सुन तस्करीका मुख्य अभियुक्त गोरे सार्वजनिक

Sharing is caring!

जेठ ८, २०७५ । साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त ठानिएका चुडामणि उप्रेती ‘गोरे’लाई गृह मन्त्रालयमा सार्वजनिक गरिएको छ ।

नेपाल सरकारको २०७४ चैत २० गतेको मन्त्रिपरिषद्को निर्णय र संगठित अपराध ऐन २०७० को दफा १२ अनुसार सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित विशेष अनुसन्धान टोलीले गोरेलाई पक्राउ गरी पत्रकार सम्मेलनमार्फत आज सार्वजनिक गरेको हो ।

साढे ३३ किलो सुनका मुख्य अभियुक्त गोरे फरार भएपछि नेपाल र छिमेकी मुलुक भारतमा गरिएको अनुसन्धानबाट उनी काठमाडौँ आएको सूचनाका आधारमा आज बिहान ५ः३४ मा काठमाडौँ महानगरपालिका– ८ गौरीघाटबाट पक्राउ गरिएको संयोजक पौडेलले जानकारी दिनुभयो ।

यसअघि भारतबाट पक्राउ गरिएको भनिए पनि अनुसन्धान टोलीले गौरीघाटबाट पक्राउ गरिएको जानकारी दिएको छ ।

यस प्रकरणमा विसं २०७५ वैशाख १९ गते मोरङ जिल्ला अदालतमा ६५ जनाको नाममा मुद्दा दर्ता गरिएकामा ३२ जनालाई अदालतमा उपस्थिति गराइसकिएको र अरु ३३ जना अहिलेसम्म पनि फरार रहेको पौडेलले बताउनुभयो । “गोरेलाई चाँडोभन्दा चाँडो मोरङ जिल्ला अदालतमा उपस्थित गराइने छ” – उहाँले भन्नुभयो ।

संयोजक पौडेलले घटना जेरीजस्तै जेलिएकाले गम्भीर रुपमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो । “यी अभियुक्तबाहेक अन्य विषयमा पनि सूचना प्राप्त भएको छ, हामी चाँडै नै अरु अभियुक्तलाई पनि सार्वजनिक गछौँ” – उहाँले भन्नुभयो ।

अनुसन्धानका लागि गठित टोलीलाई ४५ दिनको म्याद दिइए पनि टोलीले अनुसन्धान पूरा गरी नसकेकाले सरकारले टोलीको म्याद जेठ मसान्तसम्मका लागि थप गरेको छ ।

संयोजक पौडेलले सुन काण्डका मुख्य अभियुक्त गोरे समातिएकाले गोरेसँगको बयानबाट थप अनुुसन्धान गरिने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *