कांग्रेसको महासमिति बैठक सोमबारदेखि

Sharing is caring!

फागुन २, २०८० । नेपाली कांग्रेसको महासमिति बैठक आगामी सोमबारदेखि ललितपुरको गोदावरीमा हुने भएको छ । चार दिनसम्म चल्ने बैठक पार्टीको विधान, नीति पारित गर्न र नेतृत्व चयनका लागि हुन लागेको पार्टीका प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले बताएका छन् ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले बैठकमा प्रस्तुत हुने आर्थिक, सामाजिक, धार्मिक साँस्कृतिक तथा राजनीतिक विषय समेटिएको नीति प्रस्ताव, महामन्त्रीहरूको सांगठानिक र समसामयिक राजनीतिक प्रतिवेदनले वर्तमान राजनीतिक परिवेशलाई उचित सम्बोधन गर्ने बताए ।

बैठकका लागि पार्टी सभापति शेरबहादुर देउवाको संयोजकत्वमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य, प्रदेश कार्यसमितिका सभापति एवं उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला सभापति, भ्रातृ संस्थाका केन्द्रीय अध्यक्षहरु समेत रहने गरि मूल आयोजक समिति गठन गरिएको जानकारी उनले दिएका छन् ।

महासमितिको बैठकमा प्रस्तुत गरिने नीतिगत प्रस्ताव तयार गर्न पार्टी उपसभापति एवं नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक पूर्णबहादुर खड्काको संयोजकत्वमा प्रस्ताव तयारी समिति गठन गरिएको छ भने पार्टीको सांगठनिक प्रतिवेदन महामन्त्री गगनकुमार थापाले र समसामयिक राजनीतिक प्रस्ताव महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गर्ने कार्यसूची छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *