स्थानीय तहमा सात हजार कर्मचारी अपुग

Sharing is caring!

जेठ ४, २०७५ । निर्वाचन सम्पन्न भएको एक वर्ष बित्न लाग्दा पनि स्थानीय तहमा अझै कर्मचारी अपुग भएका छन् ।

स्थानीय तहमा करीब ५७ हजार कर्मचारी आवश्यक भएकामा अझै करीब सात हजार कर्मचारी अपुग भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्थानीय तह कर्मचारी शाखा प्रमुख प्रेमप्रसाद लुइँटेलले जानकारी दिनुभयो । उहाँका अनुसार २२० उपसचिव, ५२६ शाखा अधिकृत र छ हजार २०० नायब सुब्बा तहका कर्मचारी सात सय ५३ स्थानीय तहमा अपुग भएका छन् । दुई सय २० उपसचिव नहँुदा नगरपालिका निमित्त प्रमुख प्रशासकीय प्रमुखका भरमा सञ्चालन भएको बताइएको छ ।

मन्त्रालयले अन्य मन्त्रालयबाट अपुग कर्मचारी माग गरे पनि नपठाइएपछि स्थानीय तहमा कर्मचारी पठाउन नसकेको हो । “हामीले विभिन्न मन्त्रालयबाट आएका कर्मचारीलाई दैनिकजसो पठाउने गरेका छौँ”, उपसचिव लुइँटेलले भन्नुभयो, “तर पनि ठूलो मात्रामा कर्मचारी अभाव रहेको छ ।” करीब ५७ हजार कर्मचारी पठाउन सरकारले निर्णय गरेको थियो ।

उहाँले लोक सेवा आयोगको खुला प्रतिस्पर्धाबाट २५० र बढुवाबाट ८१ शाखा अधिकृत कर्मचारी आउने तयारी भइरहेकोसमेत जानकारी दिनुभयो । मन्त्रालयले यही आर्थिक वर्षभित्र सबै कर्मचारी पठाउने तयारी गरेको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *