सरकारले मिडियामाथि प्रतिबन्ध लगाउँदैन: सञ्चार राज्यमन्त्री

Sharing is caring!

वैशाख २२, २०७५ । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनताद्वारा अनुमोदित भएर बनेको लोकतान्त्रिक सरकारले मिडियामाथि प्रतिबन्ध लगाउँछ भनेर सोच्नु ठूलो भूल हुने बताउनुभएको छ ।

आज काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा नेपाल पत्रकार महासंघ काभ्रे जिल्ला शाखाको ‘वार्षिक साधारणसभा तथा प्रदेशसभा निर्वाचन’ कार्यक्रममा बोल्नुहँुदै उहाँले राणा, पञ्चायत र राजा तथा प्रतिगमन फालेर त्यसको नेतृत्व गरेर जनताद्वारा अनुमोदित भएर आएको सरकारले त्यसो गर्न नसक्ने बताउनुभयो ।

उहाँले पत्रकारलाई त्यसरी नसोच्न आग्रह गर्दै सरकारले गर्न लागेको राम्रो काममा सहयोग गर्न आग्रह गर्नुभयो ।
उहाँले सरकारले श्रमजीवि पत्रकारका बारेमा सोचेको र सोसल साइड र अनलाइन मिडियाको परिभाषा खोजेकोसमेत बताउनुभयो । उहाँले पत्रकारिताको नाममा केही मिडियाले मान्छेलाई आत्महत्या गर्न बाध्य बनाइने खालको कुरासमेत छाप्ने गरेको उल्लेख गर्नुहुँदै त्यस्तो मिडिया मिडिया हुन नसक्ने तर्क गर्नुभयो ।
उहाँले कानून जहाँ पनि हुने भएकाले कानून बन्न लाग्यो भन्दैमा मिडियालाई नियमन गर्नेगरी कानून नबन्ने उहाँको भनाइ छ ।

उहाँले पछिल्लो चरणमा कर्पोरेट कल्चर विकसित हुँदै गएको र स्वरोजगार कल्चर कमजोर हुँदै गएको बताउनुभयो ।
राज्यमन्त्री बाँस्कोटाले अब सरकारले महिना मरेपछि श्रमजीवि पत्रकारले बैंकिङ प्रणालीबाट खातामा पैसा पाउनुपर्छ भन्ने कुरालाई अगाडि सारिएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले प्रदेशको निर्वाचन पछि नेपाल पत्रकार महासंघ पूर्णरुपमा संघीय ढाँचामा जाने बताउनुभयो । अहिलेको सरकारबाट प्रेस स्वतन्त्रतामाथि आँच आउँदैन भन्ने कुरामा महासंघ ढुक्क रहेको विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा उहाँले केही सञ्चारमाध्यमले चरित्र हत्या गर्ने खालको कुरा लेख्यो भन्दैमा राम्रो काम गरिरहेका आम पत्रकारमाथि आक्षेप लगाउन नमिल्ने बताउनुभयो ।
पत्रकार महासंघको सदस्य हुनेले पत्रकार आचारसंहिताको पालना गर्नैपर्छ, त्यो महासंघको विधानभित्र राखेका छन्, त्यसलाई नमान्ने व्यक्ति पत्रकार हुन सक्दैन”, आचार्यले भन्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाले सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई सम्मान गरेको थियो ।

साथै उक्त अवसरमा टिपी शर्मा ‘सिर्जनशील पत्रकारिता पुरस्कार’ र ‘कोशीपारि पत्रकारिता पुरस्कार’ प्रदान गरिएको थियो । पुरस्कारबाट सम्मानित हुनेमा पत्रकार मोतिराम तिमल्सिना, रमा दाहाल र रक्तिम उजाडलाई नगदसहित सम्मानपत्रद्वारा सम्मान गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *