नागढुंगा सुरुङमार्गको निर्माण प्रगति ७० प्रतिशत पुग्यो

Sharing is caring!

माघ २३, २०८० । नागढुंगा–सिस्नेखोला सुरुङमार्गको निर्माणमा हालसम्म १४ अर्ब ७० करोड रुपैयाँभन्दा बढी खर्च भएको छ । कुल २० अर्ब ९० करोड छुट्याइएको आयोजनामा ७० प्रतिशत खर्च भइसक्दा निर्माणको भौतिक प्रगति भने ७०.३४ प्रतिशत मात्र पुगेको छ ।

उक्त २ हजार ६ सय ८८ मिटर लम्बाइको सुरुङमार्गका लागि हालसम्म ९८.८० प्रतिशत अर्थात् २ हजार ६ सय ५६ मिटर सुरुङ खन्ने काम पूरा भएको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार सुरुङमार्ग निर्माणको काम ६८.५४ प्रतिशत पूरा भएको छ ।

मंगलबार राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा नागढुंगा–सिस्नेखोला सुरुङ मार्ग निर्माणको अवस्थाबारे आयोजनाको प्रगति विवरण समितिले सार्वजनिक गरेको हो । त्यसअघि समिति सभापति प्रकाश पन्तसहितको टोलीले आयोजनाको भौतिक प्रगति हेर्न स्थलगत निरीक्षणमा पुगेको थियो ।

आयोजनाका अनुसार सुरुङमार्गमा पर्ने १२ वटा पुल र फ्लाइओरभर बनाउने कामको भौतिक प्रगति २७.४८ प्रतिशत पुगेको छ । १ हजार ८ सय ७२ मिटर एप्रोच रोड बनाउने काम ५३.८१ प्रतिशत पुरा भएको आयोजनाले जनाएको छ ।
ट्रान्समिसन लगायत विविध काम ५६.९९ प्रतिशत र आयोजना स्थलमा पर्ने घरटहरा र बोटबिरुवाको क्षतिपूर्ति भरणतर्फ ९५.६६ प्रतिशत काम पुरा भएको छ । जग्गाको मुआब्जा वितरण ९५.२१ प्रतिशत भएको आयोजनाले जनाएको छ ।

निरीक्षणपछि समिति सभापति पन्तले भने, ‘आयोजनाको मुआब्जा वितरण लगायतको केही सामान्य समस्या बाँकी रहेको देखिएको छ । त्यसलाई सरकारले समयमै टुंग्याएर द्रुत गतिमा काम गरे अबको एक वर्षभित्रमा सुरुङमार्ग सम्पन्न हुने देखिन्छ । ब्रेक थ्रु गर्ने कुरा एकदम छोटो समयमा पनि हुन सक्ने सम्भावना छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *