर तथा ४० राउन्ड अश्रुग्याँस हानिएको थियो । प्रदर्शनकारीले सडकमा टायर बालेका थिए । नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो संख्या बिहानैदेखि नेपालगञ्जमा खटिएको थियो । स्थिति उग्र भइरहेपछि नेपाली सेना पनि परिचालन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी केसीले ५५ जना नेपाली सेना परिचालन गरेको जानकारी दिनुभयो ।

यो अवस्था आउन नदिन बिहान नेपालगञ्जमा सद्भाव ¥याली निकालिएको थियो । धर्म गुरु, प्रदेश सांसद, जनप्रतिनिधि, राजनीतिज्ञ, प्रहरी प्रशासन प्रमुख, नागरिक समाजका अगुवाको उपस्थितिमा बिहान सद्भाव ¥याली निकालिएको थियो । बीपीचोकबाट शुरू भएको ¥याली धम्बोझीचोकमा पुगेर समापन भएको थियो । नेपालगञ्जका मेयर प्रशान्त विष्ट, हिन्दु धर्मगुरु एवं बागेश्वरी मन्दिरका मूल महन्त चन्दननाथ योगी, मुस्लिम धर्मगुरु अब्दुल जब्बार मन्जरीले सम्बोधन गर्दै नेपालगञ्ज धार्मिक एवं सद्भावको शहर भएकाले यहाँ मिलेर बसेका समुदायका बीचमा अझ प्रगाढ सम्बन्ध बनाउनुपर्ने बताएका थिए ।

नेपालगञ्जमा यो स्थिति आउनुको कारण भने ठूलो छैन । असोज ११ गते एक जना युवाले सामाजिक सञ्जालमा मुस्लिम समुदायका बारेमा भ्रमपूर्ण स्टाटस लेखेको कुरा र त्यसलाई काउन्टर गर्न मुस्लिम युवाले लेखेको स्टाटसले यो स्थिति गराएको हो । स्टाटसलाई लिएर मुस्लिम समुदायले सोमबार नेपालगञ्जमा ठूलो प्रदर्शन गरे । सडकमा आगो बाले । त्यसै प्रकारको आएको मुस्लिम युवाको स्टाटसलाई लिएर ओमकार परिवार हिन्दु समाजले मंगलबार नेपालगञ्ज बन्दको आह्वान गरेको थियो । दुवै समुदायलाई चित्त बुझाउन बिहान सद्भाव ¥याली निकालियो । त्यसका बाबजुद नेपालगञ्जमा स्थिति बिग्रियो ।
पछिल्लो समयमा देशका विभिन्न भागमा साम्प्रदायिक दंगा गराउने चलखेल भइरहेको छ । सामान्य कुरालाई ठूलो बनाएर समुदाय–समुदायका बीचमा लडाउने प्रयत्न भएको छ । चाहे त्यो पूर्वीको सिराहा होस् या धरान, समुदायका बीचमा फाटो ल्याउने प्रयास भइरहेको छ ।

नेपालगञ्ज विभिन्न समुदाय र धर्मावलम्बी मिलेर बसेको शहर हो । यहाँ पचास मिटरको फरकमा मन्दिर, मस्जिद, गुरुद्वारा, गुम्बा र चर्च भेटिन्छ । सदियौंदेखि मिलेर बसेको समुदायमा बेलाबेलामा यस्ता चलखेल भइरहेको हुन्छ । स्थानीय प्रशासनले धर्म र समुदाय जोडेर स्टाटस लेख्नेलाई समातेर कारबाही गरेको भए स्थिति यस्तो आउँदैनथ्यो । यसमा प्रशासन चुकेको छ । यो खबर नेपाल समाचारपत्रबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *