लेखा अधिकृतबाट नगरपालिकाको ४ करोड हिनामिना

Sharing is caring!

वैशाख १३, २०७५ । करिब ४ करोड रुपैयाँ हिनामिना गरी फरार भएका कटारी नगरपालिकाका लेखा अधिकृत रबिनचन्द्र ढकाल बुधबार पक्राउ परेका छन् ।सामाजिक सुरक्षा भत्ता वापतको ३ करोड ९८ लाख रुपैयाँ लिई फरार भएका ढकाललाई काठमाडौँ प्रहरीले पक्राउ गरेको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुण्यप्रसाद लुइँटेलको कीर्ते हस्ताक्षर गरी फरार भएका ढकाललाई पक्राउ गरी अख्तियारमा जिम्मा लगाइएको नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले बताए ।

उक्त रकम कोष तथा लेखा नियन्त्रण कार्यालयले राष्ट्रिय वाणिज्य बैंक कटारी शाखाको खातामा जम्मा हुने गरी पठाएको थियो । जम्मा भएको केही दिनमै ढकालले कार्यालय प्रमुख लुइँटेलको कीर्ते हस्ताक्षर गरी रकम झिकेको नगरपालिकाका उपमेयर भीमकुमारी राउतले बताइन् ।

२७ लाख मात्रै भेटियो

१ करोड ९८ लाख ७५ हजारका दरले २ पटकको रकम आफ्नो नाममा हालेका ढकालले वाणिज्य बैंकको थापाथली शाखाबाट पटक–पटक गरी २७ लाखबाहेक सबै रकम निकालिसकेको उपप्रमुख राउतले बताइन् । राष्ट्रिय वाणिज्य वैंकको शाखा कटारीका प्रमुख उमापति बाँस्तोलाले थापाथली शाखाबाट झिकेको पुष्टि गरे ।

वैशाख ३ गते कार्यालय छाडेर हिँडेका ढकालले रकम हिनामिना गरेको बुधबार मात्र खुलासा भएको हो । उपप्रमुख राउतले भनिन्, ‘रकम हराएको थाहा पाए लगत्तै लेखाअधिकृतलाई बुझ्न खोज्दा सम्पर्क हुन सकेन, त्यसपछि प्रहरी लगाएर मेयर सा’वले काठमाडौँमा खोज्नु भयो ।’

ढकालको खातामा रहेको उक्त रकम गएको चैत २ गते  गोविन्द नामको व्यक्तिमार्फत एक करोड ५० लाख र चैत्र ५ गते हर्कबहादुर नामको व्यक्तिमार्फत १७ लाख निकालेको पाइएको बैंकका कटारी शाखाका प्रमुख बाँस्तोलाले बताए । उक्त रकम कसको खातामा सारियो भन्ने अनुसन्धान भइरहेको पनि बाँस्तोलाले बताए ।

सामाजिक सुरक्षा भत्तावापतको रकम नगरपालिकाबाट ढिला आएको थियो । तर पहिला नै ढकालले रकम आफ्नो नाममा हालिसकेको अवस्थामा भत्ताको रकम फेरि आएको शीर्षकबारे अनुसन्धान गरिने बाँस्तोलाले बताए ।  यो खबर आजको अन्पूर्ण पोष्टमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *