सिन्डिकेट पक्षधर व्यवसायीले घटाएको भाडा पुनः बढाए

Sharing is caring!

वैशाख १३, २०७५ । सिन्डिकेट पक्षधर यातायात व्यवसायीले दुई साता बित्न नपाउँदै गाडी भाडा बढाएका छन् । काठमाडौं–बनेपा–धुलिखेल रुटमा सरकारले नयाँ र सुविधासम्पन्न बसलाई रुट परमिट दिएपछि सिन्डिकेट पक्षधर यातायात व्यवसायीले भाडादर केही घटाएका थिए । साझा, मयुर, सिटी मेट्रो र अन्नपूर्ण यातायातले भने बनेपा–काठमाडौंसम्मको भाडा ३० रुपैयाँ मात्र लिँदै आएका छन् ।

सुविधासम्पन्न बसले सस्तो भाडामा यात्रु बोक्न थालेपछि आन्दोलनरत काभ्रेका यातायात व्यवसायीले भाडादर घटाएर यातायात सञ्चालन गर्न थालेका थिए । तर, दुई साता नबित्दै उनीहरूले पुनः भाडा बढाएका हुन् । सिन्डिकेट पक्षधर यातायात व्यवसायीले फेरि मनलाग्दी भाडा असुल्न थालेका गुनासो यात्रुहरूले गरेका छन् । आफू बनेपाबाट कोटेश्वरसम्म जाँदा बा.२ ख १९१८ नम्बरको बसले ४८ रुपैयाँ भाडा लिएको काभ्रेको नमोबुद्ध दाप्चाका प्रकाश सत्यालले गुनासो गरे । यसअघि उक्त रुटमा भाडा घटाएर उनीहरूले ४० रुपैयाँ गरेका थिए ।

काभ्रेको बनेपाबाट दाप्चासम्म २१ किमि बाटोको काभ्रे बस व्यवसायी संघअन्तर्गत चल्ने बसले ८० रुपैयाँ भाडा लिँदै आएका अर्का यात्रु ज्ञानेन्द्र देवकोटाले गुनासो गरे । उनले भने, ‘सिन्डिकेट पक्षधर व्यवसायीले यात्रुसँग मनपरी भाडा असुलिरहँदा सरकार तथा सरोकारवाला निकायले बेवास्ता गर्नु दुःखद हो ।’ यो खबर आजको नयाँ पत्रिकामा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *