कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त

Sharing is caring!

भदौ २२, २०८० । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की शुक्रबार साँझ कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् ।

शुक्रबार प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सबैभन्दा ठूलो दलको नेताको हैसियतामा कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

सर्वाेच्च अदालतले उद्धव थापालाई पदमुक्त गर्दै कार्कीलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न बिहीबार परमादेश जारी गरेको थियो । मुख्यमन्त्री कार्कीले ३ मन्त्री र १ राज्यमन्त्री नियुक्त गरेर मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । यसअघि कार्की असार १५ गतेसम्म प्रदेशको मुख्यमन्त्री थिए ।

२०७९ पुस २४ गते मुख्यमन्त्री नियुक्त भएका कार्की नेतृत्वको सरकारले संसदबाट विश्वास गुमाएपछि ढलेको थियो । त्यसपछि गठबन्धनबाट कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापा असार २१ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

संविधानविपरीत तत्कालीन सभामुख बाबुराम गौतमसमेतको हस्ताक्षरबाट मुख्यमन्त्री नियुक्त भएका थापालाई साउन ११ गते सर्वाेच्चले पदमुक्त गरेको थियो। त्यसपछि दोस्रोपटक साउन १६ गते थापा नै मुख्यमन्त्री नियुक्त भएका थिए ।

सभामुखको भूमिकामा रहेका इस्राइल मन्सुरीलाई समेत प्रयोग गरेर संविधानविपरीत विश्वासको मत लिएपछि उनलाई सर्वोच्चले पदमुक्त गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *