गठबन्धनलाई नेता रिजालको कटाक्ष : जय नेपाल भनेको लाल सलाम हो ?

Sharing is caring!

माघ २३, २०८० । नेपाली काग्रेसका नेता डा.मीनेन्द्र रिजालले सत्तारुढ गठबन्धनले प्रधानमन्त्री फेर्ने बाहेकको काम गर्न नसक्ने बताएका छन् । जनताको मतबाट सरकार परिवर्तन हुने अवस्था नभएको भन्दै उनले गठबन्धन सरकार बन्ने संस्कृति अन्त्य गर्न मिश्रित निर्वाचन प्रणाली नै फेर्नुपर्नेमा जोड दिएका छन् ।

‘अभ्यासमा संघीय लोकतान्त्रिक गणतन्त्र’ विषयमा राजधानीमा मंगलबार आयोजित गोष्ठीमा नेता रिजालले एकअर्काको अभिवादनको अर्काको होइन आफ्नै हो भनेर नारा लगाएर चुनाव जितेका पार्टीहरूबाट धेरै आशा गर्न नसकिने बताए ।

उनले अहिलेको गठबन्धनले ५ वर्षका लागि सम्झौता भएको भन्दै एमालेले फकाउन नसके प्रधानमन्त्री फेर्नु बाहेकको नयाँ काम हुन नसक्ने उल्लेख गर्दै गठबन्धनका शीर्ष नेताले सत्ताबाहेक अरु सत्य नदेखेको आरोप लगाए ।
‘मलाइ गठबन्धनको बारेमा झगडा त गर्नु छैन । जय नेपाल भनेको लाल सलाम र लाल सलाम भनेको जय नेपाल हो भनेर नारा लगाएर हामी चुनाव जितेका पार्टी हौं नि त । त्यो भन्दा खराब के होला ?,’ उनले भने, ‘ओनसरी घर्ती भनेको मिनेन्द्र रिजाल हो, मिनेन्द्र रिजाल भनेको घनश्याम भुसाल हो भनेर चुनाव लडेर बनाएको गठबन्धन हो ।’

गठबन्धन संस्कृतिले परिवर्तन ल्याउन नसक्ने जिकिर उनले गरे । ‘अब हामीले ५ वर्षका लागि सम्झौता गरेका छौं । पृथ्वीसुब्बा गुरुङले झुक्क्याउन, फकाउन, लोभ्याउन सक्नुभएन भने प्रधानमन्त्री फेरेको फे¥यै गर्छौं बाँकी काम गर्नुपरेन । किनभने हिजो पनि भोट घट्दा सरकारमा पुग्ने बाटो थियो भने आज यता किन हेर्नुपर्यो,’ उनले सत्ता गठबन्धनलाई कटाक्ष गरे ।

‘बालुवाटारको बैठकमा बसेर अर्को नेतासँग कुरा मिल्यो भने सत्ताबाट कसैले निकाल्न सक्दैन नि । पाँच वर्ष गठबन्धनलाई गजब साथ चलायौं भने अनि फर्केर आएर के भन्ने ? फेरि जय नेपाल भनेको लाल सलाम हो लाल सलाम भनेको जय नेपाल हो त्यही त भन्ने हो,’ उनले भने, ‘त्यो भनेको मलाइ प्राप्त भएको सत्ताबाहेक बाँकी सत्य छैन । किनभने गठबन्धन बनाएर चुनाव लड्यौं, प्रधानमन्त्री को हुने थाहा थिएन ।’

गोष्ठीमा सहभागी कतिपय वक्ताले अहिलेको निर्वाचन प्रणाली बदल्न नहुने धारणा राख्दा नेता रिजालले भने, ‘निर्वाचन प्रणाली बदल्नै हुँदैन भन्ने कुरा आएको छ । त्यै एउटा चाहिँ बदल्नु पर्छ । निर्वाचन प्रणाली नबदलेसम्म गठबन्धन बनिरहन्छ ।’ उनले जनमतले मात्रै अहिलेको अवस्थामा एकल बहुमत ल्याएर कुनै पनि राजनीतिक दलले सरकार चलाउन सक्ने अवस्थामा नभएको दृष्टान्त उल्लेख गर्दै कांग्रेसले एक्लै चुनाव नलड्ने बताए ।

‘अहिलेको अवस्थामा न एमालेले न हामीले एक्लै बहुमत ल्याउन सक्छौं, न एक्लै हामी चुनाव लड्छौं । एक्लै चुनाव लड्नुको परिणाम अघिल्लो पटक २३ सिट देखिसकेका छौं । तर, निर्वाचन प्रणालीलाई नबदल्ने हो भने हामी सरकार चलाउँदैनौ । जनताको मतबाट सरकार परिवर्तन नहुने ठाउँमा हामी पुगेका छौं । ६–७ प्रतिशत जनता एउटा पार्टीबाट अर्कोमा गयो भने सिंहदरबारमा शासन गर्ने मान्छे परिवर्तन नहुने हो भने शासन ठिक बाटोमा हिँड्दैन,’ नेता रिजालले भने ।

निर्वाचन प्रणाली परिवर्तन नगरेसम्म गठबन्धन संस्कारको सरकार बन्ने बनाउने प्रवृतिको अन्त्य नहुने र एक दलले सरकार बनाउने अवस्था नआएसम्म संघीयता बलियो नहुने धारणा उनले राखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *