नुवाकोट गोल्डकप: थ्रीस्टारबाट मदन भण्डारी पराजित

Sharing is caring!

जेठ २१, २०७५ । स्थानीय बट्टार क्याम्पसको खेल मैदानमा सञ्चालन भइरहेको ‘प्रथम विशाल सिमेन्ट नुवाकोट गोल्ड कप’ प्रतियोगितामा आज थ्रीस्टारले मदन भण्डारी स्पोर्टस् एकेडेमीलाई ३–२ गोलले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ ।
शुरुदेखि नै स्थ्रीस्टारले मदन भण्डारीलाई दवावमा राख्दै पहिलो हाफमै २–० ले अग्रता लिएको थियो । पहिलो हाफको १२ मिनेटमा थ्रीस्टारका अनन्त तामाङले गोल गरी टोलीलाई अग्रता दिएका थिए । अठ्ठाइस मिनेटमा अजे मार्टिनले थ्रीस्टारलाई २–०ले अग्रता दिएका थिए । सतहत्तर मिनेटमा मदन भण्डारीका सोर्जन राईले गोल फर्काउँदै थ्रीस्टारसँगको गोलअन्तर कम गराउन सफल भए । दोस्रो हाफमा मैदानमा मदन भण्डारीका खेलाडी हावी भए पनि गोल फर्काउन २२ मिनेट लाग्यो ।
एकासीऔँ मिनेटमा थ्रीस्टारले पाएको फ्रि किकलाई अनन्त तामाङले गोलमा परिणत गर्न सफल भएपछि थ्री स्टार ३–१ अगाडि भएको थियो । सहकर्मीको फ्रि किकमा किपरको हातबाट चिप्लिएको बल तामाङले पोष्टमा छिराउन सफल भएका थिए ।
प्रतियोगितामा ९०+३ मिनेटको अतिरिक्त समयमा मदन भण्डारीले पाएको पेनाल्टीलाई म्यावेल एलोनले गोलमा परिणत गरेपछि खेल ३–२ मा आएको थियो । दर्शकले मदन भण्डारीलाई समर्थन गरे पनि मदन भण्डारी पराजित भएको छ । पहिलो हाफमा स्थ्रीस्टार हावी भएको थियो भने दोस्रो हाफमा मदन भण्डारी हावी भएको थियो ।
जिल्ला खेलकुद विकास समिति र नुवाकोट एन्फाको आयोजनामा सञ्चालन भएको प्रतियोगिता जिल्लाको अहिलेसम्मको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता हो । प्रतियोगितामा विजेताले रु ५ लाख र उपविजेताले रु ३ लाख पाउने छन् । दश टोली सहभागी रहेको प्रतियोगितामा चितवन ११, काठमाडाँै ११, फ्रेण्ड्स क्लब, एपिएफ, मदन भण्डारी घर फर्किसकेका छन् । मङ्गलबार नेपाल पुलिस क्लब र रुपन्देही ११ बीच खेल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *