स्पेनका नयाँ प्रधानमन्त्रीद्वारा मन्त्रीपरिषद् गठन

Sharing is caring!

जेठ २१, २०७५ । स्पेनका नवनियुक्त समाजवादी प्रधानमन्त्री पेड्रो सान्चेजले मन्त्रीपरिषद् गठन गर्दा आफुलाई समर्थन गरेको पार्टीलाई नै नसमेट्नुहुने भएको छ ।
निवर्तमान प्रधानमन्त्री मारिएनो राजोएलाई हटाउने बेलामा सहयोग गरेको बामपन्थी पार्टी पोडेमोजलाई नै नसमेटी मन्त्रीपरिषद् गठन गर्नु भएको सोसलिष्ट पार्टीका उच्च अधिकारीहरूले सोमबार जानकारी दिएका छन् ।

पोडेमोजले नै अन्य पार्टीहरूलाई समेटेर सान्चेजले सरकार बनाउनु बढी स्थिर हुनसक्ने बताएकाले नसमेटिएको सोसलिष्ट पार्टीका उप महासचिव अद्रिना लाष्ट्राले बताउनुभयो ।

“सरकारमा सहभागी हुनेहरुको नामावली केही दिनमै सार्वजनिक हुन्छ,” एक टेलिभिजनलाई दिएको अन्तवार्तामा उहाँले भन्नुभयो । उप महासचिव लाष्ट्राले नयाँ सरकार वास्तवमै समाजवादी हुने दावी पनि गर्नुभयो ।

सरकार सञ्चालनको अनुभव नभएका ४६ बर्षीय अर्थशास्त्री सान्चेजले आइतबार नयाँ प्रधानमन्त्रीको रुपमा सपथ लिनु भएको छ ।

उहाँले यसअघिको सरकार विरुद्ध संसदमा दर्ता गराएको अविश्वासको प्रस्तावमा मतदान हँुदा सरकारको पक्षमा बहुमत नपुगेपछि उहाँ प्रधानमन्त्री बन्नु भएको हो ।

सान्चेजले निवर्तमान प्रधानमन्त्री राजोए नेतृत्वको सरकारलाई भ्रष्टाचारको आरोप लगाउँदै प्रधानमन्त्रीलाई हटाउन माग गर्नु भएको थियो । उहाँका विरुद्धमा सान्चेजले गत मे २५ तारिखका दिन अविश्वासको प्रस्ताव दर्ता गराउनु भएको थियो ।

स्पेनमा निकै प्रभावशाली नेता मानिनुहुने ६३ बर्षिय राजोए गत सन् २०११ देखि राज्य शक्तिमा हुनुहुन्थ्यो । विश्वासको मत गुमाएर प्रधानमन्त्री पदबाट बाहिरिनेमा राजोए स्पेनी लोकतन्त्रको इतिहासमा पहिलो प्रधानमन्त्री बन्नुभएको छ ।

स्पेनको संसदको कुल ३५० सिट मध्ये सान्चेजको पार्टीसँग ८४ जना मात्रै सांसद रहेका थिए । राजोएलाई हटाउन सान्चेजलाई अन्य विपक्षी पार्टी र क्षेत्रीय पार्टीहरुले समेत साथ दिएका थिए ।

सान्चेजको पक्षमा १८० मत र विपक्षमा १६९ मत परेको थियो भने एक जना सांसद अनुपस्थित भएका थिए ।

समाजवादी पार्टीकी उपमहासचिव लाष्ट्राले अग्रिम निर्वाचन आह्वान गर्ने तयारी गरिएको पनि जानकारी दिनुभयो । तर उहाँले निर्वाचन हुने मितिका बारेमा भने केही बताउनु भएन ।

स्पेनको अहिलेको संसदको म्याद सन् २०२० मा सकिने भएपनि नयाँ सरकारले त्यो भन्दा अगाडी नै निर्वाचन गराउन लागेको हो ।

सान्चेजले दर्ता गरेको अविश्वासको प्रस्तावमा समर्थन गरेको पोडेमोज पार्टीका प्रवक्ता नोएलिआ भेराले नयाँ प्रधानमन्त्रीले सरकारमा सहभागीताका बारेमा अहिले सम्म कुनै आग्रह नगरेको बताउनु भयो ।

सान्चेजको प्रस्तावका पक्षमा सोसलिष्ट पार्टीसहित विपक्षी पार्टी पुडेमोज, क्याटलान र बास्क्युका क्षेत्रीय पार्टीहरुले पनि समर्थन गर्दै मतदान गरेका थिए । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *