नेपाली कांग्रेसको महासमिति बैठक आजदेखि

Sharing is caring!

फागुन ७, २०८० । नेपाली कांग्रेसको महासमिति बैठक (नीति महाधिवेशन) आजदेखि सुरु हुँदैछ । ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने बैठकको सभापति शेरबहादुर देउवाले दिउँसो १ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

‘राजनीतिक स्थायित्व, रुपान्तरण र नवीनता । स्वतन्त्रता, न्याय र समानता नेपाली कांग्रेसको नीतिगत प्रतिबद्धता’ भन्ने मूल नारासहित चार दिनसम्म चल्ने महासमिति बैठकको सम्पूर्ण तयारी पूरा भएको सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

बैठकमा नीति, सांगठनिक, समसामयिक, वर्तमान आर्थिक अवस्था र लेखा गरी पाँच वटा प्रस्ताव पेस हुनेछन् । उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीति र अर्थमन्त्री एवम् पार्टीका प्रवक्ता प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा तथा लेखा समितिका संयोजक श्यामकुमार घिमिरेले लेखा प्रस्ताव पेस गर्नेछन् ।

यसअघि ०७८ मा १४ औँ महाधिवेशनका बेला अलग्गै नीति महाधिवेशन गर्ने प्रण गरेको कांग्रेसले अहिले महासमिति बैठकलाई नै नीति महाधिवेशनकोरुपमा लिएर छलफल गर्ने भनेको छ । बैठकमा प्रस्तुत हुने प्रतिवेदनमाथि समूहगत छलफल हुने प्रचार विभागका प्रमुख विश्वकर्माले बताए । प्रस्तुत प्रस्तावहरुमाथि तराई, पहाड, मधेश, हिमालबाट प्रतिनिधित्व हुने गरी समूह बनाएर छलफल हुनेछ ।

महासमिति बैठकमा केन्द्रीय समितिका १६५, संघीय निर्वाचन क्षेत्रबाट १ हजार ७८०, जनसम्पर्क समितिबाट ८९, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट ६९ जना सदस्यहरू सहभागी हुनेछन् । केन्द्रीय कार्यालयले महासमिति सदस्य नरहेका ४६ जिल्ला सभापतिहरुलाई समेत आमन्त्रित सदस्यकारुपमा सहभागी गराउनेछ । महासमिति बैठकमा २ हजार १०५ जना सहभागी हुने भएपनि २ हजार ५ सयभन्दा बढी नेता कार्यकर्ताको सहभागिता रहने प्रचार विभागका प्रमुख विश्वकर्माले जानकारी दिए ।

कांग्रेसले महासमिति बैठकका लागि प्रतिनिधिका लागि ३ हजार रुपैयाँ प्रवेश शुल्क तोकेको छ । कांग्रेसले कार्यक्रमस्थलमा खानाको प्रबन्ध गरेको छ भने बासको व्यवस्था प्रतिनिधिहरु आफैँले गरेका छन् । काठमाडौं उपत्यकाभित्र बस्ने ठाउँसम्म ल्याउन र पु¥याउनका लागि पार्टीले बसको व्यवस्था गरेको प्रचार विभागका प्रमुख विश्वकर्माले बताए ।

कांग्रेसका अनुसार महासमिति बैठकमा करिब दुई करोड रुपैयाँ खर्च हुने अनुमान छ । महासमिति बैठक बिहीबारसम्म चल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *