पेन्सन खानेले अब सामाजिक सुरक्षा भत्ता नपाउने

Sharing is caring!

भदौ ३०, २०७५ । पूर्व निर्धारित उमेर अथवा मापदण्ड पुगेर सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका पेन्सनरहरुले अब भत्ता नपाउने भएका छन्।सामाजिक सुरक्षा भत्ता कार्यविधि—२०७५ कार्यान्वयनमा आएसँगै भारत र बिट्रिस आर्मीमा कार्यरत रही अवकाश प्राप्त भएका भूतपूर्व सैनिक र तिनका परिवारले भत्ता नपाउने भएका हुन् ।

नयाँ सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि—२०७५ गत श्रावण २३ गतेको मन्त्री स्तरको बैठकबाट स्वीकृति प्रदान गरेपछि देशभरमा सोही अनुसार गर्न गराउन निर्देशन गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय केन्द्रीय पञ्जीकरण शाखाका शाखा अधिकृत सावित्री बस्नेतले बताइन्।यसबारेमा विभागले नयाँ कार्यविधिले व्यवस्था गरे अनुसार जिल्लाका सबै स्थानीय तहमा अब पेन्सनरहरुलाई भत्ता नबाँड्न निर्देशन गरेको बस्नेतको भनाइ छ ।

पछिल्लो सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधिले नेपालसँग दैत्य सम्बन्ध भएका मुलुकबाट तलब, भत्ता, पेन्सन पाउने व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता नपाउने व्यवस्था गरिएकाले सोही अनुसार गर्न गराउन निर्देशन आएको जिल्लाको काठेखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर विश्वकर्माले बताए ।

जिल्लामा विदेशमा लामो समय कार्यरत रहेर अवकाश लिएपछि उमेर पुगेर र श्रीमान गुमाएका सयौको संख्यामा पेन्सनर छन्।‘विगत लामो समयदेखि भत्ता बुझ्दै आएका सयौं ज्येष्ठ नागरिक पेन्सनर छन्, अहिलेको निर्णयले अब उनीहरुलाई सामाजिक सुरक्षा भत्ता नदिन निर्देश गरेको छ’, प्रमुख प्रशासकीय अधिकृत विकले भने, ‘केन्द्रीय पञ्जीकरण विभागको निर्देश अनुसार गाउँपालिकाका सबै वडामा बढी पेन्सनर भएकाले पेन्सन र भत्ता दुबै बुझ्ने व्यक्तिहरुको लगत कट्टा गरी नयाँ विवरण यथाशीघ्र उपलब्ध गराउन पत्राचार गरेका छौ ।’

सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधिको परिच्छेद ३ मा सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको सूचीमा पेन्सनरको हिसाबले नभई उमेर र श्रीमान गुमाएका हिसाबले उनीहरु पर्छन्।ज्येष्ठ नागरिक, एकल महिला, विधवा, पूर्ण अपांगता भएका व्यक्ति, अति अशक्त अपांगता भएका, लोपोन्मुख आदिवासी जनजाति र बालबालिका राखिएको छ।

तर, त्यही परिच्छेदको उपदफा २ मा (१) मा जे सुकै लेखिएको भए तापनि नेपाल सरकार वा नेपाल सरकारबाट मान्यता प्राप्त राष्टिय तथा अन्तर्राष्ट्रिय संघ संस्था वा नेपाल सरकारसँग सम्बन्ध स्थापित भएका मित्र राष्ट वा तिनका निकायबाट मासिक रुपमा तलब, भत्ता, पेन्सन वा यस्तै प्रकारका अन्य कुनै मासिक सुविधा पाइरहेका व्यक्तिहरुले सामाजिक सुरक्षा भत्ता पाउनै छैनन् भन्ने उल्लेख गरिएको छ।त्यही बुँदाको ३ मा उपदफा १ मा पनि जे सुकै कुरा लेखिएका भए तापनि कुनै बालबालिकाको आमा वा बाबु मध्ये कुनै एक सरकारी वा औपचारिक सेवामा कार्यरत भएमा वा कुनै व्यवसाय दर्ता गरी सञ्चालन गरिरहेको भएमा यो भत्ता प्राप्त हुने छैन भन्ने उल्लेख गरिएको छ ।

सरकारको सामाजिक भत्ता सम्बन्धी नयाँ व्यवस्थाप्रति अवकाश प्राप्त सैनिक तथा तिनका परिवारले भने असन्तुष्टि व्यक्त गरेका छन्।‘बाध्यताले परदेशी भूमिमा रगत पसिना बगाउँदाको पेन्सनलाई लिएर बुढेसकालमा सरकारले दिने भत्ता पनि रोक्यो भन्ने सुन्छु,’ उमेरले ७८ वर्ष पुगेका भारतबाट अवकाश प्राप्त अमर बहादुर थापाले भने, ‘यो बुढेसकालमा गाउँ घरमा युवाहरु कोही नदेख्दा पनि भत्ता दिदाँ मेरो देशमा हाम्रो सरकार राज्य छ भन्ने अनुभूति त हुन्थ्यो, त्यही पनि कसले खोसिदिएछ ।’यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *