संयुक्त राष्ट्रसंघका महासचिव गुटेरस नेपालमा

Sharing is caring!

कात्तिक १२, २०८० । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस चारदिने भ्रमणका लागि नेपाल आएका छन् ।
राति एक बजे उनी काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् । गुटरेसलाई परराष्ट्रमन्त्री एनपी साउदले विमानस्थलमा स्वागत गरे ।

उनले आजै राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति कार्यालय शितलनिवास र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उनको कार्यालयमा शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यसपछि भने उनले प्रमुख राजनीतिक दलका शीर्ष नेता द्वय नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग संघीय संसद् भवन नयाँबानेश्वरमा छुट्टाछुट्टै भेट गर्नेछन् । त्यस्तै उनले आजै उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ तथा परराष्ट्रमन्त्री एनपी साउदसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

राजनैतिक नेतृत्वसँगको शिष्टाचार भेटवार्तापछि महासचिव गुटरेसले ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको पनि अवलोकन गर्ने तय छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महासचिव गुटरेसको सम्मानमा आइतबार साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गर्नेछन् ।

गुटेरस चारदिने भ्रमणका क्रममा नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी जानेछन् । सन् २०१७ मा संयुक्त राष्ट्रसङ्घको महासचिव भएपछि पहिलोपटक नेपाल भ्रमणमा आएका गुटरेसले यहाँको शान्ति प्रक्रिया, दिगो विकास, जलवायु परिवर्तनलगायत विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *