सुनकाण्डका आरोपीले बयान फेरे

Sharing is caring!

वैशाख २८, २०७५  । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डका अभियुक्तको बयान सकिएसँगै जिल्ला अदालत मोरङमा बिहीबारबाट थुनछेक बहस शुरू भएको छ। जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा जिल्ला सरकारी वकिलको कार्यालयका तर्फबाट आरोपितहरूलाई थुनामै राखी मुद्दाको प्रक्रिया अगाडि बढाउन माग गर्दै बहस भइरहेको अदालतका स्रेस्तेदार नवराज दुलालले जानकारी दिनुभयो।

संगठित अपराधअन्तर्गत आपराधिक समूह स्थापना गरी सुनको चोरी–पैठारी र निकासी गरेको, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानजस्ता अभियोग लागेका व्यक्तिलाई मुद्दाको किनारा नलागेसम्म धरौटीमा छोड्न नहुने माग गर्दै महान्यायाधिवक्ताको कार्यालयका तर्फबाट सहन्यायाधिवक्ता गोपाल रिजालले बहस शुरू गर्नुभएको थियो।

सरकारी वकिलद्मद्मका तर्फबाट आज शुक्रबारसम्म बहश चल्ने भएको छ। सरकारी वकिलको बहस सकिएपछि ६३ जना अभियुक्तविरुद्ध दायरक मुद्दामा आरोपितका तर्फबाट कानुनव्यवसायीले जवाफी बहस शुरू गर्ने भएका छन्।

जिल्ला अदालतले पाँच दिन लगाएर गत मंगलबार मात्रै ३० अभियुक्तको बयान सकेको थियो। सुन तस्करी र शाक्य हत्याकाण्डमा बहस गर्न सरकारी वकिलको तर्फबाट २ सहन्यायाधिवक्ता २ उपन्यायाधिवक्ता, २ जिल्ला न्यायाधिवक्ता र २ जना सहायक जिल्ला न्यायाधिवक्ताको टिम बनेको सरकारी वकिल कार्यालय मोरङका जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद पाठकले जानकारी दिनुभयो।

बहसमा सहन्यायाधिवक्ता गोपाल रिजाल, चिरन्जीवी पराजुली, उपन्यायाधिवक्ता हिमालय त्रिताल, मनोज आचार्य, जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद सापकोटा, पुण्यप्रसाद पाठक, सहायक जिल्ला न्यायाधिवक्ता रोहित पोखरेल र पदम वस्तीले सरकारको तर्फबाट बहस गर्ने भएका छन्।अभियुक्त तुलाराम थारूका तर्फबाट बहस गर्न लागेका अधिवक्ता भरतबहादुर थापाका अनुसार अहिलेसम्म वकालतनामा गर्नेहरू ५ वरिष्ठ अधिवक्ता छन्। वरिष्ठ अधिवक्ताहरू रमेश कोइराला, हिक्मत पौडेल, विपुलेन्द्र चक्रवर्ती, सुरेशलाल श्रेष्ठ, राजेन्द्र भट्टराईले अभियुक्तका पक्षबाट बहस गर्न वकालतनामा दर्ता गरेका छन्।

त्यस्तै अधिवक्ताहरू देवीबहादुर घिमिरे, हेमराज पन्त, विकास थापा, देवेन्द्र कोइराला, नारायण वस्ती, रामप्रसाद भण्डारी, शान्तिराम भण्डारी, रूपेश कोइराला, दीपक खतिवडा, यमबहादुर मगर, लक्ष्मण न्यौपाने, मधुसूधन चौधरी, भक्ति माझी, विश्वराम भट्टराई, रेखा थापा, कविता बस्नेत, पुष्करचन्द्र घिमिरे, खगेन्द्रबहादुर श्रेष्ठ, डिल्लीबहादुर कार्की, डिल्लीराम घिमिरे, अशोक पोखरेल, मोहन कोइराला, टंक उप्रेती, काठमाडौंबाट आएकी रमिता महर्जनलगायतले ३० जना अभियुक्तको तर्फबाट बहस गर्नेछन्।

गएको बिहीबारदेखि मोरङ जिल्ला अदालतको ६ नम्बर इजलासमा जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको रोहवरमा भएको बयान पाँच दिन लगाएर न्यायिक हिरासतमा रहेका ३० जना अभियुक्तको बयान सकिएको थियो। यसैबीच एक जना अभियुक्त भने अदालतमै उपस्थित भएका थिए। प्रहरी हवल्दार अमरबहादुर थापा राष्ट्रसंघीय शान्ति मिसनबाट फर्काइएपछि उनी मोरङ जिल्ला प्रहरी कार्यालयमा सम्पर्कमा पुगेका हुन्।

अभियुक्तको नाटक

साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्याकाण्डमा पक्राउ परेका अधिकांश अभियुक्तले अदालतसमक्ष बयान फेरेका छन्।

मोरङ प्रहरीको न्यायिक हिरासतमा रहेका ३० जना अभियुक्तहरूले बयान फेरेका हुन्। पाँच दिन लगाएर जिल्ला अदालत मोरङको ६ नम्बर इजालसमा न्यायाधीश नारायणप्रसाद शर्माको रोहबरमा अभियुक्तले बयान दिएका थिए। बयान फेर्नेमा प्रहरी जवानदेखि, एरलाइन्सका कर्मचारी, व्यापारी, तस्करीमा संलग्न गिरोहसमेत रहेका छन्।

अदालतमा ८ प्रहरीसहित अधिकांश अभियुक्तले यसअघि छानबिन समितिलाई दिएको भन्दा फरक बयान दिएको सरकारी वकिलको कार्यालय मोरङका जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद पाठकले जानकारी दिनुभयो। १९ फागुनमा मृतक शाक्यको शवसहित पक्राउ परेका टेकराज मल्ल ठकुरीले समेत बयान फेरेका छन्।

प्रहरीसमक्ष उनले दिएको बयानको आधारमा थुप्रै प्रमाण र अन्य अभियुक्त पक्राउ पर्न सफल भए पनि उनले अदालतमा बयान फेरेका हुन्। उनले अदालत समक्ष दिएको बयानमा, ‘यातना दिने क्रममा सनमको मृत्यु भएको हो। दुवइबाट पटक–पटक विमानस्थलहुँदै सुन आउने गरेको थियो तर सुन कसले काहाँ लान्थ्यो त्य मलाई थाहा छैन मल्लले बयान फेर्दै बताएका छन।

उनले अदालसमक्ष दिएको बयानमा एयरलाइन्सका कुनै कर्मचारी नचिनेको समेत बताएका छन्। प्रहरी जवान विष्णुबहादुर खड्काले समेत बयान फेरेका छन्। प्रहरी र अनुसन्धान गर्ने टिमलाई दिएको बयानमा खड्काले सुरक्षा अधिकृतले सुन चोरी पैठारीबाट लिएको आर्थिक रकमदेखि विमानस्थलबाट आएको सुन कहाँसम्म पुग्ने बारेमा बताएका थिए। तर, अदालतसमक्ष उनले दिएको बयानमा यसबारे आफूलाई कुनै जानकारी नपाएको र आफूले अफिसको ड्युटी मात्र पूरा गर्ने गरेको उल्लेख गरेका छन्।

उनले। आफूले कार्यालयको कर्मचारीका हैसियतमा पूरा गर्नुपर्ने जिम्मेवारी मात्र निर्वाह गरेको अदालसमक्ष बयानमा उल्लेख गरेका छन्। प्रहरीले अभियोगपत्रसाथ प्रस्तुत गरेको बयानलाई उनीहरूले अदालत समक्ष इन्कार गरेका छन्। जिल्ला सरकारी वकिल कार्यालय मोरङले सुन तस्करीमा संलग्न रहेको भन्दै नेपाल प्रहरीका ९ अधिकारी र तस्करी समूह गरी ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा गत बुधबार मुद्दा दायर गरेको थियो। प्रहरीले ६३ जनाविरुद्ध आपराधिक समूह स्थापना सञ्चालन गरी सुन चोरी पैठारी, चोरी निकासीको अवैध कारोबार तथा अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानमा गत बुधबार मुद्दा दर्ता गराएको थियो।

उक्त मुद्दामा प्रहरीले पूर्व डीआईजी गोविन्द निरौला, एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपी प्रजित केसी, सञ्जय राउत, सई बालकृष्ण संजेल, प्रहरी जवान विष्णु खड्का, अमरबहादुर थापासहित ३० जनालाई पक्राउ गरी अदालतका न्यायाधीशको रोहबरमा बयान लिइएको थियो।

त्यस्तै राप्रपा नेता तथा व्यापारी भुजुङ गुरुङ, सुन व्यापारी महावीर गोल्यान, आरके ज्वेलर्सका सञ्चालक राजेन्द्रमान शाक्य, थाई एयरवेजका कर्मचारी लालबहादुर मगर, हेमन्त गौतम, वीरेन्द्रमान श्रेष्ठ, सम्बिर तोलाङे, बालकृण श्रेष्ठ, दोरम खत्री, कपिलराज पुरी, गोपाल श्रेष्ठ, पुण्य लामा, राजन थापा, राजु महर्जन, अमर डंगोल, तुलाराम थारु, सुन तस्करी गिरोहमा संलग्न मोहन काफ्ले, टेकराज मल्ल ठकुरी, नरेन्द्र कार्की, लाक्ला शेर्पा, मोहन घिमिरे, राजन कुमारको पनि बयान सकिएको छ भने प्रहरीले तस्करीका मुख्य नाइके भनेका चूँडामणि उप्रेती ‘गोरे’, एसएसपी श्याम खत्री, रमेश उप्रेती, गोरेकी श्रीमती निरु खरेल, भाइ रमेश उप्रेतीसहित ३३ जनालाई फरार प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको थियो। यो खबर आजको नेपाल समाचारपत्रबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *