‘गोप्य निर्णयको अभ्यासले जनता र सदनबीच दुरी बढ्यो’

Sharing is caring!

माघ २३, २०८० । पूर्वसभामुख ओनसरी घर्ती मगरले जनता र संसदहरुबीच खाडल बन्दै गएको बताएकी छन् । अभ्यासमा संघीय लोकतान्त्रिक गणतन्त्र विषयक राजधानीमा मंगलबार भएको गोष्ठीमा उनले संसदमा अपारदर्शी वा गोप्यरुपमा निर्णयहरु हुने अभ्यास भइरहेको भन्दै यसले जनता र सदनबीच दूरी बढाउदै गएको बताइन् ।

उनले भनिन्, ‘संसद बढीभन्दा बढी नीति निर्माण गर्ने तह भएको हुनाले यसलाई प्राथमिकता दिनु पर्छ । किनभने त्यहाँ जनताको प्रतिनिधित्व हुन्छ । तर, जनता र संसदहरुबीच खाडल बन्दै गएको जस्तो देखिन्छ । हाम्रो संसदमा जुन अभ्यास भइरहेको छ, सरकार र अन्य निकायले के गर्छ भन्ने कुरा जनतासँग लुकाउनुपर्ने किन हुन्छ ? यो जनताको शासन चलेको देश हो । किन अपारदर्शी तरिकाले वा गोप्यरूपमा निर्णयहरु हुने काम किन गर्ने ?’

सदनमा युवाहरुको नयाँ रचनात्मक विचारहरु आउनुपर्ने भन्दै उनले संसदमा सुधार गर्नुपर्ने र कानुन बनाउने धेरै काम रहेको बताइन । व्यवस्था सही छनोट गरेको भन्दै यसमा आवश्यक वैचारिक बहस र छलफल केन्द्रीत नगर्दा विभिन्न प्रकारका विकृतिहरु आएको उनको भनाइ छ ।

उनले भनिन्, ‘हामीले व्यवस्था सही छनोट गरेका छौं र यो व्यवस्था सही छ । यसको कार्यान्वयनमा हामीले उपयुक्त, आवश्यक वैचारिक बहस र छलफल केन्द्रीत नगर्दा विभिन्न प्रकारका विकृतिहरु पनि जन्मिएका छन् । जसका कारण प्रभावकारी कार्यान्वयन हुन सकेन, अब त्यसका लागि यस्ता बहस गर्न जरुरी छ । यसको साथै हामीले गर्दै आएको कार्य प्रणालीहरुमा पुनर्विचार पनि गर्नु पर्छ ।’

गणतान्त्रिक शासन व्यवस्थानमा भइरहेका अभ्यासका लागि बाधक भएका विषयमा राजनीतिकर्मी गम्भीर हुनुपर्ने उनले सुझाइन । ‘हामीले व्यवस्था बदलियौ तर जनताको अवस्था किन परिवर्तन हुन सकेन भन्ने प्रश्न उठिरहेको छ ।

यसको सही निष्कर्ष के हुन सक्छ र यसको सही जवाफ के हुन सक्छ भन्ने खोजीलाई केन्द्रविन्दुमा राखेर यो बहस चलिरहेको छ,’ उनले भनिन् संविधानमा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशी प्रतिनिधित्व, सामाजिक न्याय जस्ता आधारहरु निर्धारणसँगै कार्यान्वयन भएको उनले बताइन । यसबारे असन्तुष्टलाई बुझाउनुपर्ने उनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *