एडीबीले नेपाललाई १३ अर्ब ३३ करोड सहुलियतपूर्ण ऋण दिने

Sharing is caring!

मंसिर ८, २०८० । सार्वजनिक वित्त व्यवस्थापन र सुदृढीकरण सेवा प्रवाह कार्यक्रमका लागि एसियाली विकास बैंक (एडिबी)ले नेपाललाई करिव १३.३३ अर्ब सहुलियतपूर्ण ऋण दिने भएको छ । यसका लागि अर्थ मन्त्रालयमा शुक्रबार सचिव डा.कृष्णहरि पुष्कर र एडीबीका नेपालका लागि कन्ट्री डाइरेक्टर अर्नाउड काचोइसले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि अर्थ मन्त्रालयका सचिव पुष्करले भने, ‘सार्वजनिक वित्त व्यवस्थापन र प्रभावकारी सेवा प्रवाहको क्षेत्र नेपाल सरकारको सुधार एजेन्डाको सधैं उच्च प्राथमिकतामा छ । वित्तीय संघीयताको सुदृढीकरण र सेवा प्रवाहको अभिवृद्धि तथा सार्वजनिक वित्त व्यवस्थापन प्रणालीमा सुधार बजेटको प्राथमिकतामा छ । विभिन्न सुधारका पहलहरूमार्फत वित्तीय व्यवस्थापनलाई पोषण र वित्तीय संघीयताको प्रवर्धन गर्न यो कार्यक्रम डिजाइन गरिएको हो ।’
एडीबीका नेपाल निर्देशक काचोइसलले नेपालले सहयोग रकम सदुपयोग गर्ने विश्वास व्यक्त गरे ।

‘एडीबी समर्थित कार्यक्रम वित्तीय स्थायित्व र वित्तीय संघीयतालाई प्रवर्धन गर्न सुधारहरू सहज बनाउन महत्वपूर्ण कार्यक्रम हो । यो १५औं पञ्चवर्षीय योजनामा उल्लिखित सरकारको मध्यकालीन र दीर्घकालीन राष्ट्रिय विकास योजनाहरूसँग सम्बद्ध छ,’ उनले भने, ‘सन् २०३० सम्म नेपाललाई मध्यम आय भएको देश बनाउने आर्थिक विकासको भिजनमा सहयोग हो ।’

प्रस्तावित कार्यक्रम नीतिमा आधारित बजेट सहयोग हो । जसअन्र्तगत २ वटा उपकार्यक्रमहरू छन् । सो मध्येको उपकार्यक्रम १ सम्पन्न भएको र उपकार्यक्रम २ ले राष्ट्रिय र स्थानीय तहमा सार्वजनिक वित्तीय व्यवस्थापन सुधारका क्षेत्रहरूमा सुधारका काम जारी राख्न उक्त सहयोग रकम खर्च गर्ने मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *