स्वाइन फ्लु संक्रमण बढ्यो

Sharing is caring!

माघ ८, २०७५ । राजधानीमा दुई महिनामा डेढ सयभन्दा बढी व्यक्तिमा प्रयोगशाला प्रमाणित स्वाइन फ्लु देखिएको छ । चिकित्सकीय भाषामा यसलाई मौसमी इन्फ्लुएन्जा (रुघाखोकी) अन्तर्गत रहेको ‘इन्फ्लुएन्जा ए–एच१एन१’ भनिन्छ ।

चिकित्सकहरूले सरकारी तथ्यांकभन्दा वास्तविक स्थिति झन् जटिल रहेको दाबी गरेका छन् ।

ओम अस्पतालको आईसीयूमा रहेकी एक ४७ वर्षीया महिलाको सोमबार स्वाइन फ्लुले मृत्यु भएको छ । तीन दिनअघिसमेत ओमकै आईसीयूमा रहेका एक संक्रमितलाई एयरलिफ्ट गरेर भारत लगिएको थियो ।

राजधानीमा अहिले स्वाइन फ्लु प्रकोपकै रूपमा देखिएकाले यसबाट प्रभावित भएर जटिल स्वास्थ्य अवस्थामा पुग्ने र मृत्यु हुने घटनामा वृद्घि भएको छ । ‘हामीकहाँ आइपुग्नेमध्ये करिब २५ प्रतिशत बिरामी रुघाखोकी तथा छातीको संक्रमणका हुन्,’ ओम अस्पतालका निर्देशक डा. केपी देवकोटाले भने, ‘आज (सोमबार) स्वाइन फ्लुले मृत्यु भएकी महिलामा यसअघि कुनै जटिल स्वास्थ्य समस्या थिएन ।’

ती महिला दुवै फोक्सोमा संक्रमण (निमोनियाँ) भएपछि अस्पताल आइपुगेको जनाउँदै डा. देवकोटाले भने, ‘मौसमी इन्फ्लुएन्जा भएर आउने बिरामी गम्भीर वा निमोनियाँ भएरै आउने गरेको देखिएको छ ।’ एक्कासि स्वाइन फ्लुको प्रकोप बढेपछि ओम अस्पतालले आफ्नो आईसीयू र इमर्जेन्सीका सबै कर्मचारीलाई ‘फ्लुविरुद्घको खोप’ समेत दिएको छ ।

गत पुस १७ देखि राजधानीमा स्वाइन फ्लु बढेको देखिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका निर्देशक डा. हरिशचन्द्र उप्रेती स्विकार्छन् । उनका अनुसार हाल मौसमी रुघाखोकीको पहिचान गर्न घाँटीको र्‍यालको नमुना दिनेमध्ये करिब आधा जतिमा इन्फ्लुएन्जा ए–एच१एन१ (स्वाइन फ्लु) देखिएको छ ।

इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा २०७५ मंसिरदेखि पुस २६ सम्म ३ सय ३४ जना बिरामीको घाँटीको र्‍यालको नमुना परीक्षण गरिएकामा १ सय ६८ जना बिरामीमा इन्फ्लुएन्जा प्रमाणित भएको हो । तीमध्ये १ सय ४६ जनामा इन्फ्लुएन्जा ए–एच१एन१ (स्वाइन फ्लु), ९ जनामा इन्फ्लुएन्जा ए एच३ र १३ जनामा इन्फ्लुएन्जा बी प्रमाणित भएको हो ।

तर ईडीसीडीले हालसम्म इन्फ्लुएन्जाले एक जनाको मात्र मृत्यु भएको दाबी गरेको छ । स्वास्थ्यकर्मीहरू भने सरकारले स्वाइन फ्लुको वास्तविक स्थिति लुकाउन खोजेको आरोप लगाउँछन् । सरकारको दाबीभन्दा धेरै बढी राजधानीका अस्पतालहरूका आईसीयूमा भर्ना भएका स्वाइन फ्लु संक्रमितको मृत्यु भएको स्वास्थ्यकर्मीहरूले औंल्याएका छन् । उनीहरूले उपचारमा संलग्न थुप्रै चिकित्सक, स्वास्थ्यकर्मी नै स्वाइन फ्लुबाट प्रभावित भएको दाबी गरेका छन् ।

ग्रान्डी इन्टरनेसनल हस्पिटल, इमर्जेन्सी विभागका प्रमुख डा. अजयसिंह थापासमेत यसै साता स्वाइन फ्लुले गर्दा आफ्नै अस्पतालमा भर्ना भए । उनी नियमित एन्टिभाइरल औषधिको उपचार प्रक्रिया गरेर पूर्ण निको भए ।

‘जनमानसले सामान्य रुघाखोकी ठानेर यसमा खासै चासो दिएका छैनन्, रुघाखोकीलाई सामान्य रूपमा नलिऊँ,’ डा. थापाले भने, ‘मलाई संक्रमणको जटिलता थाहा भएर चाँडै भर्ना भएर उपचार प्रक्रियामा गएँ, संक्रमण धेरै बढेपछि उपचार प्रक्रियामा जाँदा जटिलता थपिन्छ ।’ उनका अनुसार समस्या भएकामा छिटो एन्टिभाइरल औषधिले उपचार गर्दा निको हुने भए पनि ढिलो गरी उपचार प्रक्रिया सुरु गर्दा ‘मल्टिअर्गेन फेल्योर’ ले मृत्यु हुने सम्भावना रहन्छ । हाल ग्रान्डीमा समेत इन्फ्लुएन्जाका धेरै बिरामी आइरहेको जनाउँदै डा. थापाले भने, ‘हामीकहाँ आएका स्वाइन फ्लुका बिरामीमध्ये कडा संक्रमण देखिएकाको मृत्युसमेत भएको छ ।’

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको बहिरंग विभागमा अधिकांश रुघाखोकी, ज्वरोसँग सम्बन्धित बिरामी आइरहेका छन् । ‘मौसमी रुघाखोकीको समस्या देखिएका युवाले कार्यालय, भीडभाड, काम आदिमा नगई सकेसम्म घरमै अन्य व्यक्तिको सम्पर्कभन्दा अलग बसेर उपचार प्रक्रियामा जाँदा यो संक्रमणको फैलावट कम हुन सक्छ,’ अस्पतालका डा. शेरबहादुर पुन भन्छन्, ‘अपवाद छाडेर युवामा संक्रमणको जटिलता खासै नदेखिने भए पनि उनीहरूले घरभित्र र बाहिर बालबालिका, बूढापाका, दीर्घरोगी लगायतलाई रोग सार्न सक्ने सम्भावना बढी हुन्छ ।’ विश्व स्वास्थ्य संगठनले सन् २०१० देखि स्वाइन फ्लुलाई मौसमी रुघाखोकीकै श्रेणीमा राखेपछि नेपाल सरकारले समेत यसलाई मौसमी रुघाखोकी भन्ने गरेको हो ।यो खबर कान्तिपुरबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *