मापदण्डविपरीतका कस्मेटिक बेचे तीन महिना कैद

Sharing is caring!

असार २७, २०७६ । मापदण्डविपरीतको गुणस्तरहीन लिपिस्टिक बिक्री गर्न र आयात गर्न नपाइने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको गुणस्तर तथा नापतौल विभागले तयार पारेको लिपिस्टिक, स्किन क्रिम र स्किन लोसनको मापदण्ड तयार गरी गुणस्तरहीन लिपिस्टक वितरण गर्नेलाई तीन महिना कैदको व्यवस्था गरेको हो ।

हालै बसेको बैठकले नेपाल गुणस्तर परिषद्ले सो मापदण्ड स्वीकृत गरेको हो । बजारमा स्वास्थ्यलाई हानी पुग्ने कमसल कस्मेटिक सामान बिक्री हुने गरेको फेला परेपछि त्यसलाई नियन्त्रण गर्नका लागि विभागले मापदण्ड तयार गरेको हो । विभागका अनुसार स्वीकृत मापदण्डविपरीत र मापदण्डभन्दा बढी परिमाणमा रसायन मिसाइएको गुणस्तरहीन लिपिस्टिक, स्किन क्रिम र स्किन लोसन बिक्री गरे व्यापारीलाई तीन महिनाको कैदसहित पाँच हजार जरिवाना गराउने व्यवस्था गरिएको छ ।

महिलाले सौन्दर्य प्रशोधनको रूपमा प्रयोग गर्ने लिपिस्टिक, स्किन क्रिम र स्किन लोसनमा लिड (सिसा), मर्करी (पारो) र क्याडमियम, क्रोमियम र आर्सेनिकको मात्रा अत्याधिक भेटिएपछि विभागले मापदण्ड तयार पारी स्वीकृत गराएको हो ।
विभागले स्किन क्रिम र लोसनको ३४ र लिपिस्टिकको १९ वटा नमूना संकलन गरेको थियो । जसमध्ये स्किन क्रिम तथा लोसनतर्फ ३४ नमूनामध्ये तीनवटामा ७० पीपीएमसम्म लिडको मात्रा (अत्याधिक), तीन नमूनामा मर्करीको मात्रा १३ हजार ९ सय ५४ पीपीएम र पाँच नमूनामा क्रोमियमको मात्रा ५३ पीपीएम भेटिएको थियो ।
यस्तै, १९ वटा लिपिस्टिकको नमूनामध्ये एक नमूनामा लिडको परिमाण ३५ पीपीएम, ६ नमूनामा क्याडमियमको मात्रा ४ सय २९, पाँच नमूनामा मर्करीको मात्रा १ सय ९६ र सात नमूनामा क्रोमोयिमको मात्रा १ सय ५ पीपीएम भेटिएको थियो ।
यस्तो क्रिम र लिपिस्टिकमा अत्याधिक परिमाणमा प्रयोग हुने रसायनका कारण छालालाई असर पर्नुका साथै मस्तिस्क, स्नायु प्रणाली, छालामा दाग आउने, मुटुरोग, कलेजो रोग, हाड क्षय, उच्च रक्तचाप, फोक्सो, मृगौला र कलेजो क्यान्सरसम्म निम्त्याउने जोखिम हुन्छ ।
विश्व स्वास्थ्य संगठनले मर्करीको मात्रा अधिकतम एक पीपीएम, आर्सेनिकको मात्रा तीन पीपीएम, लिडको मात्रा १० पीपीएम र क्याडमियमको मात्रा तीन पीपीएम तोकेको छ । विभागले स्वीकृत गरेको मापदण्डअनुसार स्किन क्रिममा लिडको मात्रा प्रतिकिलोमा अधिकतम १० पीपीवी, आर्सेनिकको मात्रा प्रतिकिलोमा ३.०, मर्करीको मात्रा प्रतिकिलोमा १.०, क्याडमियमको मात्रा प्रतिकिलोमा ३.० पीपीवी हुनुपर्ने तोकेको छ ।
यस्तै, स्किन लोसनका लागि लिडको मात्रा १०, आर्सेनिकको मात्रा ३.०, मर्करीको मात्रा १.० र क्याडमियमको मात्रा प्रतिकिलोमा ३.० पीपीवी तोकेको छ ।
त्यस्तै, लिपिस्टिकमा लिडको मात्रा १०, आर्सेनिकको मात्रा ३.०, मर्करीको मात्रा १.० र क्याडमियमको मात्रा प्रतिकिलोमा ३.० पीपीवी तोकेको छ । यो खबर कारोबारबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *