प्रतिविद्रोह तालिमप्रति विदेशी सेना आकर्षित, भारत र पाकिस्तानका सेना पनि सँगसँगै

Sharing is caring!

माघ ८, २०७५ । नेपाली सेनाले प्रत्येक वर्ष दिँदै आएको ‘प्रतिविद्रोह तथा जंगल वार फेयर’ तालिममा हालसम्म ११ देशका ६२ जना विदेशी सेनाका अधिकृत सहभागी भएका छन् । नेपाली सेनासँग प्रतिविद्रोह तालिमका विषयमा लामो अनुभव रहेकाले विदेशी सेना यसप्रति आकर्षित भएका हुन् ।  नेपाली सेनाले आफ्ना अधिकृतलाई मात्र दिँदै आएको प्रतिविद्रोह तालिम २०५७ सालदेखि विदेशी सेनालाई समेत दिन सुरु गरेको हो ।  यस वर्ष भने चीन, कोरिया, म्यानमार र पाकिस्तान गरी चार देशका ६ जना सेनाका अधिकृतले नेपाली सेनासँग प्रतिविद्रोह तालिम लिएका छन् ।
नेपाली सेनाका सहायक रथी एवं प्रवक्ता यामप्रसाद ढकालले नेपाली सेनासँग प्रतिविद्रोह तालिमका विषयमा लामो अनुभव रहेकाले विदेशी सेनासमेत तालिमका लागि आउने गरेको जानकारी दिए । तालिम लिन नेपाली सेनाको प्रतिविद्रोह तथा जंगल वार फेयर शिक्षालयमा २०५७ सालदेखि हालसम्म ११ देशका ६२ जना विदेशी सेनाका अधिकृत सहभागी भएको बाराको अमलेखगन्जस्थित प्रतिविद्रोह तथा जंगल वार फेयर शिक्षालयका शिक्षाधिकृत तथा महासेनानी गौरवकुमार केसीले जानकारी दिए ।

तालिमका लागि हालसम्म ११ देशमध्ये चीनबाट सबैभन्दा बढी २० सेना आएका छन् । यस्तै, सबैभन्दा कम सेना मलेसिया र केन्याबाट १-१ जना तालिममा सहभागी भएका छन् । शिक्षालयमा विदेशी सेनाका अधिकारीसँगै नेपाली सेनाका अधिकारीले समेत संयुक्त अभ्यास र तालिम लिने गरेको शिक्षालयका शिक्षाधिकृत केसीले जानकारी दिए ।
हालसम्म चीनबाट २०, श्रीलंका र दक्षिण कोरियाबाट ८-८, पाकिस्तानबाट ७, भारतबाट ६, बंगलादेशबाट ५, अमेरिकाबाट ४, म्यानमारबाट २ र मलेसिया र केन्याबाट १-१ जना गरी कुल ६२ जना विदेशी सेनाका अधिकृतले प्रतिविद्रोह तालिममा सहभागिता जनाएको केसीले जानकारी दिए ।

‘बाँच्छु, लड्छु सधैंभरि’ लाई आदर्श वाक्य मानेर २०३४ सालमा स्थापना भएको शिक्षालयले हालसम्म नेपाली र विदेशी गरी १३ हजार ४३२ जना सेनाका अधिकारीलाई यो तालिम दिइसकेको छ । शिक्षालय कुल ११३ बिघा क्षेत्रफलमा फैलिएको छ । नेपाली सेनाका अधिकृत तहमा जंगल वा माउन्टेन वार फेयर तालिममध्ये कुनै एक अनिवार्य गरिएको छ । माउन्टेन वार फेयर तालिम भने जोमसोममा गराउने गरिएको छ ।
सेनाले द्वन्द्वकालको समयमा सोही शिक्षालयबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका केही अधिकारीलाई पनि तालिम दिने गरेको थियो । विदेशी सेनाहरू भने प्रत्येक वर्ष शिक्षालयमा तालिमका लागि छनोट भएर आउने गरेका छन् ।

शिक्षाधिकृत केसीले प्रतिविद्रोह र प्रतिआतंकवादको क्षमतालाई अभिवृद्धि गर्दै समकालीन तालिम तथा सैद्धान्तिक विकासबाट नेपाली सेनालाई आवश्यक जनशक्ति तयार पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए ।
‘शिक्षालयले प्रतिविद्रोह र प्रतिआतंकवादको क्षमतालाई अभिवृद्धि गर्दै समकालीन तालिम तथा सैद्धान्तिक विकासबाट नेपाली सेनालाई आवश्यक जनशक्ति तयार पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ,’ शिक्षाधिकृत केसीले राजधानीसँग भने ।
प्रशिक्षकका अनुसार तालिममा युद्धको समयमा जंगलमा खानेकुरा केही नहुँदा कसरी बाँच्ने भनेर समेत सिकाउने गरिएको छ । त्यसका लागि कुनै पनि खानेकुरा नदिईकन सेनाका अधिकृतलाई तीन दिनसम्म तालिमका क्रममा जंगलमा छाड्ने गरिएको छ ।

हाल शिक्षालयमा प्रतिआतंकवाद र जंगल वार फेयर तालिमसँगै प्रशिक्षक प्रशिक्षण, सूर्य किरण, महाहन्टलगायतका तालिम सञ्चालन हँुदै आएको छ । नेपालका राष्ट्रिय निकुञ्जमा हुने गरेको वन्यजन्तु चोरी तथा सिकारीविरुद्ध महाहन्ट अपरेसन चलाउने गरिएको छ ।  यसका अतिरिक्त हतियार, बारुदलगायतका विषयमा पनि शिक्षालयमा तालिम दिने गरिएको छ । सेनाका अधिकारीका अनुसार शिक्षालयमा तालिम दिने कतिपय अधिकारी स्थायी दरबन्दीका छन् । त्यस्तै, कतिपय अधिकारीलाई भने काजमा ल्याउने गरिएको छ । विदेशी नागरिकको तालिमका लागि नेपाल सरकारले न्यूनतम खर्चको व्यवस्थापन गर्ने गरेको अधिकारीहरू बताउँछन् ।यो खबर राजधानीबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *