६ महिनाभित्र कर्णालीको विकासको लागि गुरुयोजना बनाउँछौं: मुख्यमन्त्री शाही

Sharing is caring!

बैशाख २०, २०७६ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले अबको ६ महिनाभित्र कर्णालीको विकासको लागि गुरुयोजना तयार पारिसक्ने स्पष्ट पारेका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मुख्यमन्त्री शाहीले पहिलो वर्ष तयारीमै बितेको स्पष्ट पारे । उनले भने,‘हाम्रो पहिलो वर्ष तयारी गर्नमै व्यतित भयो । हामीले प्रशासनिक संरचना तयार गर्यौं । समग्र विकासलाई अघि बढाउनको लागि जनशक्ति आवश्यक हुन्छ । त्यसतर्फ ध्यान दिँदै हामीले कमभन्दा कम जनशक्तिमा बढिभन्दा बढि काम लिने नीति अख्तियार गरेका छौं ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै मूख्यमन्त्री शाहीले आफूहरु योग्य कर्मचारी नियुक्ती गर्ने तयारीमा जुटेको पनि जनाए । उनले भने,‘जनशक्ति कम भर्ना गर्ने उद्देश्यले हामीले योग्य कर्मचारी नियुक्ती गर्नुपर्छ भनेका छौं ।’

पहिलो वर्ष कानूनहरु निर्माण गर्नुपर्ने भएकोले उक्त कामपनि सम्पन्न गरिसकेको उनले स्पष्ट पारे । बजेट कार्यान्वयनको सवालमा भने आफूहरुले लक्ष्य नभेटेको उनको भनाई छ । समग्र कर्णाली प्रदेशको विकास गर्नेगरि आफूहरुले गुरुयोजना बनाएको सुनाउँदै उनले भने,‘बसोबास वैज्ञानिक छ कि छैन त्यो हेरेका छौं । सडक, विजुलीलगायतका अत्यन्तै महत्वपूर्ण पक्षहरुमा पनि हामीले ध्यान दिएका छौं । एकीकृत वस्ती विकास कार्यक्रम अघि बढाउनेछौं ।’

त्यस्तै गुरुयोजनाअन्तर्गत कुल कति सडक र पुलहरु निर्माण गर्नेलगायतका विषयमा पनि आफूहरुले ध्यान दिएको शाहीले स्पष्ट पारे । उत्पादनको क्षेत्रमा पनि विशेष ध्यान दिईएको उनको भनाई छ। उनले भने,‘हर्बल, जुडिबुटी र जलस्रोतलगायतका पर्यटनका क्षेत्रमा पनि हामीले विशेष अध्ययन तथा अनुशन्धान गरेका छौं । अहिले हामी अध्ययनको सुरुवातमा छौं ।’

बजेट कार्यान्वयनमा भने आफूहरुले चूनौति भोग्नु परेको उनले गुनासो सुनाए । ‘९ अर्बको विकास बजेट थियो’–उनले भने,‘हामीले प्रदेशवासीहरुको मागका आधारमा योजना बनायौं । बजेट कार्यान्वयन गर्दै जाँदा कतिपय योजनाहरु फिजिबल नै भएनन् । कतिपय योजनाहरु डुप्लिकेशनको मारमा परे ।’

ईन्जिनियरलगायतका प्राविधिकहरुको दक्ष जनशक्तिको अभावका कारण विकास निर्माणका कामहरु द्रुत गतिमा हुन नसकेको मुख्यमन्त्री शाहीले स्वीकारे । उनले भने,‘हाम्रो बजेट शतप्रतिशत कार्यान्वयन भएन् ।’

त्यस्तै शाहीले संघीयता कार्यान्वयनको सवालमा पनि संघ, प्रदेश र स्थानीय तहबीच तालमेल नभएको जिकिर गरे । उनले भने,‘तीन वटा सरकारबीच जसरी तालमेल तथा सहकार्य हुनुपर्दथ्यो, त्यो हुन नसकेकै हो । यो लुकाएर लुक्ने कुरा होईन। हामीले भर्खरै काठमाडौंमा सम्पन्न परिषदको बैठकमा सुझाएका छौं । संघले जसरी समन्वय गर्नुपर्दथ्यो, त्यसरी गर्न सकेन ।’

प्रदेशमा आईपर्ने कतिपय प्राकृतिक विपदका समस्याको बारेमा आफूहरु गम्भिर भएपनि आवश्यक स्रोत र साधन नहुँदा अकालमै प्रदेशवासीहरुले ज्यान गुमाउनु परेको पनि उनले गुनासो सुनाए । उनले भने,‘हुम्लामा हालै भएको समस्याको सवालमा पनि हामीले सकेकोजति काम गर्यौं । तर, हामीलाई तत्काल विरामी उद्धार गर्नको लागि हेलिकप्टर चाहिन्छ । हामीले केन्द्र सरकारसँग यो माग गरेका छौं ।’

फरक प्रसंगमा उनले आज केन्द्रिय सरकारले नीति तथा कार्यक्रम ल्याउन लागेको सुनाउँदै यो नीति तथा कार्यक्रममा कसरी आफ्नो प्रदेशलाई समेट्छ त्यो भने हेर्न बाँकी रहेको सुनाए । उनले भने,‘हाम्रो प्रदेशका जनताहरुमा हामीप्रति ठूलो अपेक्षा छ । कर्णाली प्रदेशले गरेको अपेक्षा संघले सम्बोधन गर्छ कि गर्दैन त्यो आजै थाहा हुन्छ ।’

कर्णाली प्रदेश अहिलेपनि अन्याय र उत्पीडनमा रहेको उनले सुनाए । आफूहरुले बजेटको विनियोजन गर्दा मावन विकास सूचांकलाई आधार बनाउनुपर्छ भनेर बारम्बार आवाज उठाईरहेको पनि मुख्यमन्त्री शाहीले सुनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *