सरकारसँग बिच्कियो निजीक्षेत्र, आर्थिक आन्दोलनको चेतावनी

Sharing is caring!

साउन २३, २०७५ । सरकारले उद्योगी व्यपारीलाई आतंकित पार्ने काम गरिरहेको आरोप निजी क्षेत्रले लगाएको छ । नेपाल उद्योग वाणिज्य महासंघले वीरगन्जमा मङगलवार आयोजना गरेको जिल्ला तथा नगरस्तरीय उद्योग वाणिज्य संघको राष्ट्रिय भेलामा बोल्दै उद्योगीहरुले यस्तो आरोप लगाएका हुन् ।

कार्यक्रममा बोल्ने निजी क्षेत्रका अगुवाहरुले सरकारको दृष्टिकोणमा सुधार नआएकाले निजी क्षेत्र आतंकित जनाएका हुन् ।

मुलुक संघीय संचनामा गइसकेपछि बनेको तीन तहको सरकारबाट कर दर र दायरा दुवै बृद्धि गरिएको, बजार अनुगमनका नाममा उद्योगी व्यपारीलाई प्रताडित गरिएको, ब्याजदरमा बृद्धि र लगानीको सुरक्षाको ग्यारेन्टी नभएकाले निजी क्षेत्र सरकारबाटै आतंकित बनेको महासंघको ठहर छ ।

दुईतिहाइ बहुमत पाएको वर्तमान सरकारलाई अहिलेसम्मकै स्थिर र मजबुत भनिए पनि यो सरकार बनेको आठ महिना बितिसक्दा स्थायित्वको अनुभूति गर्न नपाएको निजी क्षेत्रको गुनासो छ ।

राज्यले निजी क्षेत्रलाई धराशायी बनाउन आतंकित पार्ने काम रोकेन भने मुलुकमा आर्थिक आन्दोलन हुने र त्यसको नेतृत्व पनि आफूले नै गर्ने चेतावनी समेत महासंघले दिएको छ ।

‘निजी क्षेत्र आन्दोलन र बन्द हड्ताल गर्ने पक्षमा छैन । यो हाम्रो काम पनि होइन तर यदि सरकारले निजी क्षेत्रसँग सहकार्य र समन्वय गर्दैन’, भेलामा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले भनिन्, ‘उद्योग व्यपारलाई धराशायी बनाउने काम मात्र गरिरह्यो भने अब मुलुकमा आर्थिक आन्दोलन हुन्छ र त्यसको नेतृत्व महासंघले नै गर्छ ।

आर्थिक समृद्धिको नारा मन्त्री–नेताले भाषणले मात्रै नहुने बताउँदै अध्यक्ष राणाले भनिन् ,‘निजी क्षेत्रसँग सरकारले सहकार्य र समन्वय गरे मात्र आर्थिक समृद्धि हाँसिल हुन्छ, त्यसका लागि नीजी क्षेत्र तयार छ ।’

अहिले नेपालको व्यापार घाटा वार्षिक रुपमा २५ प्रतिशतले बढ्दै गएको भन्दै अध्यक्ष राणाले व्यपार घाटा कम गर्न कृषि जन्य र निर्यात जन्य उद्योगहरुलाई राज्यले प्रोत्साहित गर्नु पर्ने बताइन् । ‘समृद्ध र समुन्नत राष्ट्र बनाउन सरकारसँग समन्वय र सहकार्य गर्न निजी क्षेत्र तयार छ’, उनले भनिन्, ‘त्यसका लागि सरकारसँग हामी आग्रह पनि गर्छौँ ।’

निजी क्षेत्रलाई हेर्ने राज्यको दृष्टिकोण र रवैयाका कारण मनोबल गिर्दै गइरहेको भन्दै महासंघका अध्यक्ष राणाले  राज्यको नजरमा सुधारको खाँचो रहेको बताइन् ।

राज्यले निजी क्षेत्रलाई प्रदान गर्ने सेवा सुविधा एकद्वार प्रणालीबाट वितरण नभएका कारण उद्योगी व्यपारीले अनेक झन्झट भोग्नु परेको महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालले बताए । ‘यदि एकद्वार प्रणालीबट राज्यले दिने सेवा सुविधा प्रदान गरियो भने त्यसले निजी क्षेत्रलाइ धेरै राहत हुन्छ’, उनले भने ।

महासंघका पूर्वअध्यक्ष किशोर कुमार प्रधानले तीन तहको सरकार बनेपछि एउटै मालवस्तुको तीन तीन पटक कर तिर्नु परिरहेकाले उद्योगी व्यपारी सबैभन्दा बढी मारमा परेको बताए ।

उनले सरकारले कृषि उत्पादनलाई व्यवसायीकरण गर्दै कृषि जन्य उद्योगहरुलाइ प्रोत्साहित गर्नसके अबको १० वर्ष भित्रमा नेपाल खाद्यान्नमा आत्मनिर्भर हुने दाबी गरे । मुलुकका रुग्ण उद्योगको पुनस्र्थापनका लागि सरकारले विशेष प्याकेजको व्यवस्था गर्नुपर्ने उनले बताए । यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *