सरकारी सेवा प्रवेशमा कृषकका छोराछोरी अग्रस्थानमा

Sharing is caring!

मंसिर ६, २०८० । लोक सेवा आयोगले लिने परीक्षा उत्तीर्ण गर्नेहरूमा गाउँघरका किसानका छोराछोरी अग्रस्थानमा देखिएका छन् । आयोगको २०७८-०८० को प्रतिवेदनले यस्तो तथ्य औंल्याएको हो ।

प्रतिवेदनअनुसार कुल दरखास्तको ७९ दशमलव ६४ प्रतिशत उम्मेदवारका अभिभावकको मुख्य पेसा कृषि रहेको पाइएको छ । १० दशमलव ६४ प्रतिशत उम्मेदवारका अभिभावक सरकारी सेवामा संलग्न रहेका छन् भने ५ दशमलव १३ प्रतिशत व्यवसाय गर्नेका छोराछोरी छन् भने श्रमिकका छोराछोरीको संख्या १ दशमलव ८५ प्रतिशत मात्र रहेको छ । यसै गरी निजी क्षेत्रमा काम गर्नेको छोराछोरी संख्या सबैभन्दा न्यून ० दशमलव २८ प्रतिशत छ भने अन्य विभिन्न क्षेत्रमा लागेकाका छोराछोरीको संख्या २ दशमलव ४६ प्रतिशत छ ।

लोक सेवा आयोगका प्रवक्ता गीताकुमारी होमेगाईले कृषकका छोराछोरीको रुचिको क्षेत्र सरकारी सेवा परेको हुनाले पनि बढी उत्र्तीण भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘यसमा दरखास्तलाई आधार मान्दा पनि बढी दरखास्त कृषि पेसा गर्नेका छोराछोरीले छन् ।’यसै गरी आर्थिक वर्ष २०७९÷२०८० मा शिक्षाशास्त्र संकाय पढ्ने उम्मेदवारको संख्या सबैभन्दा धेरै देखिएको छ ।

लोक सेवामा परेको कुल दरखास्तमध्ये ३० दशमलव ७९ प्रतिशत शिक्षाशास्त्र संकाय पढ्ने उत्तीर्ण भएका छन् । प्रवक्ता होमेगाईका अनुसार शिक्षाशास्त्र संकाय प्रशासन सेवासँग मिल्ने भएर पनि उत्तीर्णको संख्या बढेको हो । उहाँले दरखास्तको संख्या शिक्षाशास्त्र संकायमा १ लाख ४८ हजार १ सय ३४ जनाको परेको हुनाले उत्तीर्णको संख्या बढेको बताउनुभयो ।

यसै गरी व्यवस्थापन संकाय पढ्ने २७ दशमलव ३१ उत्तीर्ण भएका छन् । विज्ञान संकाय पढ्ने १५ दशमलव ५४, मानविकी पढ्ने ५ दशमलव ४९ र इन्जिनियरिङ पढ्ने ५ दशमलव ३९ प्रतिशत उत्तीर्ण भएका छन् ।कानुन विषय लिने १ दशमलव ५२ र चिकित्साशास्त्र अध्ययन गर्ने १ दशमलव २० प्रतिशतले मात्र लोकसेवा परीक्षा उत्तीर्ण गरेका छन् । कृषिका ० दशमलव ७६ प्रतिशत तथा वन तथा विज्ञानका ० दशमलव ४८ प्रतिशत उत्तीर्ण भएका छन् । यसै गरी संस्कृतका ० दशमलव ०७ प्रतिशत र अन्य विषयका ११ दशमलव ३० प्रतिशत उत्तीर्ण भएका छन् । यो खबर नेपाल समाचारपत्रबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *