सरकार किम जोङ उनको शैलीमा: कांग्रेस

Sharing is caring!

असार २९, २०७५ । सरकारले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति र ट्रमा सेन्टरका चिकित्सकलाई दुर्व्यवहार गरेर जनतालाई तर्साउन खोजेको भन्दै प्रमुख प्रतिपक्षी कांग्रेसले संसद्‍मा विरोध गरेका छन् ।

कांग्रेस नेता प्रदीप गिरीले क्यानाडा जान लागेका संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइराला र ट्रमा सेन्टरका चिकित्सक डा. भोजराज अधिकारीलाई दुर्व्यवहार गरेर सरकारले तुजुक देखाएको बताए । ‘सरकारले जनतालाई तर्साउन खोजेको छ’ प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समयमा बोल्दै गिरीले भने, ‘हाम्रा प्रधानमन्त्री दक्षिण एसियाकै शक्तिशाली हुनुहुन्छ । अहिले प्रधानमन्त्रीले गरिमा देखाउने बेला हो । तुजुक र दम्भ देखाउने बेला होइन । उपकुलपतिमाथि भएको दुर्व्यवहारको घटना अन्जानमा भएको हो भने हुन्छ ।’
उनले सरकारले गरेको यी दुई दुर्व्यवहारको घटनाले लोकतन्त्र माथि नै प्रहार भएको आरोप लगाएका छन् । लोकतन्त्रमा जनतादेखि सरकार डराउने र तानाशाही व्यवस्थामा मात्र सरकारदेखि जनता डराउने गरेको उनले बताए ।
शून्य समयमा कांग्रेस सांसद अमरेशकुमार सिंहले ट्रमा सेन्टरका डा. अधिकारीलाई गृहमन्त्रीको आदेशमा अपरहण शैलीमा लगिएको भन्दै विरोध जनाए । सरकारले उत्तर कोरियाली नेता किमजोङ उनको शैलीमा बुद्धिजीवीलाई तसाईरहेको सिंहले बताए । कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले उपकुलपति कोइरालालाई सम्मेलनमा पठाउन सरकारलाई आग्रह गरे । उपकुलपतिलाई क्यानडामा जान नदिएर मुलुकको स्वाभिमानमाथि क्षति भएको उनले बताए । ‘समापन समारोहमा भए पनि उपकुलपति कोइरालालाई पठाइयोस्,’ उनले भने, ‘नेपालको पहिचान, इज्जत र प्रतिष्ठामा आँच आउने काम नहोस् ।’
गिरीले डा.गोविन्द केसीले उठाएको मागमा सिंगो संसद् पार्टीको ह्वीपअनुसार पक्ष र विपक्षमा विभाजित भएकामा असन्तुष्टि जनाए । राजपाका सांसद अनिलकुमार झाले आफ्नो पार्टी केसीको सत्याग्रहको पक्षमा रहेको बताए । नेकपाका सांसद मोहन बानियाँले केसीको अनशनलाई बेमौसमी बाजा भन्दै कानुन हातमा लिने गरी अनशन बसेकोमा विरोध जनाए । ‘कसलाई के खान मन लाग्छ, उसलाई सरकारले पुर्‍याउन सक्दैन’ उनले भने ।
नेकपाका किसान श्रेष्ठले काठमाडौं उपत्यकाका सडक हिलाम्मे हुँदा पनि सरकारले नबनाएकोमा आपत्ति जनाए । सडकले नगरपालिका, नगरपालिकाले मेलम्ची आयोजनालाई दोष दिएर उम्कने गरेकोसमेत उनले बताए । सांसद कृष्णभक्त पोखरेलले नारायणघाट–मुङलिङ सडकमा भौगर्गिक अध्ययनबिनै अर्बौ रुपैयाँ खर्च गरेकोमा विरोध जनाए ।
सांसद खगराज अधिकारीले कास्की र म्याग्दीलाई हिमाली जिल्लामा राख्न माग गरे । नेकपाकै अर्का सांसद गणेश ठगुन्नाले दार्चुलालाई बाढीग्रस्त क्षेत्र घोषणा गर्न सरकारसंग माग राखे । नेकपाका सांसद गंगाबहादुर तामाङले बनेपा र पनौतीमा बाढी आउँदा किसानको धानबाली नष्ट भएकोले राहतको व्यवस्था गर्नु पर्ने बताए । उनले रोशी खोलाको क्रसर उद्योग नियमन गर्न सरकारसंग माग राखे । कांग्रेस सांसद जिपछिरिङ लामाले दोलखाका भूकम्पपीडितले तेस्रो किस्ता पाउन नसकेको बताए । भूकम्पले क्षति भएको गुम्बा अझै पनि त्रिपाल र जस्ता मुनी रहेको भन्दै उनले तत्काल पुनर्निर्माण गर्न सरकारलाई ध्यानाकर्षण गराए ।यो खबर आजको कन्तिपुरबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *